मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
दीपक अधिकारी काठमाडाैं
२०७९ श्रावण १६ सोमबार १०:०२:००
Read Time : > 1 मिनेट
ब्लग डिजिटल संस्करण

भारतसँग बिर्सनलायक भेट

भारतलाई रोक्दै फाइनल पुग्ने आशामा रहेका नेपाली दर्शकका लागि ८–० को हार बिर्सनलायक विपन बन्यो

Read Time : > 1 मिनेट
दीपक अधिकारी, काठमाडाैं
२०७९ श्रावण १६ सोमबार १०:०२:००

साफ यू–२० फुटबल च्याम्पियनसिपअन्तर्गत भारतसँगको आजको खेल निकै महत्वपूर्ण थियो । यसअर्थमा पनि कि, यो खेल जितेको अवस्थामा नेपालले प्रतियोगिताको फाइनल सुरक्षित गर्ने थियो । 
अघिल्ला दुई खेलमा सानदार जित हासिल गरेकाले नेपालको मनोबल उच्च थियो । बंगालदेशले आफ्ना तीनवटै खेल जितेर फाइनल सुरक्षित गरिसकेको अवस्थामा नेपालले पनि आइतबार भारतलाई हराएर बंगालदेशसँग फाइनल भेट पक्का गर्ने धेरैको अपेक्षा थियो । 
यो अपेक्षा किन पनि नाजायज थिएन भने, दुई खेल सकिँदा भारतले ३ अंक मात्र जोडेको थियो भने नेपालले ६ अंक हासिल गरिसकेको थियो । भारत आफ्नो पहिलो खेलमा बंगलादेशसँग पराजित भएको थियो । 
यता, नेपालले माल्दिभ्स र श्रीलंकालाई क्रमशः ४ र ३ गोल गरी आफूलाई बलियो टिम साबित गरिसकेको थियो । तर, ‘खेलमा अघिल्ला तथ्यांकको अर्थ हुन्न’ भन्ने भनाइ आइतबार पुनः साबित भयो । 
स्पष्ट जितको लक्ष्यसहित नेपाली प्रशिक्षक मेघराज केसीले भारतविरुद्ध उतारेको टिम नेपाल ज्यादै निरीह देखियो ।
पहिलो हाफमा गोलरक्षकको एउटा गम्भीर त्रुटिबाहेक मैदानमा नेपाल कमजोर थिएन । दुवै बराबरीको अवस्थामा देखिन्थे । नेपालले गोलका केही सुन्दर अवसर गुमाएकाले पहिलो ४५ मिनेट सकिँदा नेपाल १–० ले पछि पर्यो । 
जब दोस्रो हाफको ह्विसिल बज्यो, नेपाली खेलाडीलाई भारतीय खेलाडीले सहजै डोमिनेट गर्न थाले । मैदानका सबै भागमा भारतीय खेलाडी हावी देखिए । मैदानमा नेपाली खेलाडीको प्रदर्शन हेर्दा पहिलो हाफपछि ड्रेसिङ रूपमा दोस्रो हाफको ४५ मिनेट यसरी खेल्ने भन्ने रणनीति नै बनेन कि भन्ने अवस्था देखिन्थ्यो । अथवा, प्रशिक्षकले बनाएको रणनीति कुनै पनि खेलाडी बुझेनन् जस्तो देखिन्थ्यो । फलस्वरूप मैदान प्रवेश गरेको पाँच मिनेटभित्रै नेपालले गोल व्यहोर्यो । त्यसपछि कुनै पनि वेला सम्हालिन सकेन । 
साफ यू–२० च्याम्पियनसिपको सबैभन्दा सफल टिम नेपाल मैदानमा भारतसामू ज्यादै निरीह देखिन्थ्यो । प्रतिस्पर्धामा होइन, खेलाडीहरू खेल किने प्रतीक्षामा भएजस्तो लाग्यो । रेफ्रीले लामो ह्विसल बजाउँदा नेपालले ८–० गोल व्यहोरिसकेको थियो । भारतको भुवनेश्वरस्थित कालिंगा स्टेडियममा अन्तिम ह्विसल बज्दा नेपाली खेलाडी शिर निहुर्याएर मैदानमा झुकिरहेका थिए । यो एउटा बिर्सनालायक विपनाजस्तै थियो । ठीकविपरीत भारतीय क्याम्पमा खुसीको माहोल थियो । कमेन्टेटर भन्दै थिए, ‘यो नतिजा पक्का भोलिको अखबारको हेडलाइन बन्नेछ ।’
पछिल्लो ४५ मिनेट सम्हालिन नसक्दा नेपाल जारी प्रतियोगिताको सबैभन्दा खराब नतिजा आफ्नो नाममा लेखाउन सफल भयो । खेल तालिकामा दोस्रो स्थानबाट तेस्रोमा ओर्लिन पुग्यो भने । फाइनल यात्रा निकै कनिठ बन्न पुग्यो । 
अब चौथो खेलमा नेपालले बंगलादेशको सामना गर्नेछ । त्यो बंगलादेश, जो फाइनल पुगिसकेको छ । नेपाललाई ८–० ले हराएको भारतलाई पहिलो खेलमै हराइसकेको छ । त्यति उच्च फर्ममा रहेको बंगलादेशलाई हराए पनि नेपाललाई फाइनल पुग्न सहज छैन । 
नेपालले बंगलादेशलाई हराए नेपालको ९ अंक हुनेछ । भारतले अन्तिम खेल माल्दिभ्ससँग खेल्दै छ । त्यस खेलमा माल्दिभ्सले भारतलाई हराए वा बराबरीमा रोके मात्र नेपाल फाइनल पुग्नेछ । माथि उल्लेख गरेजस्तो, ‘खेलमा अघिल्ला तथ्यांकको अर्थ हुन्न’ भन्ने भनाइ यहाँ लागू हुने सम्भावना ज्यादै न्यून छ । किनभने, जारी प्रतियोगितामा माल्दिभ्सले अहिलेसम्म कुनै पनि खेल जितेको छैन । 
नेपालले बंगलादेशलाई हराए र भारतले माल्दिभ्सलाई हराएको अवस्थामा पनि भारत नै फाइनल पुग्नेछ । किनभने, आज भारतसँग व्यहोरेको ८–० गोलका कारण भारत गोलऔसतमा प्लस १० मा छ भने नेपाल माइनस १ मा छ । भारतलाई रोक्दै फाइनल पुग्ने आशामा रहेका नेपाली दर्शकका लागि ८–० को हार बिर्सनलायक विपन बन्यो ।