मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७९ श्रावण २ सोमबार १४:५७:००
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

फुटपाथ व्यवसायीका जफत गरेका सामान काठमाडौं महानगरले बेच्छ, ललितपुरले फिर्ता दिन्छ

फुटपाथबाट जफत गरेका सामान बेचेर काठमाडौं महानगरले पाँच वर्षमा उठायो सवा ३६ लाख

Read Time : > 1 मिनेट
२०७९ श्रावण २ सोमबार १४:५७:००

दैनिक छाक टार्न फुटपाथमा व्यापार गर्ने सामान्य व्यापारीका सामान जफतपछि लिलाम गरेर काठमाडौं महानगरपालिकाले लाखौँ उठाउँदा ललितपुर महानगरले भने फिर्ता दिने गरेको छ । फुटपाथ व्यापारीबाट जफत गरेका सामान चल्तीको दररेटअनुसार बेचेर काठमाडौं महानगरले ०७४÷७५ यता पाँच वर्षमा ३६ लाख ३५ हजार ६ सय उठाएको हो । कतिपय सामान त टेकुस्थित नगर प्रहरीको गोदाममै कुहिने गरेका छन् । 

०७६ फागुनमा काठमाडौं महानगरका तत्कालीन मेयर विद्यासुन्दर शाक्यको अध्यक्षतामा बसेको बोर्ड बैठकले फुटपाथमा बेच्न राखिएका सामान जफत गर्ने निर्णय गरेको थियो । सोही निर्णयअनुसार कारबाही जारी राखिएको महानगरका सूचना अधिकारी वसन्त आचार्यले बताए । 

‘हामी जफत गरिएका सामान फिर्ता दिँदनौँ,’ उनले भने, ‘ग्यास, पकाउने भाँडाकुँडा, तेल, साबुनलगायत सामान भने सम्बन्धित व्यक्तिले त्यसको लाग्ने मूल्य तिरेर लैजान सक्छ । नभए जफत गरिएका सबै सामान लिलाम गरिन्छ, त्यसका लागि लिलाम समिति नै बनाइएको छ ।’ 

ललितपुर महानगर प्रहरीले भने सडकपेटीबाट सामान नियन्त्रणमा लिए पनि सम्झाएर सम्बन्धित व्यापारीलाई नै फिर्ता दिँदै आएको छ । ‘हामीले अहिलेसम्म कुनै ठेला वा फुटपाथ व्यापारीको सामान जफत गरेका छैनौँ,’ ललितपुर महानगरका नगर प्रहरी प्रमुख सीताराम हाछेथूले भने, ‘बरु, सम्झाइ–बुझाइ गरेर छाडिदिने गरेका छौँ ।’ 

ललितपुरमा फुटपाथ व्यवसायका लागि ठाउँ र टाइमकार्ड तोकियो, काठमाडौंमा अस्तव्यस्त
ललितपुर महानगरले कुन समय र कुन–कुन स्थानमा फुटपाथ व्यापार राख्न दिने भन्नेबारे टुंगो लगाइसकेको छ । तर, काठमाडौंले सडकमा नाङ्लो राखेर परिवार पाल्नुपर्ने व्यापारीलाई विस्थापनकै नीति अख्तियार गरेको छ । तर, अस्तव्यस्त रूपमा जताततै व्यापार भने चलिरहेकै छ । जसले महानगर र गरिखाने नागरिकबीच तिक्तता बढाएको छ ।

ललितपुर महानगरले भने मुख्य चोकहरू पुल्चोक, लगनखेल, इतिटोल, कुपन्डोल, सातदोबाटो, सुन्धारा, नख्खु, एकान्तकुनालगायत सडकपेटीमा व्यापार गर्न दिएको छ । ललितपुरले यस्ता व्यापारीका लागि टाइमकार्ड पनि लागू गरेको छ । २० असारदेखि लागू हुने गरी महानगरभित्र बिहान ८ बजेभित्र र बेलुकी ५ बजेपछि मात्रै सडकआसपासमा व्यापार गर्न दिने नियम बनाएको छ । त्यस्तै, फुटपाथ र सडक व्यापारीलाई नै लक्षित गरेर साउनदेखि लागू हुने गरी लगनखेलको इतिटोलमा खुला बजार सञ्चालनको तयारी गरेको छ । महानगरले शनिबार दिनभर व्यवसाय गर्न निःशुल्क ठाउँ उपलब्ध गराउनेछ ।