मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
मिलन पाण्डे काठमाडाैं
२०७९ श्रावण ११ बुधबार ०८:५१:००
Read Time : > 7 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

विवेकशील साझाको पाँच वर्ष

समय–सापेक्ष

Read Time : > 7 मिनेट
मिलन पाण्डे, काठमाडाैं
२०७९ श्रावण ११ बुधबार ०८:५१:००

विवेकशील अभियानले राजनीतिलाई केही व्यक्तिको चंगुलबाट निकालेर आमनागरिकमाझ पुर्‍याउन महत्वपूर्ण भूमिका खेलिरहेको छ

नेपाल बन्दको दिन हामीमा गाडी जलाइदिने पो हुन् कि, पसल तोडफोड गरिदिने पो हुन् कि, अफिस जाँदा बाटामै रोकिनुपर्ने पो हो कि भनेर एउटा डरको माहोल हुन्थ्यो । बन्दकर्तालाई पनि बिहानै एउटा गाडी जलायो, केही चोकमा पाँच–सातजना लट्ठी लिएर उभियो अनि पूरै नेपाल बन्द गर्‍यो, राजनीति सजिलै चलेकै थियो । विवेकशीलले त्यो डरलाई तोडेर राजनीति सुरु गरेको थियो ।

त्यतिवेला जुन दिन नेपाल बन्द हुन्थ्यो, त्यो दिन बिहान १० बजे ‘नेपाल खुला छ’ अभियानका निम्ति माइतीघरमा भेला हुने घोषित कार्यक्रम नै हुन्थ्यो । त्यस दिन (०७१ पुस) पनि नेपाल बन्द थियो । हामीले हाम्रो देशको विविधता झल्काउन सम्पूर्ण समुदायको प्रतिनिधित्व हुने गरी वेशभूषा लगाएर नेपाल बन्दको विरोध गर्ने र नगर परिक्रमा गर्ने तयारी गरेका थियौँ । हामी माइतीघरबाट भद्रकालीको बाटो हुँदै र्‍याली निकाल्ने तयारी गर्दै गर्दा केही बन्दकर्ताले पछाडिबाट ढुंगा हाने । हामी भाग्यौँ । केही ढुंगा हाम्रो ढाडमा लाग्यो । मलाई पनि खुट्टामा ढुंगा लाग्यो । प्रहरीको सुरक्षाले हामीलाई धेरै चोट लागेन । 

हामी नगर परिक्रमाका निम्ति अघि बढ्यौँ । हातमा नेपालको झन्डा थियो । केही बाइक र केही गाडीसहित हामी र्‍याली गर्दै थियौँ । जब हामी ‘नेपाल खुला छ’ भन्ने नारा लगाउँदै सोह्रखुट्टेको ओरालोमा पुग्यौँ, तब देब्रेपट्टिको पसलकी दिदीले हामीलाई बन्दकर्ता ठानेर हत्तपत्त आधा खोलिएको सटर बन्द गर्नुभयो । हामीले हातमा नेपालको झन्डा बोकेर उहाँको नजिक जाँदै गर्दा, ‘नेपाल खुला छ’ को नारा लगाउँदै गर्दा, उहाँले हामीलाई चिन्नुभयो र सटर पूरै खोलेर मुस्कानसहित अभिवादन गर्नुभयो । त्यो मुस्कानमा ‘डरको राजनीति’को अन्त्य र ‘आशाको राजनीति’को प्रकाश थियो । विवेकशील अभियानको विगत १० वर्षका सम्झनामध्ये मलाई ऊर्जा दिने एउटा महत्वपूर्ण सम्झना यो पनि हो ।

विवेकशील : यो दशकको आशा 
 १५ जेठ, ०६९ राति पहिलो संविधानसभा भंग हुँदै गर्दा धेरै नेपालीका आँखा निराशाको आँसुले भरिएका थिए । त्यो दिन दिउँसो संविधान समयमै आओस् भनेर केही युवाले ‘नयाँ संविधानलाई स्वागत छ’ भनेर संविधानसभाअगाडि अभियान गर्दै थिए । राति जब संविधानसभा भंग भयो, त्यसपछि जन्मिएको थियो वैकल्पिक राजनीति । ती युवाको आँसुबाट जन्मिएको थियो विवेकशील अभियान । संविधानसभा भंगपछि तिनै युवा अब कसरी अगाडि बढ्ने भन्ने छलफलमा जुटे । उज्ज्वल थापा, गोविन्द नारायण, पुकार बमहरूले अब नयाँ संस्कार र डेलिभरीसहितको राजनीति चाहिन्छ भनेर छलफल अगाडि बढाए । केही साथी राजनीतिभन्दा अभियानमार्फत नै अघि बढ्ने धारणा राख्दै दलमा प्रत्यक्ष आबद्ध हुनुभएन । हप्तौँको छलफलपछि ०६९ भदौमा ‘विवेकशील नेपाली मञ्च’ गठन भयो र मञ्चले ‘हामीले नगरे कसले गर्ने, अहिले नगरे कहिले गर्ने ?’ ‘युवा अघि सर्छ, देश अघि बढ्छ’, ‘यो वाद, त्यो वाद, देश भयो बर्बाद’, ‘विकल्प कुर्दै बस्ने कि आफैँ बन्ने ?’ जस्ता नारासहित अब शिक्षा, स्वास्थ्य, बिजुली, पानीलगायत डेलिभरीको राजनीति गर्नुपर्छ भनेर अभियान छेड्न थाल्यो ।

०६९ मंसिरमा विवेकशील नेपालीले चप्पल कारखाना, चक्रपथमा आफ्नो कार्यालय स्थापना गर्‍यो । त्यसको केही दिनपछि, भारतमा केजरिवालले आम आदमी पार्टी (आप) स्थापन गरे । नेपालमा विवेकशील नेपाली र भारतमा आप संयोगले उस्तै समयमा उदाएका थिए । समय हेर्ने हो भने विवेकशील नेपाली अझ केही महिना जेठो हो । विवेकशील नेपाली दल साइकल यात्रा गर्दै, सडक अभियान गर्दै, रचनात्मक कार्यक्रम गर्दै टिम बनाउँदै थियो । ०७० को सुरुवातमा विवेकशीलले १४ वटै अञ्चलबाट देश बुझ्न पदयात्रा गर्‍यो र नेपालीको सपना संकलन गर्‍यो । नागरिकले ‘विदेश गएका श्रीमान् फर्कियून् र सँगै बस्न पाइयोस्’, ‘पानी लिन दुई घन्टा हिँड्न नपरोस्’, ‘राम्रो शिक्षा पाइयोस्’ जस्ता आफ्ना सपना सुनाएका थिए । ०७० को बुद्धजयन्तीमा लुम्बिनीमा भेला भएर ती सपनालाई साक्षी राख्दै वृक्षरोपण गर्दै ती सपना साकार बनाउने कसम खाएर विवेकशील अघि बढेको थियो । लुम्बिनीबाटै विवेकशीलको राजनीतिक एजेन्डा ‘डेलिभरी’ हुने तय भएको थियो । हामी नेपाली राजनीतिमा डेलिभरीको नयाँ धार स्थापित गर्न चाहन्थ्यौँ ।

‘व्यवस्था होइन, अवस्था परिवर्तन’को राजनीति गर्ने भनेर सुरु भएको विवेकशील अभियानका कारण राजनीति सकारात्मक अनि रचनात्मक बन्दै गइरहेको छ । प्रत्येक पार्टीमा पुस्ता हस्तान्तरण अनि युवा नेतृत्वबारे बहस सुरु भएको छ ।

विवेकशीलले ०७० मंसिर ४ गते संविधानसभा निर्वाचनका निम्ति ०७० असोजमा उम्मेदवारी दिने तय गर्‍यो र काठमाडौं १, ४, ५ र ८ बाट चारजना युवालाई मैदानमा उठाएर राजनीतिक मैदानमा प्रवेश गर्‍यो । उनीहरूको मूल एजेन्डा थिए– शिक्षा, स्वास्थ्य, बिजुली, पानी, रोजगारी, सुशासन । साथै, आफूहरूले जिते संविधानसभाबाट १ वर्षमै संविधान बनाउन भूमिका खेल्ने घोषणा । हामी चुनावी अभियानमै धारा बिजुली, पुस्तक झुन्ड्याएर आफ्ना एजेन्डा बताउने गथ्र्यौं, निर्वाचनमा पाएको तीन हजारभन्दा बढी मतले हामीलाई उत्साही बनायो ।

साधारण अधिवेशन गरेर २९ जेठ ०७१ मा विधिवत् रूपमा निर्वाचन आयोगमा विवेकशील नेपाली दल दर्ता भयो । आमतहमा नचिनिएका युवाले सामाजिक, राजनीतिक र आर्थिक अभियानसहित विवेकशील नेपालीलाई अघि बढाए । विवेकशील नेपालीले डाक्टर गोविन्द केसीको अनशनलाई समर्थन गर्दै शिक्षा र स्वास्थ्य राज्यको दायित्व हुनुपर्छ भनेर अभियान सञ्चालन गर्‍यो । भूकम्प जाँदा राहत र उद्धारमा गरेको कामले विवेकशील नेपालीलाई आममानिसबीच फरक पार्टीका रूपमा चित्रण गर्‍योे । सरसफाइ अभियान, सडक सन्देश, विपत् व्यवस्थापन, स्वास्थ्य शिविर, महिला हिंसाविरुद्ध जनचेतनामूलक अभियानजस्ता सामाजिक काम विवेकशीलको परिचय बन्दै गयो । 

व्यवस्थापिका, न्यायपालिका र कार्यपालिकाको सांगठनिक अभ्यास, पृथक् विधान, सिइओसहितको पार्टी व्यवस्थापन, आर्थिक र निर्णयमा पूरा पारदर्शितासहित विवेकशील नेपाली दल धेरैका निम्ति पृथक् उदाहरणीय पार्टीका रूपमा स्थापित हुँदै थियो । यसैबीच नेता डा. बाबुराम भट्टराईले माओवादी त्यागेर ३० जेठ ०७३ मा नयाँ शक्ति पार्टीमार्फत वैकल्पिक राजनीतिको सुरुवात गर्नुभयो । पूर्वप्रधानमन्त्रीको यो अभ्यासले वैकल्पिक राजनीतिमा नयाँ आशा जगायो । यसले विवेकशीलको पनि चर्चा बढायो । नयाँ शक्तिमा भने बिस्तारै नयाँ अनुहार हराउँदै माओवादीकै नेताहरूको अनुहार अगाडि आउँदै गर्दा नयाँ शक्ति ‘नयाँ’ रहन सकेन । नेकपा घोषणासभामा केपी ओली र प्रचण्डसँग एउटै मञ्चमा जब डा. भट्टराई देखिए, तब नयाँ शक्तिले आफ्नो वैकल्पिक राजनीतिको दाबी आफैँ त्याग्यो ।

१७ फागुन ०७३ मा बिबिसीबाट राजीनामा दिएर पत्रकार रवीन्द्र मिश्रले साझा पार्टी घोषणा गरे । मिश्र र डा. भट्टराईको आगमनले वैकल्पिक राजनीतिले थप चर्चा पायो । ०७४ को स्थानीय निर्वाचनमा काठमाडौंबाट रन्जु दर्शना र किशोर थापाको उम्मेदवारीले वैकल्पिक राजनीतिलाई थप स्थापित गर्‍यो । दर्शनाले २३ हजार ७३९ मत ल्याइन् भने थापाले १८ हजार ४६९ मत ल्याए । लगभग उस्तै दल मिलेर लडेको भए राम्रो हुने भन्ने सबैको आग्रह, दुई पार्टीको विचार र मूल्य–मान्यतामा समानता रहेकाले ११ साउन ०७४ मा विवेकशील नेपाली दल र साझा पार्टी मिलेर विवेकशील साझा पार्टी बन्यो । विवेकशील साझा जन्मिँदै गर्दा विवेकशीलले गरेका कामले पार्टीको धरातल मजबुत बनाएको थियो । 

विवेकशील साझाले ०७४ कै प्रदेश सभा र प्रतिनिधिसभा निर्वाचनमा समेत भाग लिएर दुई लाख १२ हजार ३६४ प्राप्त गर्‍यो । अहिले संसद्मा रहेका दलबाहेक सबैभन्दा ठूलो दल बनेर विवेकशील उदायो । तर, जुटेका दुई दलका नेताबीचको कार्यशैली तालमेल नमिलेपछि २७ पुस ०७५ मा विवेकशील साझा पार्टी फेरि विवेकशील नेपाली दल र साझा पार्टीमा विभाजित भयो । करिब २३ महिनाको अभ्यासपछि फेरि यी दुई दल एक भए । दुर्भाग्य, दोस्रो एकीकरणको आठ महिनापछि अध्यक्ष मिश्रले राजावादी धार लिएपछि पार्टी वैचारिक रूपमा विभाजित हुन पुग्यो । त्यो अवस्था अहिलेसम्म पनि कायमै छ ।

पार्टीका उपलब्धि 
विवेकशील साझाले विगत १० वर्षमा धेरै काम गर्‍यो । नेपालमा वैकल्पिक राजनीतिको बहस छेड्यो । स्वतन्त्र उम्मेदवारका रूपमा ०७० मा काठमाडौंबाट चुनाव लड्यो । ०७२ मा भूकम्पमा काम गर्ने अब्बल संस्थामध्ये पार्टी नै अगाडि थियो । नेपाल खुला छ, संविधान बनाउन दिएको दबाब, सरसफाइ अभियान, दर्शना र थापालाई उम्मेदवार बनाएर स्वतन्त्र उम्मेदवारलाई बल पुर्‍याउने कार्य, डा. गोविन्द केसीको अभियानमार्फत स्वास्थ्य सुधारको नेतृत्व, पारदर्शिता र जवाफदेहिताका निम्ति सूचनाको हकको कार्यक्रमलगायत काम, इनफ इज इनफमा महत्वपूर्ण भूमिका, स्वास्थ्य सामग्रीमा भएको भ्रष्टाचार अर्थात् ओम्नी काण्डमा सशक्त विरोध । विगत १० वर्षमा विवेकशील साझाले धेरै राम्रा काम गरेको छ । 

अपेक्षाअनुरूप संगठन निर्माण हुन नसक्नु, विगत एक वर्ष पार्टी वैचारिक मतभेदमा फस्नु, पार्टी फुट्नु, आफैँले जगाएको आशामा टिक्न नसक्नु पार्टीको कमजोरी या असफलता रह्यो । यो घामछायासहितको यात्राले विवेकशील अभियानलाई थप सशक्त बनाएको छ । मोटो रूपमा विवेकशील साझाको यात्राका उपलब्धिलाई निम्न बुँदामा छलफल गर्न सकिन्छ :

१. राजनीतिमा नयाँ अनुहार 
कुनै वेला दल भनेकै कांग्रेस, एमाले, माओवादी या राप्रपा भन्ने थियो । नेता पनि तिनै अनुहार थिए । विगत केही वर्षमा त्यो भाष्य बदलिएको छ । अब नागरिकले नयाँ पार्टी अनि नयाँ अनुहार खोज्न थालेका छन् । राजनीतिलाई केही व्यक्तिको चंगुलबाट निकालेर आमनागरिकमाझ पुर्‍याउन विवेकशील अभियानले महत्वपूर्ण भूमिका खेलिरहेको छ । आमनागरिकलाई व्यक्तिगत अनि पार्टीगत स्वार्थभन्दा माथि उठ्न प्रेरित गर्दै छ । त्यसको छनक यसपालिको निर्वाचनमा स्वतन्त्र उम्मेदवारमार्फतसमेत देखिएको छ । बालेन, गोपी हमाल, हर्क साम्पाङहरूको जितले राजनीतिमा नयाँ अनुहार स्थापित हुँदै छन् भन्ने यथार्थको प्रतिनिधित्व गर्दै छ । नयाँ पार्टी खुल्दै छन् । यी सब प्रक्रियाले राजनीतिमा कांग्रेस, एमाले, माओवादीको विकल्प खोज्ने र नयाँ राजनीतिको अभ्यास गर्ने दिशा तय हुँदै छ ।

२. मुद्दाकेन्द्रित राजनीति 
 विवेकशील नेपाली दल ०६९ मा बाटामा धारा, बल्ब, किताब झुन्ड्याएर अभियान गर्दै स्थापना भएको हो । विवेकशील ‘व्यवस्था होइन, अवस्था परिवर्तन’को राजनीति गर्ने भनेर सुरु भएको थियो । उज्ज्वल दाइको नेतृत्वमा वैकल्पिक राजनीतिले सामाजिक मुद्दालाई मूल धारको राजनीतिसँग जोड्न सफल भएको थियो । स्वास्थ्य, शिक्षा, सुशासनजस्ता सामाजिक मुद्दा मूल धारको राजनीतिको मुद्दा बन्नु अनि बहस चलाउन सक्नु सानो राजनीतिक उपलब्धि होइन । 

३. शान्तिपूर्ण पृथक् शैली 
 पेट्रोलको भाउ बढ्दा होस् वा सरकारको विरोध गर्नुपर्दा होस्, हाम्रो राजनीतिमा चक्काजाम गर्ने, बन्द गर्ने, हडताल गर्ने राजनीतिक परम्परा थियो । विवेकशीलले शान्तिपूर्ण दबाबको नयाँ शैली ल्यायो, जसले आन्दोलनको नयाँ रूपमा माइतीघरलाई अगाडि सार्‍यो । केही पुराना दलले पनि कुचो समात्नेदेखि ‘प्ले कार्ड’ बोकेर शान्तिपूर्ण राजनीति सुरु गरे । केही वर्षयता काठमाडौंलगायत देशभरका रेलिङ भाँचिएका छैनन् । पार्टी अनि चुनावी अभियानको आयव्ययमाथि छलफल हुन थालेको छ । राजनीति सकारात्मक अनि रचनात्मक बन्दै गइरहेको छ । आज प्रत्येक पार्टीमा पुस्ता हस्तान्तरण अनि युवा नेतृत्वबारे देशव्यापी बहस हुँदै छ ।

४. ध्रुवीकृत राजनीतिमा मध्यमार्ग 
यो वैचारिक पाटोबारे चर्चा गर्नुअघि मिश्रले गत वर्ष अघि सारेको पश्चगामी विचारभन्दा माथि देशलाई अलग राख्न जरुरी छ । उनले पार्टीमा त्यो विचार ल्याउनेबित्तिकै पंक्तिकारसहित केशव दाहाल, पुकार बम, रमेश पौड्याल, रन्जु दर्शनाहरूले पार्टीमा विरोध गरेर आफ्नो धार स्पष्ट गरे । उनीहरू मिश्रलाई छोडेर फरक तरिकाबाट अघि बढे । त्यसैले, यो बुँदाबारे छलफल गर्दा पाठकलाई हामीले नेतृत्व गर्न खोजेको धारबारे स्पष्ट बनाउन चाहन्छु ।

विवेकशील आन्दोलन सुरु हुँदै गर्दा हामीले एउटा नारा खुब घन्क्यायौँ– ‘यो वाद, त्यो वाद, देश भयो बर्बाद’ हामीले दलको वाद सिद्धान्त हुनु हुँदैन भनेका थिएनौँ, हाम्रो बुझाइ थियो अबको संसारमा कुनै पनि दल वादको सीमित घेरामा अल्झिनु हुँदैन । हामी नेपाली राजनीतिमा नयाँ धार स्थापना गर्न चाहन्थ्यौँ– डेलिभरीको राजनीति अर्थात् परिणाम दिने राजनीति । नागरिकको आवश्यकतालाई केन्द्रमा राख्ने राजनीति । जसलाई सुरुवाती दिनमा तत्कालीन विवेकशीलका नेता गोविन्द नारायण र उज्ज्वल थापाले ‘समयसापेक्ष सुधारमार्ग’ को नाम दिनुभयो । पछिल्ला केही वर्ष हामीले अतिवादको आसक्तिमा डुबेको समाजका निम्ति ‘गतिशील मध्यमार्गी’ राजनीतिक प्रस्ताव ल्याएका थियौँ । नेपाली समाज उग्र वामपन्थी र दक्षिणपन्थीमा विभाजित छ । हामी त्यसलाई चिर्न एउटा युवा पुस्ताको नेतृत्वमा मध्यमार्गी पार्टी बनाउन चाहन्थ्यौँ । त्यस्तो पार्टी, जो भविष्यमुखी होस्, समाधान दिन सक्ने होस् र सबैलाई जोड्न सक्ने होस् । हामीले गत एक वर्ष छोडेर हेर्ने वा मिश्रलाई अलग गरेर हेर्ने हो भने हामी नेपाली राजनीतिमा मध्यमार्गको बहस छेड्न सफल भएका थियौँ ।

अबको बाटो 
संसद्मा कसैले अमर्यादित बोल्यो वा काम गर्‍यो भने त्यसलाई ‘संसद्को रेकर्ड’बाट हटाइन्छ । विवेकशील साझाले पनि विगत एक वर्षमा जस्तो छाप छोड्यो, त्यो वैकल्पिक राजनीतिको रेकर्डबाट हटाउन जरुरी छ । नयाँ पुस्ताको राजनीति गर्ने, भविष्यमुखी राजनीति गर्ने, सामाजिक न्यायलाई स्थापित गर्ने राजनीति गर्ने भनेर सुरु भएको पार्टीलाई एउटा पक्षले जसरी जबर्जस्ती पश्चगामी पार्टी, धर्मका नाममा नागरिकलाई विभाजित गर्ने पार्टी, राजावादी पार्टी बनाउन प्रयास गर्‍यो, त्यो निन्दनीय छ ।

विवेकशील सुरु हुँदै गर्दा हामीले हाम्रो अभियानलाई ‘बटरफ्लाई इफेक्ट’ भन्ने गथ्र्यौं । अर्थात् राम्रो काम बिस्तारै फैलिन्छ र सबैतिर पुग्छ भन्ने हाम्रो बुझाइ थियो । आज वैकल्पिक राजनीति ‘बटरफ्लाई इफेक्ट’झैँ फैलिरहेको छ । नागरिकले नयाँ नेता, नयाँ पार्टी अनि सुसंस्कृत राजनीति खोज्दै छन् । विभिन्न समुह या व्यक्तिबाट त्यसको प्रयास पनि हुँदै छ । यस अर्थमा विवेकशील राजनीतिको जित भएको छ । विवेकशील साझा पार्टी अलमलिए पनि विवेकशील अभियान निरन्तर अघि बढिरहेको छ । मोबाइल ह्यांग भयो भने त्यसलाई रिस्टार्ट गरेजस्तै विवेकशील साझालाई पनि रिस्टार्ट गर्न जरुरी छ । पार्टी पुनर्गठन जरुरी छ । यदि घर बनाउँदै गर्दा पिलर बांगो भयो, जग मजबुत भएन भने घर भत्काउन पनि तयार हुनुपर्छ । विवेकशील अभियानलाई सार्थक बनाउन, विवेकशील साझाले देखाएको सपना साकार पार्न आवश्यक परे इतिहासको महत्वपूर्ण घडीमा हामी आफैँप्रति पनि निर्मम हुन जरुरी छ ।

(पाण्डे विवेकशील अभियानका अभियन्ता हुन्)