मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७९ श्रावण १९ बिहीबार
  • Friday, 14 August, 2026
गणेश लम्साल विराटनगर
२o७९ श्रावण १९ बिहीबार १२:१२:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

सप्तकोसी बाढीपीडितलाई प्रदेश १ सरकारले पठायो राहत

नौ हजार केजी चामल, १५ सय केजी दाल, ३ सय लिटर तेल र ६ सय केजी नुन नगरपालिकालाई हस्तान्तरण

Read Time : > 1 मिनेट
गणेश लम्साल, विराटनगर
नयाँ पत्रिका
२o७९ श्रावण १९ बिहीबार १२:१२:oo

सप्तकोसी नदीमा आएको बाढीले विस्थापितहरूका लागि प्रदेश १ सरकारले राहत सामग्री पठाएको छ। प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले विस्थापित करिब १५ सय परिवारका लागि पहिलो चरणमा नौ हजार केजी चामल, एक हजार पाँच सय केजी दाल, तीन सय लिटर खानेतेल र ६ सय केजी नुन राहतस्वरूप पठाएको हो।

बुधबार प्रदेश १ को उदयपुर जिल्लाको बेलका नगरपालिकामा सप्तकोसी नदीले धार परिवर्तन गरेर मानवबस्ती जलमग्न बनाएपछि त्यहाँ बसोवास गर्दै आएका करिब एक हजार पाँच सय परिवार विस्थापित भएका थिए। बुधबार नै बाढी प्रभावित स्थानको प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्की, सडक पूर्वाधार तथा सहरी विकासमन्त्री  हिमाल कार्कीलगायत प्रदेश विपत् व्यवस्थापन समितिका उच्च अधिकारीहरूले अवलोकन गरेका थिए।

अवलोकनपछि मन्त्रीको निर्देशनअनुसार बुधबार राति नै राहत सामग्री लगेर बेलका नगरपालिकालाई हस्तान्तरण गरेको मन्त्रालयको विपत् व्यवस्थापन शाखाका अधिकृत देवराज भट्टराईले बताए। उनका अनुसार उक्त राहत सामग्री नगरपालिकाले एकद्वार प्रणालीबाट पीडितहरूलाई  वितरण गर्नेछ।


सुरक्षित स्थानमा सर्न सबै स्थानीयलाई मुख्यमन्त्रीको आग्रह 
प्रदेशका मुख्यमन्त्री राजेन्द्रकुमार राईले जोखिम कायम रहेसम्म सुरक्षित स्थानमा बस्न पीडितहरूलाई आग्रह गरेका  छन्। उनले अटेर गरेर घर नछाड्दा झन् सुरक्षा जोखिम हुने भन्दै तोकेको सुरक्षित स्थानमा गएर बस्न स्थानीयसँग मुख्यमन्त्री राईको आग्रह छ। उनले विस्थापितहरूलाई सबैखाले सुरक्षा प्रदेश सरकारले प्रदान गर्ने आश्वासन दिएका छन्।

३४ वर्षपछि धार परिवर्तन गरेर सप्तकोसीको बाढी बस्तीमा पसेर घरबार डुबाउँदा पनि धेरै स्थानीयले घर छाडेर सुरक्षित स्थानमा जान अटेर गरेका थिए। हाल अस्थायी बाँध भत्काएर मानवबस्ती प्रवेश गरेको स्थानबाटै ०४५ सालअघि सप्तकोसी बग्ने गर्थ्याे । ०४५ सालको भूकम्पपछि कोसीले बिस्तारै धार परिवर्तन गरी पूर्वतर्फ बग्न थालेको हो। धार परिवर्तन गरेर कोसी पूर्वतर्फ बग्न थालेपछि पश्चिमतर्फका बासिन्दाले कोसी किनारमा ०५१ सालदेखि घर बनाएर बसोवास गर्न थालेका हुन्।