१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ श्रावण १२ बिहीबार २१:२५:००
Read Time : > 2 मिनेट
समाचार डिजिटल संस्करण

सात करोडको जग्गा ठगी प्रकरण : खरिद गर्ने महिला पनि पक्राउ 

Read Time : > 2 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ श्रावण १२ बिहीबार २१:२५:००

जग्गाधनीलाई थाहा नै नदिई काठमाडौं कलंकीको ११ आना जग्गा बिक्री गरिएको घटनामा थप एकजनालाई प्रहरीले पक्राउ गरेको छ । सो जग्गा खरिद गर्ने भक्तपुरकी सुनिता कर्माचार्यलाई केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले पक्राउ गरेको हो । 
भूमाफिया गिरोहले जापानमा बस्दै आएकी शान्तादेवी लोहनीको मृत्युदर्तासहितका सबै कागजपत्र नक्कली बनाएर उनको ११ आना जग्गा बिक्री गरेको थियो । सो जग्गा कर्माचार्यले खरिद गरेकी थिइन् ।  
संगठित अपराध तथा लिखतसम्बन्धी कसुरमा सिआइबीले उनलाई पनि पक्राउ गरेको हो । यसअघि सो घटनामा संलग्न पाँचजना पक्राउ परिसकेका छन् । गिरोहका मुख्य योजनाकार सिन्धुपाल्चोकको मेलम्ची– ४ घर भई ललितपुर बस्ने गणेशबहादुर खनाल र सोलुखुम्बुको थुलुङ दूधकोसी– १ घर भई काठमाडौं बुढानीलकण्ठ बस्ने बाबुराम कार्की तथा उनीहरूका सहयोगी दार्चुला घर भई काठमाडौं टोखा बस्ने महावीर चन्द, नुवाकोट घर भई काठमाडौं वनस्थली बस्ने प्रेमप्रसाद खनाल र वनस्थलीकी ममता भन्ने डासीमाया श्रेष्ठलाई सिआइबीले असारको पहिलो साता पक्राउ गरेको थियो । 
नक्कली कागजपत्र बनाई जग्गा खरिद गरेको आधारमा उनी पनि मुद्दामा तानिएकी हुन् । यद्यपी उनी आफैं पनि सो घटनाकी पीडित हुन । आफूमाथि ठगी भएको भन्दै उनले पनि पक्राउ परेका गिरोहउपर कारबाहीको जाहेरी दिएकी छिन् । 
सो गिरोहले मालपोत कार्यालयमा नक्कली कागजपत्र पेस गरी नक्कली नै जग्गाधनी उपस्थित गराई सो जग्गा कर्माचार्यलाई बिक्री गरेका थिए ।

१५ पुस ०७७ मा जग्गा शान्तादेवीको नामबाट उनका श्रीमान् (नक्कली) तारानिधि लोहनीको नाममा लगिएको थियो । श्रीमतीको मृत्युपछि प्रमुख हकदार श्रीमान् हुने भएकाले उनीहरूले यस्तो योजना बनाएका थिए । तारानिधि पनि पत्नीसँगै जापानमा बस्दै आएका छन् । 
तारानिधिको नाममा नामसारी गरेको दुई महिनापछि कर्माचार्यलाई ११ आना जग्गा तीन करोड ७० लाख रुपैयाँमा बिक्री गरिएको थियो । जब कि यो जग्गाको बजार मूल्य करिब सात करोड पर्छ । सुनीताले जग्गा एनसिसी बैंकमा राखेर कर्जा निकालेकी थिइन् । जसकारण यो प्रकरणले बैैंकको धितोसमेत जोखिममा परेको छ ।   
लमजुङ स्थायी घर भएकी शान्तादेवी श्रीमानसहित विगत २४ वर्षदेखि जापान बस्दै आएकी छिन् । त्यहीँ गरेको कमाइले उनले ०६१ मा कलंकीमा ११ आना जग्गा खरिद गरेकी थिइन् । गत महिना उनी श्रीमानसहित नेपाल  आएको वेला मालपोतमा आफ्नो बायोमेट्रिकसहितको विवरण अपडेट गर्न गइन् । त्यसो गर्दा जग्गा किर्तेबाट जोगिने उनको विश्वास थियो । तर, त्यसअघि नै उनको जग्गा सुनीता कर्माचार्यको नाममा पुगिसकेको थियो र उनको मृत्यु भइसकेको भनेर मृत्युदर्ताको प्रमाणपत्रसमेत मिसिलमा पेस गरेर जग्गा नामसारी भएको थियो । 
मालपोतमा फाइल हेरेपछि विक्षिप्त भएकी शान्तादेवीले प्रहरीमा उजुरी दिइन् । दुई साता लामो अनुसन्धानपछि प्रहरीले गिरोहका नाइकेसहितलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको हो । 

मालपोत कार्यालयका कर्मचारीलाई अझै उन्मुक्ति
प्रारम्भिक अनुसन्धानमा घटनामा मालपोत कार्यालयको शंकास्पद भूमिका देखिए पनि कोही पक्राउ परेका छैनन् । नक्कली लालपुर्जा पेस गर्दा पनि उनीहरूले चिन्न सकेका थिएनन् । जब कि, लालपुर्जा बनाउने निकाय मालपोत नै हो । साथै, नागरिकतालगायत अन्य सरकारी कागजपत्र प्रमाणितसमेत गरिएको थिएन ।  
अनुसन्धानको क्रममा सो गिरोहले अन्य जग्गाको पनि त्यसैगरी नक्कली कागजपत्र तयार गरेर बिक्रीको तयारी गरिरहेको खुलेको छ । चितवन, हेटौँडाको जग्गाको नक्कली लालपुर्जा बनाइसकेका थिए । त्यसविषयमा पनि छुट्टै अनुसन्धान चलिरेहको सिआइबीले जनाएको छ । 
प्रहरीले समयमै गिरोहलाई पक्राउ गर्दा ती जग्गा बिक्रीबाट जोगिएका थिए । अर्काे जग्गा भने आफ्नो कम्पनीको नाममा ल्याउनलाई सबै कागजपत्र बनाइसकेका थिए । मुख्य योजनाकार खनाल र कार्कीलाई सोही काममा सक्रिय भएको वेला प्रहरीले चितवनबाटै पक्राउ गरेको हो । 
यो गिरोह कतिसम्म चलाख थियो भने कलंकीको जग्गा कारोबारका लागि तारानिधि लोहनीकै नाममा सिमकार्डसमेत निकालेका थिए । उनको पुरानो नम्बर पत्ता लगाई विदेश गएपछि प्रयोग गर्न छाडेकाले सोही नम्बर नक्कली नागरिकताका आधारमा टेलिकमबाट लिएका थिए । जग्गा बिक्री भएपछि नम्बर प्रयोग गर्न छाडेका थिए । पछि अनुसन्धान भए पनि जोगिनका लागि उनीहरूले फरक–फरक नम्बर र मोबाइल प्रयोग गर्दै आएको सिआइबीले जनाएको छ । आफ्नो वास्तविक नामसमेत उनीहरूले लुकाउँदै आएका थिए । 
तारानिधि लोहनी बनेर मालपोतमा उपस्थित हुने दार्चुलाका महावीर चन्द जग्गाकै कारोबारी हुन् । उनलाई सो गिरोहले करिब २५ लाख रुपैयाँ उपलब्ध गराएको अनुसन्धानमा खुलेको छ । पैसाको कारोबारका लागि नक्कली नागरिकताबाटै बैंकमा खाता खोल्ने र कारोबार सकिएपछि उनीहरूले बैंक खातासमेत बन्द गरेको अनुसन्धानमा खुलेको छ ।