१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
भारत भ्रमणमा रहेका प्रचण्ड शनिबार नयाँदिल्लीस्थित सुष्मा स्वराज स्मृति भवनमा बिजेपीका विदेश विभाग प्रमुख विजय चौथाइवालेलगायतसँग भेटवार्ता गर्दै ।
२०७९ श्रावण १ आइतबार ०७:२३:००
Read Time : > 2 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

नयाँदिल्लीमा प्रचण्ड : नेपाल–भारत सम्बन्ध  समस्यारहित बनाउन प्रस्ताव

Read Time : > 2 मिनेट
२०७९ श्रावण १ आइतबार ०७:२३:००

तीनदिने औपचारिक भ्रमणमा दिल्लीमा रहेका माओवादी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले इतिहासले छाडेका विषय सम्बोधन गर्दै नेपाल–भारत सम्बन्ध समस्यारहित बनाउन प्रस्ताव गरेका छन् । फाउन्डेसन फर पब्लिक अवेरनेस एन्ड पोलिसी नामक चिन्तन प्रतिष्ठानले आयोजना गरेको प्रवचनलाई शनिबार सम्बोधन गर्दै प्रचण्डले शान्ति तथा मैत्री सन्धि, सीमा समस्या तथा इपिजी प्रतिवेदनजस्ता विषय कूटनीतिक संवादको प्रयासबाट सम्बोधन गर्नुपर्नेमा जोड दिए । 

‘इतिहासले छाडेका केही विषयलाई हामीले असल नियतसाथ कूटनीतिक संवादको प्रयासबाट सम्बोधन गर्नुपर्छ,’ प्रचण्डले भने, ‘१९५० को सन्धि, सीमा र इपिजी प्रतिवेदनजस्ता विषय कूटनीतिक संवादको प्रयासबाट सम्बोधन गर्नुपर्छ । नेपाल–भारत सम्बन्धको सम्भाव्यता र द्विपक्षीय सम्बन्ध थप सुदृढ हुने गरी असल छिमेकीपनको भावमा यी विषयको समाधान गर्नुपर्छ । भविष्यमा हामी सम्बन्धलाई समस्यारहित बनाउन सक्छौँ ।’ 

दुई देशको सम्बन्ध इतिहास, सामाजिक–सांस्कृतिक र जनस्तरमा आधारित रहेको उल्लेख गर्दै प्रचण्डले इतिहास मात्र नभएर गन्तव्य पनि सँगै जोडिएको बताए । ‘भूगोल, इतिहास, भाषा, साहित्य, धर्म, संस्कृति, भूमि र नदीबाट जोडिएका छौँ । इतिहास मात्र होइन, गन्तव्य पनि सँगै जोडिएको छ,’ नेपाल–भारत सम्बन्धका जानकारमाझ प्रचण्डले भने । 

प्रचण्ड, अध्यक्ष, माओवादी
इतिहासले छाडेका केही विषयलाई हामीले असल नियतसाथ कूटनीतिक संवादको प्रयासबाट सम्बोधन गर्नुपर्छ । १९५० को सन्धि, सीमा र इपिजी प्रतिवेदनजस्ता विषय कूटनीतिक संवादको प्रयासबाट सम्बोधन गर्नुपर्छ । नेपाल–भारत सम्बन्धको सम्भाव्यता र द्विपक्षीय सम्बन्ध थप सुदृढ हुने गरी असल छिमेकीपनको भावमा यी विषयको समाधान गर्र्नुपर्छ । भविष्यमा हामी सम्बन्धलाई समस्यारहित बनाउन सक्छौँ ।

पूर्वप्रधानमन्त्री प्रचण्डले नेपाल र भारत दुवैले विगतदेखि एक–अर्काको सुरक्षा संवेदनशीलतालाई सम्बोधन गर्दै आएको बताए । उनले भने, ‘नेपालले आफ्नो भूमि छिमेकीविरुद्ध उपयोग हुन दिनेछैन । एक–अर्काको संवेदनशीलता सम्बोधन गर्नाले विगतमा हामीबीचका केही असमझदारी हल भएका छन्,’ प्रचण्डले भने । 

प्रचण्डले नेपालको व्यापार घाटा कम गर्न र नेपालको क्षेत्रीय तथा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि भारतले हवाई प्रवेश अनुमति दिनुपर्नेमा जोड दिएका छन् । उनले द्विपक्षीय औपचारिक कूटनीतिक सम्बन्धको ७५ वर्ष पूरा भएको र आगामी दिनमा बलियो र थप सुदृढ सम्बन्ध हुने विश्वास व्यक्त गरे । ‘भारत हाम्रो आयात र निर्यातको प्रमुख केन्द्र हो । हाम्रो अर्थतन्त्रको आकारका सन्दर्भमा हामी व्यापार घाटामा छौँ,’ प्रचण्डले भने, ‘दुई देशबीच क्रस बोर्डर कनेक्टिभिटी महत्वपूर्ण छ । कृषिलगायत क्षेत्रमा विगतमा भएका समझदारी कार्यान्वयन हुनुपर्छ ।’ 

वर्तमान गठबन्धन सरकारले भारतसँगको सम्बन्धलाई उच्च महत्व दिएको पनि प्रचण्डले बताए । प्रचण्डले पारस्परिक सद्भावना, विश्वास, समझदारी, समानता र सम्मानमा आधारित सम्बन्ध हुनुपर्नेमा जोड दिएका छन् । ‘शेरबहादुर देउवा नेतृत्वको वर्तमान गठबन्धन सरकारले भारतसँगको सम्बन्धलाई उच्च महत्व दिएको छ । हामी विभिन्न क्षेत्रमा भारतसँग सहकार्य गर्न चाहन्छौँ,’ प्रचण्डले भने । 

दुईपटक प्रधानमन्त्री हुँदा र त्यसबाहेकको अवस्थामा औपचारिक भ्रमणमा जाँदा भारतले दिएको आतिथ्यप्रति प्रचण्डले आभार व्यक्त गरे । ‘प्रमका रूपमा र अन्य वेलामा आउँदा यो महान् देशले मलाई दिएको आतिथ्यप्रति आभारी छु,’ उनले भने । पछिल्लोपटक प्रधानमन्त्री मोदी र देउवाको एक–अर्को मुलुकको भ्रमणले सम्बन्धमा नयाँ गति दिएको उनले बताए ।

नेपाली समुदायसँग बेग्लै छलफल
अध्यक्ष प्रचण्ड शनिबार बिहान नेपाली राजदूतावासमा आयोजित स्वागत समारोहमा सहभागी भए । दूतावासमा प्रधानमन्त्रीपत्नी डा. आरजु राणा देउवा पनि प्रचण्डसँग भेटवार्तामा सहभागी भइन् । प्रचण्डले अखिल भारत नेपाली प्रवासी एकता मञ्चको संयोजनमा नेपाली समुदायसँग बेग्लै छलफल गरेका छन् । 

माओवादीसँग निकट रहेको अखिल भारत नेपाली एकता समाजमाथि २००२ मा लागेको प्रतिबन्ध फुकुवाको पहल गर्न उनीहरूले प्रचण्डलाई आग्रह गरेका छन् । ‘हामीले भारत सरकारको सम्बद्ध सबै तहमा कुराकानी गर्न अध्यक्षलाई आग्रह गरेका छौँ । नेपालीलाई मताधिकारको अवसर विदेशमा सुनिश्चित गर्न पनि माग गरेका छौँ,’ मञ्चका महासचिव आरबी खड्काले भने, ‘उहाँले सम्बद्ध पक्षसँग कुराकानी गर्ने वचन दिनुभएको छ ।’ 

उनले एम्स अस्पतालमा नेपाली चिकित्सकलाई भारतीयभन्दा थोरै सेवा–सुविधा उपलब्ध भएको विषयमा पनि अध्यक्ष प्रचण्डलाई जानकारी गराएको बताए । भारतीयलाई भन्दा नेपाली चिकित्सकलाई एम्स अस्पतालमा कम सेवा–सुविधा उपलब्ध रहेको खड्काले बताए ।

विदेशमन्त्री जयशंकर र राष्ट्रिय सुरक्षा सल्लाहकार डोभालसँग भेटवार्ता, आज मोदीसँग वार्ता 

प्रचण्डले शनिबार भारतीय विदेशमन्त्री डा. एस जयशंकर र राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालसँग भेटवार्ता गरेका छन् । भेटवार्तामा दुई देशको सम्बन्धबारे छलफल भएको छ । 

बिहान जयशंकरसँग उनको निवासमा र अपराह्न डोभालसँग प्रचण्ड बसेको होटेलमा भेटवार्ता भएको कूटनीतिक स्रोतले जनाएका छन् । ‘भारतीय जनता पार्टीका अध्यक्ष जेपी नड्डाको निमन्त्रणामा भारत भ्रमणमा रहनुभएका प्रचण्डलाई स्वागत गर्न पाउँदा खुसी लागेको छ । आर्थिक सहकार्यमा केन्द्रित भई हाम्रो छिमेकी सम्बन्धलाई सुदृढ बनाउने विषयमा फलदायी छलफल भएको छ,’ जयशंकरले भेटपछि नेपाली भाषामा ट्विटमा भनेका छन्, ‘छिमेकी पहिलो नीतिलाई प्रतिबिम्बित गर्दै नेपालको विकास र समृद्धिको चाहनामा भारत सदैव भरपर्दो साझदार रहनेछ ।’

आइतबार बिहान भारतीय प्रधानमन्त्री मोदीसँग उनको निवासमा शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम छ । प्रचण्डले मोदीसँग ब्रेकफास्टसहित वार्ता गर्ने कार्यक्रम छ । त्यसपछि प्रचण्डले भाजपा अध्यक्ष नड्डासँग भेटवार्ता गर्नेछन् । भाजपाले शनिबार साँझ जारी विज्ञप्तिमा प्रचण्डसँगको भेटवार्तामा आइतबार बिहान भाजपा मुख्यालयमा अध्यक्ष नड्डा, विदेश विभाग प्रमुख डा. विजय चौथाइवाले र भारतीय विदेशमन्त्री जयशंकर सहभागी हुनेछन् । प्रचण्ड आइतबार साँझ स्वदेश फर्किने कार्यक्रम छ ।