Skip This
उदयपुरमा पर्ने तटीय क्षेत्रका मानवबस्तीमा सप्तकोसी पस्यो
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २६ बुधबार
  • Wednesday, 08 May, 2024
२o८१ बैशाख २६ बुधबार o७:३९:oo
Read Time : > 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

उदयपुरमा पर्ने तटीय क्षेत्रका मानवबस्तीमा सप्तकोसी पस्यो

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २६ बुधबार o७:३९:oo

ब्यारेजका सबै ढोका खोलिदिन मेयर कार्कीको आग्रह

गएरातिदेखि उदयपुरको बेलका नगरपालिकामा पर्ने तटीय क्षेत्रका मानवबस्तीमा सप्तकोसी नदी पसेको छ । लगातारको वर्षातसँगै सप्तकोसी नदीमा आएको बाढीले बेलका नगरपालिका– ८ डुम्रीबोटेमा पर्ने लाहुरखोँचमा कटान गर्दै नदी मानवबस्तीमा पसेको हो ।

बेलका नगरपालिका– ३ का वडाध्यक्ष टंकप्रसाद आचार्यले गएरातिबाट सप्तकोसी नदी मानवबस्तीमा प्रवेश गरेको बताए । उनले भने, ‘अहिले कोसीतटीय क्षेत्रका सर्वसाधारणलाई सुरक्षित स्थानमा सार्ने काम भइरहेको छ । हिजैदेखि सुरक्षित स्थानमा सर्न अनुरोध गर्दै आएका थियौँ ।’

गएको असार ५ गतेदेखि कोसीमा पानीको बहाव बढेसँगै कटान पनि बढ्दै गएको थियो । उनले भने, ‘जहाँबाट अहिले सप्तकोसी मानवबस्तीमा प्रवेश गरेको छ, त्यो स्थान भनेको ०४५ सालमा कोसी बगेको स्थान हो । अहिले त्यो स्थानमा मानवबस्ती रहेको छ । त्यही स्थानमा अहिले कोसी बग्न सुरु भएको छ ।’ झन्डै दुई सय घरभन्दा बढी विस्थापित भएका छन् । उनले भने, ‘हामी अहिले स्थानीयलाई सुरक्षित स्थानमा लैजान र खाने–बस्ने व्यवस्थाको तयारीमा जुटेका छौँ ।’

अहिले पूर्वतिर सुनसरीबाट बगेको सप्तकोसी पश्चिममा पर्ने उदयपुरतर्फ मोडिएको छ । उदयपुरतर्फ कोसीले धार परिवर्तन गर्दा बेलका नगरपालिका– ८ को सिसौली बस्ती, वडा नम्बर ९ को रंशशाला क्षेत्र, वडा नम्बर ३ को जगनाथ, जुलेसी, एबिसी, सिर्जना, एकता, दुर्गा मन्दिर, जाल्पादेवीलगायतका गाउँमा सप्तकोसी बगेको छ । उनले भने, ‘माथिल्लो भेगबाट तल्लो भेगमा पानी जाने क्रम जारी छ । तल्लो भेगका स्थानीयलाई हामी धमाधम अन्यत्र सारिरहेका छौँ ।’

कोसीले धार परिवर्तन गरेपछि उदयपुरको बेलका नगरपालिकाको १, २, ३, ८ र ९ वडाको धौरीटापु, श्रीलंका टापु, भागलपुर, करैया, तपेश्वरी, छिमेकी जिल्ला सप्तरीको सप्तकोसी र कन्चनरुरूप नगरपालिकासँगै सुनसरीको बराह क्षेत्र नगरपालिकाको वडा नम्बर ६ र ७ पनि प्रभावित हुने भएको  बेलका नगरपालिका नगर प्रमुख अशोक कार्कीले बताए ।

उनले भने, ‘निरन्तर बाँध बाँध्ने काम जारी राख्दाराख्दै कोसी मानवबस्तीमा पस्यो । झन्डै २५ हजार स्थानीयलाई विस्थापित बनाउने भयो । कोसी ब्यारेजको सबै ढोका खोलिदिन पाए क्षति कम हुने थियो ।’

उनले अहिलेसम्म कोसीमा पानीको बहाव बढ्दा सप्तकोसी ब्यारेजमा रहेका सबै ढोका नखोल्दा समस्या आएको बताए । उनले भने, ‘ब्यारेजले कोसीको पानी थुनेर राखेको छ । जसको कारण ओभरफ्लाे भएर कटान हुनुका साथै धार परिवर्तन गरेको हो । ब्यारेजका सबै ढोका खोल्न पाए क्षति कम हुने थियो ।’

कार्कीले सार्वजनिक भवन, विद्यालयलगायतमा विस्थापित स्थानीयलाई राख्ने तयारी भएको पनि बताए । सिँचाइ विभाग, राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, स्थानीय, नगरपालिका कटान रोक्ने प्रयास जारी राखे पनि असफल भएको छ । 

सप्तकोसी नदीको तटीय क्षेत्रमा कटान र डुबान हुनुमा सप्तकोसी ब्यारेज मुख्य कारण रहेको बताइएको छ । ब्यारेजबाट पानी बग्न नपाउँदा यसपटक पनि मानवबस्तीमा कोसी पसेको कार्कीले बताए । 

कोसी कटानबाट उदयपुर, सप्तरी र सुनसरीका सयौँ बस्ती प्रभावित छन् ।  नेपाल–भारतबीच सन् १९५४ मा बहुउद्देश्यीय कोसी सम्झौता भएको थियो  । कोसी सम्झौताअनुसार भारत सरकारले नदीका दुवैतर्फ तटबन्ध नबनाएका कारण पछिल्लो केही वर्षयता बाढी र डुबानको समस्या अझ बढेर गएको छ । 

उदयपुरका प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादवले सप्तकोसी नदीको बाँध फुटेर मानवबस्तीमा प्रवेश गरेको जानकारी आएसँगै आफूहरू पनि प्रभावित क्षेत्रमा हिँडेको बताए । उनले भने, ‘कोसी मानवबस्तीमा प्रवेश गरेको जानकारी आएको छ, हामी जाँदै छौँ ।’ 


 

ad
ad