मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७९ असार २४ शुक्रबार
  • Tuesday, 15 July, 2025
२o७९ असार २४ शुक्रबार १८:४७:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

मल नपाएपछि सुखीपुरका किसान दुःखी, गरे वडा कार्यालयमा तालाबन्दी 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o७९ असार २४ शुक्रबार १८:४७:oo

मल वितरणमा विभेद भएको भन्दै सिराहको सुखीपुर नगरपालिकाका किसानले वडा कार्यालयमा तालाबन्दी गरेका छन् । धान खेतीका लागि डिएपी मल वितरणमा स्थानीय कृषि सहकारी संस्था र वडाध्यक्षले मिलेमतो गरी आफन्तलाई मात्र बाँडेको भन्दै सुखीपुर नगरपालिका–६ बडहरीका किसानहरूले शुक्रबार वडा कार्यालयमा तालाबन्दी गरेका हुन् ।     

घन्टाैँ लाइन लाग्दा पनि वडाध्यक्ष र सहकारी सञ्चालकका आफन्त कसैले एक-एक बोरा  मल पाएको तर कसैले एक किलोसम्म पनि मल नपाएपछि शुक्रबार बिहान कार्यालय खुलेलगत्तै  किसानहरूले तालाबन्दी गरेका हुन् । स्थानीय मातृभूमि कृषि सहकारी संस्थाका सञ्चालक काशी शाह र वडाध्यक्ष रामेश्वर शाहले आफन्त र नजिकका किसानहरूलाई मात्र मल बाँडेको भन्दै किसानहरूले गरेको तालाबन्दी शुक्रबार अपराह्नसम्म नखुलेको स्थानीय अगुवा ओम महतोले बताए ।

लहानस्थित साल्ट ट्रेडिङ् कर्पोरेसनमा आएको ११ हजार छ सय २० बोरा डिएपीमध्ये सुखीपुर नगरपालिकाको १० वटा वडाका किसानहरूका लागि छ सय ५० बोरा डिएपी मल उपलब्ध गराइएको प्रमुख जितेन्द्रकुमार शाहले जानकारी दिए । प्रमुख शाहका अनुसार स्थानीय तहको भूगोलअनुसार जिल्लाका अन्य स्थानीय तहका कृषि सहकारी संस्थाहरूमार्फत वितरण गर्ने गरी कोटाअनुसारको डिएपी मल पठाइएको छ । 

मलका लागि आफन्तलाई सिफारिस
जिल्लास्थित मलखाद आपूर्ति तथा वितरण व्यवस्था समितिको गत ५ वैशाखको निर्णयअनुसार १९ असारदेखि साल्टबाट डिलरसिप लिएका सबै स्थानीय तहका कृषि सहकारीलाई कोटाअनुसार मल पठाइएको छ। सुखीपुर–६ का लागि स्थानीय मातृभूमि कृषि सहकारीलाई वडाध्यक्षले सिफारिस गर्ने र सो सिफारिसअनुसार मल उपलब्ध गराइने भनिए पनि वडाध्यक्ष र सहकारी सञ्चालकको मिलेमतोमा आफन्त र नजिकका किसानलाई मात्र बाँडिएकाले बाध्य भएर तालाबन्दी गर्नुपरेको स्थानीय किसानहरूले बताए । 
    
यसअघि पनि उक्त सहकारीका सञ्चालकले साल्टबाट गाउँका किसानलाई बाँड्न लगेको ५० बोरा मल गाउँ नपुर्याई बीच बाटोमै बिक्री गरेको किसानहरूको आरोप छ । किसानहरूले गरेको तालाबन्दीको विषयमा बुझ्न खोज्दा वडाध्यक्ष शाह सम्पर्कमै आउन चाहेनन् । 

आफ्नो देशमा आएको थोरै मलमा पनि सहकारी सञ्चालक र जनप्रतिनिधिले मनोमानी गरेर मल वितरण गरेपछि भारतको सीमावर्ती लदनियाँ बजारबाट मल ल्याउन खोज्दा भारतीय सुरक्षाकर्मीले अवरोध गरेको स्थानीयको गुनासो छ । 

जिल्लामा धान र गहुँ खेतीका लागि वार्षिक रूपमा चार लाख बोरा (२० हजार मेट्रिक टन) युरिया र दुई लाख ५० हजार बोरा (१२ हजार पाँच सय मेट्रिक टन) डिएपी चाहिने भए पनि मागअनुसार आपूर्ति नहुँदा खेतीपातीको समयमा प्रायः हरेक वर्ष मलको अभाव हुने गरेको साल्टका प्रमुख शाहले बताए ।