मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ श्रावण ४ बुधबार
  • Tuesday, 17 December, 2024
शिवहरि घिमिरे काठमाडाैं
२o७९ श्रावण ४ बुधबार o८:२o:oo
Read Time : > 1 मिनेट
समाचार प्रिन्ट संस्करण

बोरिङ खन्दा जोरपाटीमा निस्कियो  अहिलेसम्मकै धेरै मिथेन ग्यास

Read Time : > 1 मिनेट
शिवहरि घिमिरे, काठमाडाैं
नयाँ पत्रिका
२o७९ श्रावण ४ बुधबार o८:२o:oo

अध्ययन गर्न गएको भूगर्भ विभागको टोली अध्ययनविनै फर्कियो

काठमाडौंको जोरपाटीस्थित लोेसेटार टोलमा खानेपानीको बोरिङ खन्ने क्रममा निस्किएको मिथेन ग्यास अझै रोकिएको छैन । मंगलबार बिहान करिब १० बजेतिर स्थानीय सन्तकुमार लामाले जमिनको पानी तान्न करिब ३२० फिट गहिरो बोरिङ खन्ने क्रममा ग्यास निस्किएको हो । 

ग्यासका कारण आसपासका क्षेत्र धुलाम्य र हिलाम्य भएका छन् । लेदोसहितको बालुवा ग्यासबाट निस्किएपछि उक्त क्षेत्रमा स्थानीय त्रसिससमेत बनेका छन् । मंगलबार बिहानैदेखि तीव्र गतिमा ग्यास निस्किन सुरु गरेपछि खानी तथा भूगर्भ विभागको टोली दिउँसो निरीक्षणका लागि त्यहाँ पुगेको थियो । तर, बेगले ग्यास निस्किएका कारण टोलीले कुनै अध्ययन गर्न सकेन । ग्यासको मात्रा नघटेसम्म वा नरोकिएसम्म त्यसबारेमा थप अध्ययन गर्न नसकिने विभागकोे ग्यास शाखा प्रमुख वरिष्ठ भूगर्भविद् पृथ्वीलाल श्रेष्ठले जानकारी दिए । 

जोडले निस्किएको ग्यास भण्डारण गर्न निकै गाह्रो हुन्छ : पृथ्वीलाल श्रेष्ठ ग्यास शाखा प्रमुख तथा वरिष्ठ भूगर्भविद्
यस्तो प्रेसरमा यसअघि कहीँ पनि मिथेन ग्यास निस्किएको थिएन । यसरी निस्किएको ग्यास भण्डारण गर्न निकै गाह्रो हुन्छ । हामीसँग त्यो संरचना पनि छैन । अब यो साम्य भइसकेपछि मात्रै अध्ययन–अनुसन्धान हुन्छ । यो ग्यास खाना पकाउन प्रयोग गर्न सकिन्छ । फ्युलको रूपमा पनि विदेशमा प्रयोग गरेको पाइन्छ ।

उनका अनुसार जमिनमुनि जम्मा भएर बसेको मिथेन ग्यास ड्रिलिङ गर्ने क्रममा निस्केको हो । तर, त्यहाँ कति ग्यास ‘होल्ड’ भएर बसेको छ भन्नेबारे अध्ययन गर्नुपर्ने उनले बताए । ग्यास निस्कने मात्रा नघटेसम्म सोबारे अध्ययन गर्नसमेत कठिन हुन्छ । ‘सामान्यतः ग्यास र पानी मिसिएर बसेको हुन्छ, प्रायः ठाउँमा पानीको सतहभन्दा मुनि मिथेन ग्यास हुन्छ,’ श्रेष्ठले भने, ‘तर जोरपाटीको सो स्थानमा पानीभन्दा माथि नै ग्यास होल्ड भएर बसेको हुन सक्छ, त्यसकारणले पानीभन्दा छिटो ग्यास निस्कियो ।’ 

उनका अनुसार पानीसँग मिसिएको वा पानीभन्दा मुनि रहेको ग्यास यसरी जोडजोडले निस्कँदैन । तर, जोरपाटीमा निस्किएको उक्त ग्यासको मात्रा निकै धेरै रहेको हुन सक्ने अनुमान गरिएको श्रेष्ठको भनाइ छ । उनले मिथेन ग्यास निस्कनु सामान्य रहे पनि जोरपाटीमा भने हालसम्मकै धेरै मात्रामा ग्यास निस्किएको बताए । यद्यपि, यो प्राकृतिक प्रक्रिया भएकाले यसबारेमा डराउन नहुने उनको भनाइ छ । 

यसअघि पनि काठमाडौंका सातवटा ठाउँमा मिथेन ग्यास निस्किएको रेकर्ड छ । कपन, सिरुटार, काँडाघारी, धुम्बाराही, ललितपुरको इमाडोललगायत ठाउँमा यसरी नै ग्यास निस्किएको थियो । तर, ती ठाउँमा निस्किएको ग्यास तीन घन्टामा रोकिएको थियो । मात्रा पनि निकै कम थियो । ग्यास सिद्धिएपछि ती ठाउँलाई विभागले सिलसमेत गरेको थियो । तर, जोरपाटीमा भने ठूलो मात्रामा ग्यास रहेको हुन सक्ने अनुमान गरिएको छ । यद्यपि, अध्ययन भने हुन सकेको छैन । 

यसरी निस्किएको ग्यास भण्डारण गर्न सम्भव छ ?
मिथेन ग्यास भण्डारण गरेर राख्न मिल्ने भए पनि यसलाई भण्डारण गर्न पर्याप्त पूर्वाधार नभएको विभागको भनाइ छ । भण्डारण गर्न ग्यासको मात्रा ठिक्क आउनुपर्ने हुन्छ । तर, जोड–जोडले निस्किएको ग्यासलाई होल्ड तथा भण्डारण गर्न मिल्दैन । त्यसो गर्दा विस्फोट हुने डर हुन्छ । मिथेनलाई हरितगृह ग्यास भनिन्छ । हाइड्रोजन र कार्बन हुने भएकाले यसलाई हाइड्रो–कार्बन भनिन्छ । 

१९९० को दशकमा टेकुमा मिथेनको प्लान्ट नै बनाइएको थियो 
सन् १९९० को दशकमा टेकुमा मिथेन ग्यासको प्लान्ट नै बनाइएको थियो । त्यतिवेला लगातार आठ वर्षसम्म मिथेन ग्यास निस्किएको थियो । उक्त ग्यासले टेकु अस्पताल, पशु अस्पताल, सुन्धारामा रहेको केन्द्रीय कारागार, सेनाको कार्यालयलगायत ठाउँमा पाइपलाइनमार्फत मिथेन ग्यास ल्याइएको थियो । तर, बिस्तारै ग्यास बन्द हुन थालेपछि प्लान्ट नै बन्द भएको थियो । उक्त ठाउँमा हालको अवस्थाबारे अध्ययन गर्न विभागले जाइकासँग प्राविधिक सहयोग माग गरेको छ ।