मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
आफू र छोरामाथि कुटपिट गर्नेविरुद्ध प्रहरीमा उजुरी दिएपछि पत्रकारसँग कुराकानी गर्दै अनितादेवी
२०७९ असार २८ मंगलबार ०७:५३:००
Read Time : > 1 मिनेट
समाचार प्रिन्ट संस्करण

नयाँ पत्रिका समाचार प्रभाव : मोटरसाइकल चोरीको आरोप लगाउँदै आमाछोरालाई कुटपिट गर्नेविरुद्ध प्रहरीमा मुद्दा दर्ता

Read Time : > 1 मिनेट
२०७९ असार २८ मंगलबार ०७:५३:००

धामीले भनेको भरमा मोटरसाइकल चोरीको आरोप लगाउँदै आमाछोरालाई कुटपिट गरी हात बाँधेर गाउँ डुलाउनेविरुद्ध प्रहरीले मुद्दा दर्ता गरेको छ । सोमबार पीडित अनिता देवी र सुशील मल्लिकले जिल्ला प्रहरी कार्यालय महोत्तरीमा पीडक सीताशरण दाससहित आठजनाविरुद्ध उजुरी दिएका हुन् ।

कुटपिटमा संलग्न मनोजकुमार दास, राजसरोज दास, उपेन्द्र दास, रामभरोस दास, अमितकुमार दास र राजनारायण साहविरुद्ध प्रहरीमा उजुरी परेको छ । एसपी कृष्णप्रसाद पंगेनीले जाहेरी परेको जानकारी दिँदै मुद्दाको प्रक्रिया अघि बढिसकेको र आरोपीहरूलाई पक्राउ गर्न निर्देशनसमेत दिइसकिएको बताए । आफूहरूमाथि कुटपिट गर्नेविरुद्ध जाहेरी लिएर पुगेका अनिता देवी र उनका छोरा सुशीललाई एसपी पंगेनीले ‘कसैको डर नमान्नुहोला, तपाईंसँग प्रहरी छ’ भनेका थिए । सोमबार नयाँ पत्रिकामा कुटपिटसम्बन्धी समाचार पढेपछि तत्कालै घटनाबारे सम्बन्धित चौकीसँग विस्तृत जानकारी लिएको उनको भनाइ छ ।

पंगेनीले घटनाको भिडियोसमेत सार्वजनिक भएकोमा भिडियोले नै पीडितसँग भएको व्यवहारबारे प्रस्ट देखाएको भन्दै आरोपीहरू उम्कन नसक्ने बताए । एसपी पंगेनीले घटनाकै वेला प्रहरीले नै रेस्क्यु गरेर ल्याए पनि प्रहरी पुग्दा हात बाँधेको अवस्थामा नरहेको र उनीसँग यस्तो अमानवीय व्यवहार भएको भन्ने भिडियो तथा प्रत्यक्षदर्शीहरूले समेत तत्काल नबताइदिँदा आरोपीहरू तत्काल छुटेको उल्लेख गर्दै प्रारम्भिक अनुसन्धानमा पीडित वास्तवमै पीडित भएको बुझिन आएको र पछि मात्र भिडियोसमेत प्राप्त भएकाले दिइएको जाहेरीका आधारमा कारबाही प्रक्रिया अगाडि बढ्ने बताए । 

 अपमानजनक अमानवीय व्यवहारको कसुरमा मुद्दा दर्ता
प्रहरीले पीडकविरुद्ध मुलुकी अपराध संहिता २०७४ को परिच्छेद १० को दफा १६८ बमोजिम अपमानजनक अमानवीय व्यवहारको मुद्दा दर्ता गरेको हो । प्रदेश कानुनी सहायता अधिकृत अधिवक्ता मनोजकुमार साहले जाहेरीमा पीडितले भनेबमोजिम धामीले आरोपीलाई भनेको भरमा अमानवीय व्यवहार गरेकोसमेत उल्लेख रहेकोमा प्रहरीले अनुसन्धान गर्दै जाँदा सबै व्यहोरा खुल्ने र पछि यसमा थप मुद्दाका दफाहरू थपिन सक्ने बताए । उनले दफा १६९ समेत आकर्षित भएको बताउँदै १६९ बमोजिम मनासिव क्षतिपूर्तिको समेत माग गरिएको जानकारी दिए ।

मुलुकी अपराध संहिता २०७४ को परिच्छेद १० को दफा १६८ को उपदफा १ मा कसैले कसैलाई अपमानजनक वा अमानवीय व्यवहार गर्न वा गराउनु हँुदैन भन्ने उल्लेख छ । दफा १६८ को उपदफा २ मा उपदफा १ बमोजिमको कसुर गर्ने व्यक्तिलाई पाँच वर्षसम्म कैद र ५० हजार रुपैयाँसम्म जरिवाना हुने उल्लेख रहेको अधिवक्ता साहले बताए । दफा १६९ अनुसार कसुर गर्ने व्यक्तिबाट पीडित व्यक्तिलाई पुगेको क्षति वा पीडाबापत मनासिव क्षतिपूर्ति भराइदिनुपर्ने उनको भनाइ छ ।

 यस्तो थियो घटना
गत साता औरही नगरपालिका–६ वैरियाका सीताशरण दासको मोटरसाइकल घरबाटै चोरी भएपछि उनले प्रहरीमा निवेदन दिए । उजुरी परेपछि प्रहरीले मोटरसाइकल खोजी गर्न थाल्यो । तर, शुक्रबार अचानक दास एक हुल मानिस लिएर राजेन्द्र मल्लिकको घरमा आइपुगे । घरमा कोही नदेखेपछि खोज्ने क्रममा घरभन्दा करिब ५० मिटर अगाडि एक सार्वजनिक दलानमा बाँसको काम गर्दै गरेकी राजेन्द्रकी श्रीमती अनिता देवी, साइँली बुहारी निर्मला देवी र कान्छो छोरा सुशील मल्लिकलाई देखे । दाससँग गएका मानिसहरूले उनीमाथि हमला गरे । बुहारी निर्मलालाई कुटपिट गरेर छेउ लगाए । सुशील तथा उनकी आमालाई कुटपिट गर्दै, घिसार्दै र डोरीले हात बाँधेर सीताशरणको घरमा ल्याएर बन्धक बनाएर राखे । त्यसको केही समयपछि मात्र अनिताका श्रीमान्ले प्रहरी चौकी गई जानकारी गराएपछि प्रहरीले उद्धार गरेर ल्याएको थियो । 

 मानव अधिकार आयोगको चासो 
मानव अधिकार आयोग मधेस प्रदेश कार्यालयले प्रहरी तथा पीडितसँग घटनाबारे जानकारी लिएको छ । इन्सेकका प्रदेश संयोजक राजु पासमान, ओरेक महोत्तरीकी कार्यक्रम अधिकृत लीला दियाली, टिपिओ नेपालकी अञ्जना पराजुली तथा समाजसेवी सविता यादवले पीडितहरूलाई कानुनी, मनोपरामर्श तथा अन्य सहयोग गरिरहेका छन् ।