म्याग्दीको मंगला गाउँपालिकाले प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर हुन नदिएर फिर्ता पठाएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट सरुवा भएर गाउँपालिका पुगेका प्रमुख प्रशासकीय अधिकृत चूर्णबहादुर कार्की गाउँपालिकाले हाजिर हुन नदिएपछि फर्किएका हुन् ।
साउन ५ गतेको निर्णयानुसार मंगला गाउँपालिकामा सरुवा भएको रमनापत्र लिएर हाजिर हुन समयमै पुगे पनि गाउँपालिकाले आफूहरूसँग समन्वय नगरीकन मन्त्रालयले सरुवा गरेर पठाएको भन्दै आफूलाई हाजिर हुन नदिएको कार्कीले बताए । पालिकाले हाजिर नगराएपछि फर्किएका कार्कीले यस सन्दर्भमा आफूले मन्त्रालयमा जानकारी गराउने बताए ।
गाउँपालिकाका प्रशासकीय अधिकृत मनोहर ढुंगानाको अन्यत्र सरुवा भएपछि मन्त्रालयले बाग्लुङको काठेखोला गाउँपालिकामा कार्यरत प्रशासकीय अधिकृत कार्कीलाई मंगला गाउँपालिकामा सरुवा गरेको थियो ।
यता, गाउँपालिकाले भने मन्त्रालयले अर्कै व्यक्तिलाई पठाउने बताए पनि कार्कीलाई पठाएकाले फिर्ता गरिएको प्रतिक्रिया दिएको छ । गाउँपालिकाले सूचना अधिकारी राजेन्द्र आचार्यलाई निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिएको छ ।