निर्वाचनमुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियापन्ध्रौं वार्षिकोत्सव विशेषांकखेलकुदविश्वकोरोना अपडेटप्रवासकर्नर किकसम्पादकीय१३औँ वार्षिकोत्सव विशेषांकसाहित्यस्वास्थ्य र जीवनशैलीफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंगटर्निङ प्वाइन्ट्स-२०२२१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०टर्निङ प्वाइन्ट्स-२०१९प्रदेशब्लगEnglish
  • वि.सं २०७९ असोज ९ आइतबार
  • Sunday, 25 September, 2022
थोमस एल.फ्राइडम्यान
२०७९ श्रावण १८ बुधबार ११:४२:००
Read Time : > 2 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

पेलोसीको ताइवान भ्रमणले अमेरिकी हितकाे पनि रक्षा गर्दैन

Read Time : > 2 मिनेट
थोमस एल.फ्राइडम्यान
२०७९ श्रावण १८ बुधबार ११:४२:००

अमेरिकी सभामुखको सम्भावित स्वेच्छाचारी र अर्थहीन ताइवान भ्रमणले अमेरिका र चीनलाई मुठभेडको स्थितिमा खडा गरिदिएको छ

अमेरिकी सभामुख न्यान्सी पेलोसीलाई म धेरै सम्मान गर्छु । तर, यदि उनले राष्ट्रपति बाइडेनको इच्छाविपरीत यसै साता ताइवानको भ्रमण गरिन् भने त्यो उनको पूर्णतया लापरबाह, खतरनाक र गैरजिम्मेवार कदम हुनेछ । पेलोसीको भ्रमणबाट केही उपलब्धि हासिल हुँदैन । यो विशुद्ध प्रतीकात्मक भ्रमणबाट ताइवान न सुरक्षित हुनेछ, न समृद्ध नै । बरु त्यहाँ धेरै खराब परिणाम निम्तिनेछन् ।

चीनले पेलोसीको भ्रमणविरुद्ध कठोर सैन्य कदम चाल्यो भने अमेरिका एकै समयमा परमाणु–शस्त्रधारी रुस र चीनसँग अप्रत्यक्ष द्वन्द्वमा तानिनेछ । यो अनावश्यक भ्रमणका कारण ताइवानलाई लिएर अमेरिका चीनसँग भिड्ने अवस्था आयो भने हाम्रा युरोपेली सहयोगीले हामीलाई सहयोग गर्नेछन् भन्ने सोच्नु गम्भीर भूल हुनेछ ।

रुससँगको अप्रत्यक्ष द्वन्द्व र पेलोसीको ताइवान भ्रमणले यो जोखिम कसरी बढाउनेछ भन्नेबाट सुरु गरौँ । अन्तर्राष्ट्रिय सम्बन्धमा निश्चित उपलब्धिमा स्पष्ट हुनुपर्ने हुन्छ । अहिलेका लागि अमेरिकाको विदेश नीतिको उपलब्धि युक्रेनलाई भ्लादिमिर पुटिनको अप्रत्याशित आक्रमणविरुद्ध प्रतिकार गर्न सक्षम बनाउने हो । किनकि, पुटिन सफल भए भने युरोपेली संघको स्थिरता जोखिममा पर्नेछ । 

युक्रेनलाई पुटिनविरुद्धको प्रत्याक्रमणमा सबल बनाउन बाइडेन र उनका राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानले चिनियाँ नेतृत्वसँग धेरै बैठक गरे । ती बैठकमा बेइजिङलाई रुसको पक्षमा कुनै पनि सैन्य सहायता नगर्न आग्रह गरिए । एक वरिष्ठ अमेरिकी अधिकारीका अनुसार बाइडेनले व्यक्तिगत रूपमा राष्ट्रपति सी जिनपिङसँगको कुराकानीमा चीनले रुसलाई सघाएमा बेइजिङले उसका सबैभन्दा ठूला दुई बजार– अमेरिका र युरोपेली संघमाथिको पहुँच गुमाउने चेतावनी दिएका थिए । 

सबै संकेतले चीनले पुटिनलाई सैन्य सहायता नदिएको देखाएको अमेरिकी अधिकारी बताउँछन् । जब कि यही समय अमेरिका र नेटोले युक्रेनलाई ठूलो परिमाणमा उन्नत हतियार दिइरहेका छन् । तिनको प्रयोग गरेर युक्रेनी सेनाले रुसी पक्षमा गम्भीर क्षति पुर्‍याउन सफल भएको छ । यस्तो समयमा अमेरिकी सभामुखले किन ताइवान भ्रमण गरेर जानाजानी चीनलाई बिच्क्याउने प्रयास गरिरहेकी छिन् भन्ने जान्न सकिएको छैन । 

अमेरिकी सभामुख पेलोसीको सम्भावित ताइवान भ्रमणको ‘टाइमिङ’ एकदम खराब छ । युक्रेन युद्ध समाप्त भएको छैन । र, निजी अन्तत्र्रिmयामा अमेरिकी अधिकारी युक्रेनको नेतृत्वप्रति विश्वस्त देखिँदैनन् । ह्वाइट हाउस र युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीबीच बाहिर आएभन्दा धेरै गहिरो अविश्वास छ । पुटिनले आफ्नो सेना पराजित हुने निश्चित भए युक्रेनविरुद्ध सानो स्तरको आणविक हतियार प्रयोग गर्न सक्ने वरिष्ठ अमेरिकी अधिकारीको चिन्ता छ । यस्तो स्थितिमा अमेरिकी सभामुखको सम्भावित स्वेच्छाचारी र अर्थहीन भ्रमणले अमेरिका र चीन ताइवानलाई लिएर मुठभेडको स्थितिमा पुगेका छन् । एकै समयमा दुई महाशक्तिसँग दुईवटा मोर्चामा युद्ध खोल्नु हुँदैन भन्ने सामान्य भूराजनीतिक ज्ञान हो । 

अब, चीनसँग अप्रत्यक्ष द्वन्द्वको सम्भावना, र पेलोसीको भ्रमणले यसलाई कसरी प्रेरित गर्न सक्छ भन्नेतर्फ फर्कौं । बाइडेनले चीनसँग नरम देखिएला भनेर सीधै पेलोसीलाई चीनको भ्रमण रद्द गर्न भनेनन् । बरु बाइडेनका राष्ट्रिय सुरक्षा समूहले पेलोसीले ताइवान जान नहुने कारण स्पष्ट पारेको थियो । तर, एक डेमोक्य्राटिक पार्टीका राष्ट्रपतिले डेमोक्रेटिक पार्टीकी सभामुखलाई गलत कूटनीतिक कदम चाल्नबाट रोक्न नसक्नु अमेरिकाको राजनीतिक प्रभावहीनता बढ्दै गएको संकेत हो । 

मेरो विचारमा ताइवानले पनि पेलोसीलाई अहिलेको समयमा भ्रमणमा नआउन भन्नुपर्थ्यो । दोस्रो विश्वयुद्धको अन्त्यदेखि ताइवानले उसको अर्थतन्त्र, लोकतन्त्रलगायत धेरै कुरामा परिवर्तन गरेको छ । तर, सबै कुरा परिवर्तन हुदाँ पनि ताइवानका लागि एक स्थिति परिवर्तन भएको छैन : उसको भूगोल ! आफ्नो भूगोल बिर्सिने देशहरू समस्यामा पर्छन् । माथिका तर्क हेरेर मलाई अहिंसावादी रूपमा हेर्ने गल्ती नगरियोस् । चीनले ताइवानमाथि आक्रमण गरे त्यहाँको लोकतन्त्र रक्षाका लागि अमेरिका अघि आउनु हाम्रो हितमा हुन्छ भन्ने मेरो विश्वास छ । तर, बेइजिङसँग द्वन्द्वमा जाँदै गर्दा कम्तीमा समय हाम्रो पक्षमा उपयुक्त होस् भन्ने ख्याल गर्नुपर्छ । चिनियाँ कम्युनिस्ट पार्टीले ताइवान र बाँकी चीनको पुनः एकीकरणलाई उसको ‘ऐतिहासिक कर्तव्य’ बताउँदै आएको छ । सन् २०१२ मा सत्तामा आएदेखि सीले ताइवान वरिपरि आक्रामकता प्रदर्शन गरेर ताइवानलाई यो कुरा अवगत गराइरहेका छन् । 

पेलोसीले ताइवान भ्रमणको तयारी गरेर खासमा चिनियाँहरूको नजर सीको कमजोरीबाट अन्यत्र हटाइदिएकी छिन् । चीनका प्रमुख सहरहरू लकडाउन गरेर कोभिड–१९ लाई पूर्णतः रोक्ने असफल प्रयास, बैंकिङ संकट निम्त्याउन सक्ने गरी बढ्दै गएको घरजग्गा संकट, सरकारी उद्योगप्रतिको सीको बलियो समर्थनका कारण बढेको विशाल सरकारी ऋणले चीनको अर्थतन्त्रमा निराशाका बादल छाउँदै थियो । मानिसहरू सीलाई प्रश्न गर्न लागेका थिए । तर, अब पेलोसीले सीलाई राहत दिँदै छिन् । 

ताइवानको वर्तमान नेतृत्व तिनको हृदयदेखि नै पेलोसीको भ्रमण चाहन्छन् भन्ने मलाई लाग्दैन । सीको चीनमा ताइवान मुद्दालाई सैन्य रूपमा मात्र समाधान गर्न सकिन्छ भन्ने विश्वास बढ्दै गएको र उनीहरू उपयुक्त समय पर्खिरहेको जस्तो देखिन्छ । यसमा अमेरिकाको रणनीति चीनको सैन्य उग्रतालाई निरुत्साहित गर्नु हुनेछ । 

त्यसका लागि सबैभन्दा उचित मार्ग सैन्य विश्लेषकले भनेजस्तै ताइवानमा ‘दुम्सी’ नीति लागू गर्नु हुनेछ । यस नीतिअन्तर्गत ताइवानमा यति धेरै क्षेप्यास्त्र भरिदिने कि चीन उसलाई छुन पनि डराओस् । यस रणनीतिबाहेक अरू विकल्प पछ्याउँदा भयानक परिणाम निम्तिन सक्छ । 

(विभिन्न पुस्तकका लेखक फ्राइडम्यान द न्युयोर्क टाइम्सका स्तम्भकार हुन्)
द न्युयोर्क टाइम्सबाट