१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ श्रावण १ आइतबार
  • Saturday, 21 September, 2024
२o७९ श्रावण १ आइतबार १८:१३:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

गाउँमै विशेषज्ञसहितको स्वास्थ्य सेवा पाएपछि विपन्नलाई राहत 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ श्रावण १ आइतबार १८:१३:oo

धनगढी उपमहानगरपालिका–१९ की पार्वती बोगटी कहिलेकाहीँ पेट दुख्ने समस्या देखिएपछि उपचारका लागि गाउँकै स्वास्थ्य चौकीमा पुगिन्। स्वास्थ्य चौकीमा विशेषज्ञ डाक्टर नहुँदा स्वास्थ्यकर्मीले उनलाई थप उपचारका लागि धनगढी जान सुझाब दिए। तर, स्वास्थ्यकर्मीबाट १० हजार जति खर्च लाग्ने जानकारी पाएपछि आर्थिक अभावका कारण उनले धनगढी गएर उपचार गर्न सकिनन्। 

एक वर्ष रोग सहेर बसेकी उनी अहिले गाउँमै विशेषज्ञसहितको नि:शुल्क उपचार सेवा पाएपछि खुसी छिन्। वडामै विशेषज्ञ स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले उपमहानगरले वडा नम्बर १९ बाट आइतबारबाट विशेषज्ञ वडा स्वास्थ्य क्लिनिकको सुरुवात गरेको हो। 

‘पैसा नभएर एक वर्ष रोग सहेर बसेँ, अहिले गाउँमै डाक्टर आएर चेकजाँच गरे । औषधि लेखिदिएका छन्,’ भारतमा मजदुरी गर्ने श्रीमानको कमाइले पाँचजनाको परिवारको गुजारा गर्दै आएकी उनले भनिन्, ‘रोग निको होला भन्ने आशा छ।’ 

वडा नम्बर १९ कै लक्ष्मी चौधरीलाई पाठेघर र तल्लो पेट दुख्ने समस्या छ। अर्काको अधियाँ खेती गरेर गुजारा गर्ने उनी आर्थिक अभावकै कारण धनगढी बजारका सुविधा सम्पन्न अस्पतालसम्म जान सकेकी छैनन्। ‘वडाको स्वास्थ्य चौकीमा डाक्टर छैनन्। अस्पताल जानलाई धनगढीसम्म पुग्ने भाडा पनि हुँदैन,’ वडा क्लिनिकमा स्वास्थ्य जाँचका लागि पर्खिरहेकी उनले भनिन्, ‘गाउँमै नि:शुल्क जाँच गर्न डाक्टर आएको थाहा पाएपछि यहाँ आएकी हुँ।’