१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ श्रावण ४ बुधबार
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडाैं
२o७९ श्रावण ४ बुधबार ११:२५:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

काठमाडौंमा थप तीनवटा नयाँ दमकल : प्रतिमिनेट तीन हजार लिटर पानी तान्ने र फाल्ने क्षमता  

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o७९ श्रावण ४ बुधबार ११:२५:oo

करबाहेक सात करोड २१ लाख रुपैयाँ मूल्य

काठमाडौं महानगरमा नयाँ तीनवटा दमकल थपिएका छन् । दमकल खरिदका लागि ०७७ फागुन महिनामा बोलपत्र आह्वान गरिएको थियो । त्यसमा इन्डोनेसियामा काम गरिरहेको जर्मन कम्पनी जिग्लर इन्डोनेसिया छनाेट भएको थियो । कम्पनीले करबाहेक सात करोड २१ लाख रुपैयाँ मूल्यमा इन्डोनेसियाबाटै सामान पठाएको हो । 

दमकलको इन्जिन क्षमता २७० एचपी हो । दमकलमा प्रतिमिनेट तीन हजार लिटर पानी तान्न र फाल्न सक्ने क्षमता छ । यस्तै, ६० मिटर टाढासम्म पानीको फोहोरा हान्न सक्छन् । एकैपटक चारवटा डिस्चार्ज लाइनबाट प्रेसरका साथ पानी फाल्न र दुईवटा सक्सन लाइनबाट पानी तान्न सक्छन् । 

तीन हजार लिटर पानी र पाँच सय लिटर फोमको ट्यांक रहेको दमकलले पानीमा फोम आफैँ मिसाउन सक्छ । पानी फाल्ने मोनिटर ३६० डिग्रीमा वरिपरि घुमेर र ८० डिग्री सीधा माथि पानी फाल्न सक्छ । आठ हजार किलोग्रामभन्दा धेरै तौल भएका यी दमकल एन्टिलक ब्रेक सिस्टम (एबिएस) हुन् ।

तीन वर्ष वारेन्टी भएका दमकलमा एबिसी टाइपका फायर इस्टिङग्विसर, चारवटा ब्रिदिङ एपारटर्स, पाँच मिटर लामा दुईवटा अल्मुनियमका भर्‍याङ, दुई हजार वाट क्षमताको एउटा जेनेरेटर, दुईवटा स्पट लाइट, नाइलनको डोरी, पाइप तथा नोजललगायत सामग्री तथा उपकरण छन् । आठ मिटर लम्बाइ र २.५ मिटर चौडाइ भएका दमकलले घरमा लागेको, पेट्रालियम पदार्थमा लागेको र ग्यासमा लागेको आगो निभाउन सक्छन् ।

दमकल आएपछि प्रतिक्रिया दिँदै काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन)ले भने, ‘महानगरले आगलागीको रोकथाम र क्षति कम गर्न पहिलेदेखि काम गर्दै आएको छ । महानगरका पूर्वप्रमुख विद्यासुन्दर शाक्यका पालामा सुरु भएको दमकल खरिद प्रक्रियाअन्तर्गत अहिले तीन दमकल महानगरमा आइपुगेका छन् । दमकलको वैज्ञानिक तवरमा उच्चतम प्रयोग गरेर आगलागीबाट हुने क्षति कम गर्न महानगर प्रतिबद्ध छ ।’ 

पूर्वप्रमुखप्रति आभार व्यक्त गर्दै प्रमुख साहले आगोको प्रयोगमा असाध्यै सावधानी अपनाउनुपर्ने आवश्यकता देखाए । ‘काठमाडौंजस्तै घना बस्ती भएका क्षेत्रहरू जहाँ आफ्नै संरचनागत खराबीहरूले गर्दा आगलागीको जोखिम उच्च र नियन्त्रणमा सीमितता छ । त्यस्ता क्षेत्रहरूमा आगलागीका विषयमा झन् धेरै सचेत र होसियार हुनैपर्छ । अग्नि दुर्घटना हुनै नदिनु सबैभन्दा उत्तम विकल्प हो । आगोको विषयमा कहिल्यै पनि हेलचेब्य्राइँ नगरौँ । सावधान रहौँ । र, आफ्नो घर तथा कार्यालयमा उचित पूर्वतयारी गरौँ ।’

नयाँबाहेक महानगरसँग अहिले पूर्ण क्षमतामा काम गर्न सक्ने दुईवटा र सहयोगका लागि प्रयोगमा ल्याउन सकिने तीनवटा गरी पाँचवटा दमकल सञ्चालनमा छन् । जुद्ध बारुण यन्त्र कार्यालय काठमाडौंका प्रमुख चन्दन श्रेष्ठका अनुसार नयाँ सडक बारुण यन्त्र कार्यालयमा एउटा पूर्ण क्षमताको र दुईवटा सहयोगका लागि प्रयोग गर्न सकिने दमकल छन् । त्यस्तै, रामहिटीमा एउटा पूर्ण क्षमताको र एउटा सहयोगका लागि प्रयोग गर्न सकिने दमकल छन् । 

महानगरसँग ३० मिटरको लामो एउटा र २५ मिटर लामो एउटा गरी दुईवटा ल्याडर छन् । रेस्क्युका लागि एउटा ट्रक र एउटा जिप छन् । त्यस्तै, जनशक्ति ओसारपसार गर्न एउटा भ्यान र एउटा जिप छन् । यसैगरी, पाँचवटा फायर मोटरसाइकल सञ्चालनमा छन् । दकमलमा पानी थप्न एउटा पानी ट्यांकर छ । यस्तै, पानी तानेर फाल्नका लागि पाँचवटा पम्प छन् ।