१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७९ श्रावण १७ मंगलबार ०६:५९:००
Read Time : > 2 मिनेट
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

मानव शरीरलाई कति तातो वातावरण उपयुक्त ?

Read Time : > 2 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७९ श्रावण १७ मंगलबार ०६:५९:००

जलवायु परिवर्तनका कारण विश्वका धेरै स्थान हिट वेभ(तातो लहर)बाट जोखिमपूर्ण बनिरहेका छन् । पहिलेभन्दा हिट वेभ छिटो–छिटो आउन थालेको छ । आएपछि पनि लामो समयसम्म रहिरहँदा यसले पुर्‍याउने क्षति बढ्दो छ । हिट वेभका सन्दर्भमा धेरै मानिसको मनमा उठिरहने प्रश्न हो ‘यसको तापक्रम बढ्दै जाँदा कुन बिन्दुमा पुगेपछि स्वस्थ र वयस्कहरूका लागि समेत दैनिक गतिविधि गर्न कठिन बन्छ ?’ यसको जवाफ थर्मोमिटरमा देखिने अंकमा मात्र भेटिँदैन, यसमा आर्द्रता पनि समेट्नुपर्छ । 

वैज्ञानिक र अन्य पर्यवेक्षकले उच्च आर्द्रतासँगसँगै बढ्दो तापक्रमको संयोजनलाई जनाउन ‘भिजेको बल्ब तापमान’ पदावली प्रयोग गर्छन् । सन् २०२२ को मे र जुन महिनामा दक्षिण एसियाका विशेषतः भारत र पाकिस्तानलाई प्रभावित बनाएको हिट वेभले पाकिस्तानको ज्याकोबादको तापक्रम ३३.६ डिग्री सेल्सियस र भारतको दिल्लीमा त्योभन्दा बढी पुगेको थियो । यी तापक्रम सैद्धान्तिक रूपमा मानव शरीरले धान्न सक्ने आद्र्र तापमानको माथिल्लो सीमा नजिक हो । 

सन् २०१० मा प्रकाशित एक अध्ययन रिपोर्टमा ३५ डिग्री सेल्सियस ‘भिजेको बल्ब तापमान’लाई मानव शरीरले सहनसक्ने अधिकतम तापक्रम भनेको छ । धेरैले अहिले यही अध्ययनलाई विश्वास गर्छन् । योभन्दा माथिको तापक्रममा शरीरको भित्री तापक्रम नै बढ्न थाल्ने बताइन्छ । अर्थात् शरीरले पसिनालाई वाष्पीकरण गरेर भित्री शरीरको तापक्रम स्थिर राख्न सक्दैन । त्यसपछि विभिन्न समस्या देखा पर्न थाल्छ । 

यसबारे प्रयोगशालामा परीक्षण भने गरिएको थिएन । पेन्सिलभेनिया स्टेट युनिभर्सिटीका वैज्ञानिकले हालै यसलाई प्रयोगशालामा परीक्षण गर्दा चिन्ताजनक परिणाम देखायो । ‘मानव शरीरलाई कति तापक्रम बढी हो ?’ भन्ने प्रश्नको जवाफ दिन अध्येताले स्वस्थ युवायुवतीलाई पेन्सिलभेनिया स्टेट युनिभर्सिटीको नोल प्रयोगशालामा आमन्त्रित गरेका थिए । नियन्त्रित वातावरणमा उनीहरूलाई राखेर तापक्रम बढाउँदै शरीरमा देखिने असरबारे निरीक्षण गरिएको थियो । 

अनुसन्धानमा प्रत्येक सहभागीले एउटा सानो टेलिमेट्रीको चक्की निलेका थिए, जसले उनीहरूको शरीरको भित्री तापक्रम निगरानी गथ्र्याे । परीक्षणकालमा उनीहरूलाई वातावरणीय कक्षमा बस्ने व्यवस्था गरिएको थियो । त्यहाँ उनीहरूले खाना पकाउने र खानेजस्ता दैनिक जीवनका न्यूनतम गतिविधि गर्थे । यो क्रममा उनीहरू बसेको च्याम्बरको तापक्रम र आर्द्रता बढाइएको थियो । प्रत्येक वृद्धिले सहभागीमा पार्ने असर हेरिएको थियो । र, कुन तापक्रमपछि सहभागीको शरीरको भित्री तापक्रम बढ्न थाल्यो भनेर ध्यान दिइएको थियो । 

तापक्रम र आर्द्रताको जुन संयोजनपछि व्यक्तिको भित्री तापक्रम बढ्न थाल्छ, त्यसलाई ‘नाजुक वातावरणीय सीमा’ भनिन्छ । ती सीमाभन्दा तलको तापक्रममा शरीरले छालाको पसिनालाई वाष्पीकरण गर्दै लगेर अपेक्षाकृत रूपमा शरीरको भित्री(कोर) तापमानलाई कायम राखिरहेको हुन्छ । तर, ती सीमाहरूभन्दा माथिको तापक्रममा शरीरको कोरको तापक्रम निरन्तर बढ्छ र लामो समयसम्म त्यस्तो वातावरणमा रह्यो भने विभिन्न रोगको जोखिम बढ्छ । 

शरीरको सतह तातो भएपछि त्यसलाई कम गर्न मुटुले छालामा रगतको प्रवाह बढाउन अतिरिक्त परिश्रम गर्नुपर्छ । अर्कोतर्फ छालाबाट पसिना निकालेर चिसो राख्ने प्रक्रियामा पनि शरीरको तरल पदार्थ घटिरहेको हुन्छ । लामो समयसम्म जोखिमपूर्ण तापक्रममा बिताउँदा स्ट्रोक निम्तिन सक्छ, जसले मानिसको ज्यान नै जान सक्छ । यस अवस्थामा तुरुन्त व्यक्तिलाई चिसो गराएर चिकित्सा उपचार आवश्यक पर्छ । 

स्वस्थ युवायुवतीमा गरिएको अध्ययनले मानव शरीरले स्वस्थ स्तरमा सहनसक्ने वातावरणीय सीमा पहिले मानिँदै आएको ३५ डिग्री सेल्सियसभन्दा पनि कम देखायो । अर्थात् शतप्रतिशत आर्द्रतामा ३१ डिग्री सेल्सियस र त्योभन्दा माथिको तापक्रम मानव स्वास्थ्यका लागि घातक हुन्छ भने ६० प्रतिशत आद्र्रतामा ३८ डिग्री सेल्सियसले असर गर्न थाल्छ ।विश्वभर देखिने हिट वेभमाथि उल्लेखित सीमाहरू नजिक–नजिक देखिँदै छन् । तातो र सुक्खा वातावरणमा नाजुक वातावरणीय सीमाहरू ‘भिजेको बल्बको तापक्रम’ले परिभाषित गर्दैन । किनभिने त्यस्तो वातावरणमा शरीरलाई चिसो बनाउने लगभग सबै पसिना वाष्पीकरण भएर उड्छन् । फेरि मानिसको पसिना निकाल्ने क्षमता पनि सीमित छ । 

कसरी सुरक्षित रहने ?
धेरै गर्मी हुँदा समय–समयमा पानी खाइरहनुपर्छ । र, नियमित अन्तरालमा छोटो समयका लागि भए पनि चिसो हावा चल्ने वा ठन्डा ठाउँमा बस्नुपर्छ । आमनागरिकले केही समय भए पनि चिसोमा बस्न सकून् भनेर सम्पन्न मुलुकले कुलिङ सेन्टरहरू विस्तार गरिरहेका छन् । अफ्रिकामा भएको पछिल्लो एक अध्ययनले सो महादेशको उष्णकटिबन्धीय र तटीय भागहरूमा बढी आर्द्र हुने भएकाले एक निश्चित तापमानभन्दा माथि पंखा निस्प्रभावी हुने देखिएको छ । पंखाले २१ डिग्री सेल्सियसमाथिको ‘भिजेका बल्ब तापमान’मा काम नगर्ने पाइएको छ । जलवायु परिवर्तन निम्त्याउने जटिलताले भविष्यको चिन्ताभन्दा पनि वर्तमानमै संकट ल्याइरहेका छन् । 
– साइन्टिफिक–अमेरिकन