मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
प्रेम गौतम काठमाडाैं
२०७९ असार २० सोमबार ०६:५३:००
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

निर्वाचनपूर्व वाम ध्रुवीकरणको प्रयास

सहकार्यको मोडालिटी खोजी, निर्वाचनअघि कांग्रेस र एमालेबाहेकको तेस्रो शक्तिशाली धार बनाउने रणनीति

Read Time : > 1 मिनेट
प्रेम गौतम, काठमाडाैं
२०७९ असार २० सोमबार ०६:५३:००

समाजवादी वैकल्पिक क्रान्तिकारी धार निर्माण गर्ने प्रस्ताव केन्द्रीय समिति बैठकमा पेस गरेलगत्तै माओवादी अध्यक्ष प्रचण्डले तत्कालीन नेकपाको सचिवालयका बहुमत सदस्यको बैठक गरेका छन् । प्रचण्डको अग्रसरतामा आइतबार सा“झ एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, सम्मानित नेता झलनाथ खनाल, नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतम र माओवादी नेता नारायणकाजी श्रेष्ठबीच वाम धु्रवीकरणको विषयमा छलफल भएको छ ।

 एकीकृत समाजवादीका सम्मानित नेता खनालले वाम एकतालगायतका विषयमा प्रारम्भिक छलफल भएको र फेरि चाँडै छलफलमा बस्ने समझदारी भएको जानकारी दिए । ‘पाँचजना बसेर अहिले देशको परिस्थिति, स्थानीय तह निर्वाचनको परिणामबारे समीक्षा ग¥यौँ । वाम आन्दोलनको भविष्यबारे पनि हामीले समीक्षा गरेका छौँ । हाम्रो जोड वाम एकतामा छ,’ खनालले नयाँ पत्रिकासँग भने, ‘छलफलको सुरुवात भएको छ । आजै टुंगोमा पुग्ने कुरो भएन, क्रमशः छलफल गर्दै जान्छौँ । चाँडै अर्को छलफलमा बस्छौँ ।’

प्रचण्डको सचिवालयका अनुसार ‘वर्तमान राष्ट्रिय राजनीति, राष्ट्रिय स्वाधीनताको स्थिति, स्थानीय निर्वाचन, वाम तथा समाजवादी आन्दोलन, कांग्रेससँगको गठबन्धन’का विषयमा छलफल भएको छ । छलफललाई निरन्तरता दिने समझदारी पाँच नेताबीच बनेको उनको सचिवालयले जनाएको छ । बैठकमा नेताहरूले सहकार्यको मोडालिटी कस्तो बनाउने भन्नेबारे पनि छलफल गरेका छन् । तर, टुंगोमा पुग्न सकेका छैनन् । पहिलो चरणमा एकताको सामूहिक अपिल गर्नेबारे विमर्श भएको छ । प्रचण्डले पार्टी केन्द्रीय समिति बैठकमै भनेका थिए, ‘नेकपाकालीन सचिवालयका बहुमत सदस्य एकजुट भएर कम्युनिस्टहरूको एकताका लागि अपिल गर्ने तयारी भइरहेको छ । चाँडै हुन्छ ।’ 

माओवादी, एकीकृत समाजवादी र नेकपा एकता राष्ट्रिय अभियान वाम धु्रवीकरणको पक्षमा छन् । निर्वाचनअगाडि कांग्रेस र एमालेबाहेकको तेस्रो शक्तिशाली धार बनाउने उनीहरूको रणनीति छ । सोहीअनुसार छलफलको सुरुवात भएको एक नेताले बताए । नेकपा पुनर्गठनको अभियान चलाएका गौतमले वाम एकताका लागि सबै शक्ति लचिलो हुनुपर्नेमा जोड दिएका थिए । वाम शक्ति विभाजित हुँदा स्थानीय निर्वाचनमा धक्का खानुपरेको र संघीय निर्वाचनमा झन् ठूलो असर पर्ने गौतमले बताएका थिए । 

स्रोतका अनुसार वाम एकता र कम्युनिस्ट आन्दोलनको इतिहासबारे नेताहरूबीच छलफल भएको थियो । नेकपा ब्यँुताउने र मजबुत कम्युनिस्ट पार्टी निर्माण गर्ने विषयमा केन्द्रित भएर छलफल भएको छ । ‘विभाजित भएको कम्युनिस्ट आन्दोलनले देश र जनताको हितमा काम गर्न सक्दैन । कम्युनिस्ट शक्ति मिल्दा शान्तिपूर्ण रूपमै देश कायापलट गर्न सकिन्छ’ भन्ने आशय पाँचै नेताको थियो । सकभर सबै वाम शक्तिबीच सहकार्य गरेर अगाडि बढ्ने र त्यो सम्भव नभए बढीभन्दा बढी शक्तिलाई एकताबद्ध गर्दै अगाडि बढ्ने समझदारी पाँच नेताबीच भएको छ । 

प्रचण्डले आफ्नो प्रतिवेदनमा समाजवादी कार्यदिशा अवलम्बन गर्ने पार्टी, शक्ति र व्यक्तित्वहरूको तत्कालको मोर्चा निर्माण आवश्यक रहेको बताएका छन् । क्रान्तिकारी शक्ति निर्माणजस्ता विषयमा खुला छलफल र बहस गर्नुपर्ने प्रचण्डको प्रस्ताव छ । क्रान्तिकारी धारले केपी ओली प्रवृत्तिको दक्षिणपन्थी धारलाई कमजोर पार्ने, संविधान र आन्दोलनका उपलब्धिलाई खोस्न उद्यत् प्रतिगामी प्रवृत्तिलाई पराजित गर्ने विश्वास प्रचण्डको छ ।