१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख ३१ सोमबार o८:३५:oo
Read Time : > 4 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

वामगठबन्धनका लागि एमाले–माओवादीका भिन्नाभिन्नै सर्त  

Read Time : > 4 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार o८:३५:oo

कांग्रेससँगको गठबन्धन भत्काऊँ, चुनावी सरकार बनाऔँ : ओली  

घटनाक्रमको समीक्षा गरौँ, चुनावी तालमेलपछि एकता गरौँ : श्रेष्ठ

प्रधानमन्त्री शेरबहादुर देउवाले पाँचदलीय गठबन्धनलाई आगामी चुनावसम्मै लैजाने योजना बनाइरहेका वेला एमाले र माओवादीका कतिपय नेता वामगठबन्धन र पार्टी एकताको विमर्शमा जुटेका छन् । नेपाल–चीन हिमालय मैत्री समाजले शनिबार आयोजना गरेको नेपालको भूराजनीतिक अवस्था, यसका चुनौती र अबको बाटो विषयक विमर्श कार्यक्रममा एमाले अध्यक्ष केपी ओली र माओवादी नेता नारायणकाजी श्रेष्ठले वाम एकता सम्भावना औँल्याएका छन् । 

दुवै नेताले सार्वजनिक रूपमै तालमेल र एकताको सम्भावना देखाउ“दै केही सर्त र प्रस्ताव अघि सारेका छन् । ओली र श्रेष्ठबीच ३० जेठमा बालकोटस्थित ओलीको निवासमा वाम एकताको सम्भावनाबारे दुई घन्टा लामो छलफल भएको थियो । त्यसवेला उनीहरूले राष्ट्रियतामाथिको संकट, समग्र परिस्थिति र वाम आन्दोलनबारे छलफल भएको बताएका थिए । ठीक एक महिनापछि दुवै नेताले बालकोट छलफललाई नै बल पुग्ने गरी वामगठबन्धन र एकताको मुद्दा उठाएका छन् । ओलीले अहिलेको गठबन्धन भत्काएर चुनावी सरकार बनाउने अवस्थामा वाम एकता सम्भव रहेको जनाएका छन् । ओलीले कांग्रेससँग सहकार्य तोड्नु ‘सक्कली वामपन्थी’ हुने र त्यस्तासँग मिलेर एमाले चुनावी सरकार बनाउन तयार रहेको स्पष्ट गरेका छन् । 

त्यस्तो अवस्थामा विगतका गल्ती र कमजोरी बिर्सिनका लागि समेत एमाले तयार रहेको प्रस्ट्याएर ओलीले लचिलो बन्ने जनाउ दिएका छन् । ‘म आग्रह गर्न चाहान्छु– राफसाफ कुरा गरौँ । कोही वामपन्थी हुनुहुन्छ भने आउनुस्, एमालेसँग मिलेर देशको पक्षमा, राष्ट्रियता, लोकतन्त्र र कानुनी राजको पक्षमा उभिएर काम गर्ने सरकार बनाऊँ र अगाडि बढौँ,’ ओलीले भने, ‘चुनावमा बुथ कब्जा गर्ने, मतपत्र च्यात्ने, टोक्ने, च्यात्ने होइन । निष्पक्ष ढंगले चुनाव गर्ने लोकतान्त्रिक अभ्यास गर्ने सरकार बनाऊँ ।’

सक्कली वामपन्थीका लागि आफू एकपटकका लागि शंकाको लाभ दिन तयार रहेको भन्दै ओलीले एमालेको नेतृत्वमा गठबन्धन बनाउन सकिने बताए । ‘बेनिफिट अफ डाउट भन्छन् नि, नेपालमा वामपन्थी पार्टीहरू छन् भने म उनीहरूलाई कांग्रेसका पछाडि नलाग्न, गठबन्धन छोड्न, देशघाती काम नगर्न, एसपिपी नगर्न र वामपन्थी एकतामा आउन आग्रह गर्छु,’ चौँरीको पुच्छरजस्तो कांग्रेसको पुच्छर बन्ने वामपन्थी पार्टी हुँदैन । असली रूपमा सबै आऊँ । फेरि एकपल्ट देशभरि सबैले सुन्ने गरी भन्न चाहन्छु, वामपन्थी हुनुहुन्छ भने आउनुस् ।’ 

ओलीभन्दा पहिले सम्बोधन गरेका माओवादी नेता श्रेष्ठले वामपन्थीहरू एकअर्कालाई सिध्याउन लाग्दा आफैँ समाप्तिको दिशातिर अगाडि बढेको र त्यसले देशभक्तिको आन्दोलन र देशकै अस्तित्व समाप्त हुने खतरा पैदा भएको भन्दै अबको चुनावमा पुनः वाम एकता अपरिहार्य भएको भन्दै औचित्य पुष्टि गर्ने कोसिस गरे । उनले चुनावमा वामगठबन्धन र त्यसपछि एकता अगाडि बढाउन म नै सबैथोक हुँ भन्ने अहंकार त्यागेर आत्मसमीक्षा र आत्मालोचनाका लागि सबै तयार हुनुपर्ने सर्त अगाडि सारे । 

माओवादी केन्द्रका प्रमुख नेता प्रचण्ड अहिलेको अवस्थामा देशबाहिर भएकाले कार्यक्रममा आफू उपस्थित भएको संकेत गरेर श्रेष्ठले ओलीलाई एकताका लागि लचिलो बन्न प्रेरित मात्रै गरेनन्, पार्टी एकता जोगाउन नसकेकोमा आफ्नो पनि कमजोरी रहेको स्वीकार गर्दै सार्वजनिक रूपमा आत्मालोचितसमेत भएका थिए । 

‘आदरणीय नेता कमरेड केपी ओली यहाँ हुनुहुन्छ । अर्को नेता बाहिर हुनुहुन्छ । म सबैसँग विनम्रतापूर्वक निवेदन गर्न चाहन्छु, तुम सेर त हम सवाशेर छोडिदिऊँ । घटनाक्रमको विषयगत रूपमा गम्भीर आत्मसमीक्षा गरौँ । कतिपय विषयमा पछि नै गरौँला,’ श्रेष्ठले भने, ‘जो अहिले नै गरिहाल्नुपर्नेछ, गल्ती कमजोरी भएको लाग्छ भने आत्मालोचना गरौँ, म त आत्मालोचना गर्छु, पार्टी एकता जोगाउन सकिएन, मेरो पनि एउटा भूमिका थियो । सबै मिलौँ । प्रतिनिधिसभा विघटनमा, एमसिसीमा, १९ बुँदे आरोपपत्रमा के भएको थियो, समीक्षा गरौँ, पार्टी एकताका निम्ति तत्काल आधार नबन्ला, तर तालमेल गरेर अगाडि बढ्न सकिने हुन सक्छ ।’

अहिले वामपन्थीहरू आफैँ सकिने गरी एकअर्कालाई सिध्याउने खेलमा सामेल भएको असन्तुष्टि पोख्दै श्रेष्ठले देशकै अस्तित्व समाप्त हुन सक्नेतर्फ सजग मात्र गराएनन्, पुनः एमाले र माओवादी पार्टी एकताकै तहमा पुग्नुपर्नेमा जोड दिए । ‘अहिले हाम्रो वामपन्थीहरूको स्थिति कस्तो छ भने एकअर्कालाई सिध्याउने, तल पार्ने, मेसो चलाउँदाखेरी आफू सबै सिद्दिने दिशातिर त गइरहेको छैन ? कसले एकअर्कालाई सिध्याउने भन्यो र आफू सबै विसर्जित हुने ? त्यसबाट बच्नुपर्‍यो । अनि नेपालमा वामपन्थी आन्दोलन सिद्दियो भने नेपालको राष्ट्रियता कमजोर हुन्छ र देशको अस्तित्व संकटमा पर्छ,’ उनले भने, ‘त्यसकारण देश नै सिध्याउने काम नगरौँ । त्यसका निम्ति वामपन्थीको एकता आवश्यक छ । कमसेकम तालमेल, मोर्चा र त्यसपछि अर्को दिशातिर (एकतातिर) जानुपर्ने आवश्यकता छ ।’ 

ओलीले कांग्रेससँग गठबन्धन गरेर पनि सत्य र निष्ठापूर्वक प्रस्टसँग कार्यक्रममा व्यक्तिगत विचार राखेको भन्दै नारायणकाजी, उपेन्द्र यादवदेखि चन्द्र भण्डारीसम्मको प्रशंसा गरे । यद्यपि, उनीहरूलाई व्यंग्य प्रहार गर्दै ओलीले गठबन्धन र आफ्नो पार्टीलाई आफ्ना विचारमा हिँडाउन नसक्ने हो भने कुनै अर्थ नहुने बताए । 

श्रेष्ठलाई इंगित गर्दै उनले विचार मिल्दैन भने सँधैभरि माओवादी केन्द्रमै अल्झिरहन जरुरी नभएकोसमेत भन्न भ्याए । ‘जे गर्दा पनि ताली बजाउनुभएन, त्यहाँ लड्नुपर्‍यो । विचार व्यक्त गर्ने र छोड्ने होइन । नेताको हैसियतमा आफ्नो विचारमा पार्टीलाई पुर्‍याउने र गठबन्धनलाई पनि पुर्‍याउने तपाईंहरूको कर्तव्य हुन्छ । गठबन्धनलाई सक्नुहुन्न भने पार्टीलाई त पुर्‍याउनुपर्‍यो,’ ओलीले भने, ‘पार्टीमा विचार मिल्दैन भने त्यो पार्टीमा किन बस्नुहुन्छ ? विचार मिल्दैन भने... पार्टी त तपाईंहरू जहाँ अल्झिरहनुभएको छ, त्यो मात्रै छैन होला नि,’ ओलीले भने । 

कार्यक्रममा वामगठबन्धनको महŒवबारे मात्र होइन, नेताहरूबाट आफ्नो प्रशंसा सुनेका ओलीले व्यंग्य गरेका थिए । ‘आज सबै साथीहरूले राम्राराम्रा मात्रै कुरा गर्नुभो । गठबन्धनमै रहेका साथीहरू हुनुहुन्छ । गठबन्धनमै रहेका पार्टीको अध्यक्ष पनि हुनुहुन्छ । कुरा राम्रै गर्नुहुन्छ, गठबन्धन अर्कैतिर छ,’ ओलीले भने, ‘गठबन्धन पश्चिमतिर हिँडेको छ, कुरा अर्कैतिर । यो निम्ता गर्दाको छनोट देखेर गज्जब लाग्यो । कांग्रेस, माओवादीभित्र, जसपाभित्र पनि सबभन्दा राम्रो मान्छे खोजेर ल्याइएको रहेछ ।’

आफूले राष्ट्रिय हितका पक्षमा काम गर्दा हटाइनुपरेको ओलीले दाबी गरेका थिए । ‘पारवहन सझौता चीनसँग गरेबापत, चीनतिरबाट नाका खोलेबापत मैले पहिलोपल्ट प्रधानमन्त्रीबाट हट्नुपरेको होइन र ? चीनबाट फर्किनेबित्तिकै हटाउने खेल अगाडि बढाएको होइन र ?’ ओलीले भने, ‘सत्रओटा चेकपोस्ट हटाएबापत छब्बीस सालमा कीर्तिनिधिले छोड्नुपरेको थियो । उत्तरतिरबाट पनि बाटो खोलेबापत मैले ०७३ सालमा हट्नुपरेको थियो ।’ 

ओलीलाई सत्ताबाट हटाउन भूराजनीतिले पनि काम गरेको थियो : उपेन्द्र यादव
जसपा अध्यक्ष उपेन्द्र यादवले ओलीलाई सत्ताबाट हटाउन भूराजनीतिले पनि काम गरेको बताए । ‘हाम्रो ल्यान्डलक र अल्पविकसित मुलुक हो । राजनीतिक रूपले अहिले पनि अस्थिर नै छ । यति अस्थिर छ, यहाँ हाम्रो पूर्वप्रधानमन्त्री हुनुहुन्छ, उहाँकै क्याबिनेटमा म उपप्रधानमन्त्री थिएँ । म पूर्व भएँ, केही दिनपछि उहाँ पनि पूर्व हुनुभएछ । यो पनि भूराजनीतिकै प्रभाव हो,’ यादवले भने, ‘नेपालको राजनीति अहिलेदेखि अस्थिर होइन, कतै न कतै त्यो सुरुदेखि नै प्रभावित भएर आएको छ ।’ उनले राजनीतिक अस्थिरताका लागि आन्तरिक मात्रै नभएर बाहिरी कारण पनि जोडिएको बताए । भूराजनीतिकै कारण ओली पूर्वप्रधानमन्त्री बनेको उनको दाबी थियो । 

कांग्रेस नेता चन्द्र भण्डारीले ओलीको प्रतिबद्धतालाई तीन महिनासमेत कुर्न नसकेर आफ्नै पार्टीले सरकार ढालेको कारण देउवाको नेतृत्वमा नयाँ सरकार बनेको बताए । ‘केपी ओलीको नेतृत्वमा नेपालमा झन्डै दुईतिहाइको सरकार बनेको थियो । तीन वर्ष सरकार चलेको पनि थियो । उहाँ (केपी ओली)ले मलाई सरकार चलाउन देऊ, तीन महिनामा यो पार्टीको महाधिवेशन गर्छु, म उठ्दिनँ, प्रधानमन्त्री पनि छोड्छु भन्दा आदरणीय नारायणकाजीजी यो सरकार ढालेको अमेरिकाले हो ? भारतले हो ? चीनले हो कि शेरबहादुरजीले हो ? यो प्रस्ट पार्नुस् । यो कति गम्भीर कुरा हो ? तपाईंहरू नै बुझ्नुस् ।’

भण्डारीले अहिले माओवादी अध्यक्ष प्रचण्ड आन्तरिक राजनीतिको विषयमा कुरकानी गर्न दिल्ली पुगेको भन्दै व्यंग्य गरे । ‘अहिले प्रचण्डजी दिल्लीतिर हुनुहुन्छ, अर्को साथी चीनतिर हुनुहोला, अर्को साथी अमिरिकातिर हुनुहोला । यो राम्रो हो सम्बन्ध बनाउने । तर, हामीले राष्ट्रिय हित हेर्नुपर्छ,’ उनले भने । 

ad
ad