१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७९ असार २० सोमबार ११:१६:००
Read Time : > 2 मिनेट
समाचार डिजिटल संस्करण

कृषिप्रतिको मोह : विदेशको कमाइ नेपाली माटोमा पोख्दै ज्ञवाली परिवार

Read Time : > 2 मिनेट
२०७९ असार २० सोमबार ११:१६:००

कृषिप्रधान देशमा कृषि पेसा सम्मानित बन्न सकेन । त्यसैले झट्ट कृषि कर्ममा कसैले मन गर्दैनन् । तर, रुरु क्षेत्र गाउँपालिका– ४ चौताराको एउटा ज्ञवाली परिवार नै व्यावसायिक कृषिमा होमिएकाे छ । कमल ज्ञवाली उमेरले ३० वर्षका भए । ०६७ सालमा व्यावसायिक कुखुरा पालेका ज्ञवाली केही वर्ष पहिले फर्म नै खाली हुने गरी कुखुरा मरेपछि परदेश पसेका थिए । ०७१ सालमा १२ सय कखुरा एकैचोटि मरे । ऋणधन गरेको लगानी डब्यो । राज्यका तर्फबाट केही सहयोग र पहल भएन । कृषि कर्ममा मन मरेपछि ०७२ साल युएई गए । तीन वर्ष काम गरे । ०७५ सालमा एक छुट्टी घर आएर फेरि परदेश फर्किए । परदेशमा काम सजिलो र दाम पनि राम्रो थियो । तर, कमलको सोच परिवर्तन भयो । होटेल म्यानेजमेन्ट अध्ययन गरेका कमल ज्ञवाली बुटवलमा होटेल सञ्चालन गर्ने योजना बनाएर वर्ष दिन नपुग्दै गाउँ आए । तर, होटेल खोल्ने मनस्थिति पनि परिवर्तन गरेर व्यावसायिक तरकारी खेती सुरु गरे । 

उत्पादन र बजारले उत्साह
गाउँ आएपछि चार वर्षदेखि व्यावसायिक तरकारी खेतीमा कमलको परिवार नै भिडेको छ । अहिले ५२ रोपनी बारीमा साढे २२ हजार टमाटर र १२ हजार भेँडेखोर्सानी (क्याक्सिकम) लगाएका छन् । १२ रोपनीमा ५४ वटा टनेल बनाएर क्याप्सिकम रोपेका ज्ञवालीले अहिलेसम्म ८० क्विन्टल बिक्री गरिसके । अझै ७० देखि ८० क्विन्टल क्याप्सिकम टिप्न बाँकी छ । बजारमा प्रतिकिलो ९० देखि सयको बीचमा क्याप्सिकम बिक्री भइरहेको ज्ञवालीले बताए । त्यस्तै, आधुनिक प्रविधिको एन्टिझिल्नेट सिस्टममार्फत २२ हजार टमाटरका बिरुवा रोपेका थिए । उनले अहिलेसम्म टमाटर लगभग साढे सात सय क्विन्टलभन्दा बढी बिक्री गरेको बताए । अझै करिब अढाई सय क्विन्टल टमाटर टिप्न बाँकी छ । टमाटर ७० देखि ८० रुपैयाँको बीचमा बिक्री भएको छ । ज्ञवाली परिवारले सबै जग्गा लिजमा लिएकाे छ । वर्षमा एक लाख २० हजार जग्गाको भाडा तिर्नुपर्छ । यो वर्ष टमाटर र क्याप्सिकमबाट ५० देखि ६० लाखको कारोबार हुने अपेक्षा ज्ञवाली परिवारले गरेकाे छ । गत वर्ष टमाटर, काेपी र सिमी गरेर ३८ लाखबराबरको कारोबार गरेका थिए । 

परिवार नै कृषि कर्ममा
कमल आफू मात्रै कृषिमा होमिएका होइनन् । उनको परिवार नै कृषि कर्ममा छ । कमलले आफू परदेशबाट फर्केर व्यावसायिक कृषि थालेपछि २० वर्षदेखि परदेशमा काम गरेका बुबा ५१ वर्षीय लक्ष्मण ज्ञवालीलाई पनि घर फर्काए  भने आमा लक्ष्मी ज्ञवाली धेरै पहिलेदेखि नै गाउँमा तरकारी खेती गर्थिन् । अहिले बुबा–आमा, कमल र उनकी श्रीमती मनीषा तथा भाइ कोपिल र बुहारी रचना फर्ममा काम गर्छन् । आवश्यकता र कामको मौसमअनुसार आठदेखि १० जनाले काम पनि पाएका छन् । यो परिवारको कृषि उत्पादनलाई बजारको समस्या छैन ।  १० प्रतिशत उत्पादन तम्घास र ९० प्रतिशत बुटवल जाने गरेको भाइ कोपिल ज्ञवालीले बताए । ज्ञवाली परिवारलाई कृषि ज्ञान केन्द्रको यो वर्ष आठ लाख अनुदान दिने कार्यक्रम रहेको छ । जसमध्ये पाँच लाख प्राप्त गरेका छन् । केन्द्रले अनुदानसहित काममा उत्साह थप्ने काम भएको ज्ञवाली परिवारले बताए । बलेटक्सार भौगोलिक अवस्थाका कारण पानीको समस्या भएको ठाउँ हो । तर, फर्मको आफ्नै लगानीमा ६ सय मिटर तलबाट मटरले पानी तानेर सिँचाइ गरिरहेका छन् । 

कमलका बुबा लक्ष्मण ज्ञवाली जोहोकै लागि घर छोडेका २३ वर्ष परदेश बसे । सन् १९९७ बाट घर छोडेका ज्ञवालीले २० वर्ष त युएईमा काम गरे । दुई वर्षदेखि घरमै आएर परिवारसँग कृषि कर्म गरिरहेका छन् । परदेशको कमाइले ठूलै प्रगति नभए पनि परिवार राम्रोसँग पाले । अहिले जोसले काम गर्ने उमेर छैन । तर, ज्ञवाली छोराहरूले व्यावसायिक कृषि गरेको देखेर खुसी छन् । ‘म बरु धेरै वर्ष परदेश बसेर गल्ती गरेँछु,’ उनले भने, ‘छोराहरूसँगै व्यवसाय राम्रो गरेका छौँ, मैले पनि हौसला थपिरहेको छु ।’