मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ असार २१ मंगलबार ०८:१६:००
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

पाटन उच्च अदालतका कर्मचारीबीच कुटाकुट, दुवै पक्षबीच आज छलफल गराइने

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ असार २१ मंगलबार ०८:१६:००

पाटन उच्च अदालतका उपरजिस्ट्रार र रमेश श्रेष्ठ तथा शाखा अधिकृत हिरालाल भुसालबीच कुटपिट भएको घटनामा मंगलबार छलफल हुने भएको छ । पाटनका रजिस्ट्रार ठगीन्द्र कट्टेलले आफूले यी विषयमा सुनेको र के भएको हो बुझ्न दुवै पक्षलाई मंगलबार बोलाएको बताए । ‘सोमबार सम्माननीयज्यू निरीक्षणमा आउनुभएको थियो । पाँचवटा छुट्टाछुट्टै बैठक आयोजना गरिएको थियो । मैले केही बुझ्न पाइनँ । दुवै पक्षलाई मंगलबार बोलाउने कुरा छ,’ उनले भने । 

सोमबार कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीले पाटन र मातहतका अदालतको निरीक्षण गरेका थिए । सो क्रममा कर्मचारी, वकिल, न्यायाधीशलगायतसँग उनले भेटेका थिए । पाटनमा शाखा अधिकृत भुसाल र उपरजिस्ट्रार श्रेष्ठबीच सेवाग्राहीलाई म्याद दिने विषयमा कुरा नमिल्दा कुटाकुट भएको थियो । आइतबार दिउँसोको यो घटनाको भोलिपल्ट श्रेष्ठ उपस्थित भए पनि शाखा अधिकृत भुसाल भने कार्यालय आएका थिएनन् । ‘एकजनाले म्याद बुझेनछन् । अनि अदालतमा म्याद बुझ्न आउँदा शाखा अधिकृतले त्यहीँबाट लिन मिल्छ भनेछन् । तर, उपरजिस्ट्रारले हुन्न भनेछन् । त्यति मात्र भने त हुन्थ्यो, फाइल नै मुखैमा फाल्दिएछन्,’ पाटनका एक कर्मचारीले भने । 

उपरजिस्ट्रारले सेवाग्राहीलाई झन्झट दिन खोजेको, तर शाखा अधिकृतले कानुनले भने म्याद दिन मिल्ने कुरा झिकेपछि विवाद उत्पन्न भएको थियो । उपरजिस्ट्रारको कक्षमा सिसिटिभी नभएकाले उनीहरूको भनाइ के हो आफूले बुझ्ने रजिस्ट्रार कट्टेलको भनाइ छ । पाटन स्रोतका अनुसार अधिकृत भुसाल न्याय सेवामा प्रवेश गर्नु अघि नेपाल प्रहरीको असइ थिए । 

‘उपरजिस्ट्रारको के थियो खै, मिल्ने कुरामा पनि मिल्दैन भनेपछि विवाद सुरु भएको हो । अहिले युवा अधिकृतहरू एकातिर र पुराना कर्मचारीहरू उपरजिस्ट्रारको पक्षमा भएका छन्,’ पाटनका एक अधिकृतले भने । उनका अनुसार उच्च अधिकृतहरूले सेवाग्राहीको काममा ढिलाइ गर्ने र आर्थिक प्रलोभनको नियतले व्यवहार गर्छन् । 

अर्कातिर रजिस्ट्रार कट्टेलले भने शाखा अधिकृतको दोष भएको संकेत गरे । ‘अब जसको दोष देखिन्छ, उसले आत्मालोचना गर्ने कि के गर्ने भोलि नै थाहा हुन्छ । तर, केहीमा कर्तव्यबोध नहुने र अधिकारको मात्र जानकारी हुने प्रवृत्ति छ । उपरजिस्ट्रारको पद निकै मर्यादित हो,’ उनले भने ।