मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७९ असार २० सोमबार ०६:२२:००
Read Time : > 2 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

बाजुराको भवानी माविका ११ शिक्षक एकैपटक बिदामा

दुई शिक्षकको भरमा विद्यालय, धुलोमा खेलेर फर्किन्छन् विद्यार्थी

Read Time : > 2 मिनेट
२०७९ असार २० सोमबार ०६:२२:००

शुक्रबार बाजुराको हिमाली गाउँपालिका– ६ को धुलाचौरस्थित भवानी माध्यमिक विद्यालयमा पुग्दा बिहानको पौने ११ बजिसकेको थियो । तर, सबै कक्षाकोठा सुनसान थिए । विद्यार्थी चौरमै खेलिरहेका थिए । उनीहरूसहित विद्यालयको फोटो खिचेको देखेपछि एक विद्यार्थी दौडिएर शिक्षकको कार्यकक्षमा पुगे । भित्र रहेकी शिक्षिकाको आदेशपछि उनैले हथौडा लिएर घण्टी बजाइदिए । चौरमा खेलिरहेका सबै विद्यार्थी कक्षाकोठामा छिरे । तर, शिक्षक नछिरेपछि उनीहरूले हल्लाखल्ला गरेरै समय बिताए ।

११ शिक्षक एकैपटक बिदामा बस्दा पठनपाठनमा समस्या भएको विद्यार्थीको गुनासो छ । आठ शिक्षक एक महिनादेखि विद्यालय नआएको उनीहरूले बताए । तीन शिक्षक एक सातायता एकपछि अर्को गर्दै अनुपस्थित छन् । ‘चुनावपछि २० जेठदेखि विद्यालय खुलेको हो । तर, आठ शिक्षक–शिक्षिका एक दिन पनि विद्यालयमा आउनुभएको छैन । अन्य तीन शिक्षक–शिक्षिका पनि एक सातायता एकपछि अर्को गर्दै आउन छाड्नुभएको छ,’ १० कक्षामा पढ्ने एक विद्यार्थीले नाम सार्वजनिक नगरिदिन आग्रह गर्दै गुनासो गरे । 

पालिकाले करारमा नियुक्त गरेका झरीलाल यादव, सरिता सञ्जायल, देवकन्या भण्डारी, कर्णवीर सार्की, जगलाल सार्की, लक्ष्मण पाण्डे, टकंप्रसाद पाण्डे र मैना पाण्डे एक महिनादेखि विद्यालय नआएका हुन् । त्यस्तै, करारकै अन्य शिक्षकहरू भानुभक्त खत्री, रिता न्यौपाने र सविना शाही एक सातायता अनुपस्थित छन् । निमित्त प्रधानाध्यापक देबुकुमारी मल्ल (स्थायी) र करारका मावि शिक्षक यामलाल तिमिल्सेना मात्रै विद्यालयमा उपस्थित छन् ।

शुक्रबार विद्यालयमा भेटिएकी निमित्त प्रअ मल्लले ११ शिक्षक बिदामा रहेको स्विकारिन् । शिक्षक सेवा आयोगको पहिलो पेपरमा नाम निकालेका केही शिक्षक दोस्रो पेपरको तयारीका लागि, कोही शिक्षककै लाइसेन्सको परीक्षाका लागि र कोही अन्य कामविशेषले बिदामा बसेको उनको भनाइ छ । को कहिलेदेखि बिदामा बसेको भन्ने प्रमाण पेस गर्न आनाकानी गरेकी उनले सबै मौखिक रूपमै बिदामा बसेको बताइन् । 

‘११ शिक्षक–शिक्षिका कामविशेषले बिदामा हुनुहुन्छ । अध्ययन गर्न जान्छु भनेपछि नजाऊ भन्न मिलेन । अहिले म र करारका मावि शिक्षक यामलाल तिमिल्सेना मात्रै नियमित उपस्थित छौँ,’ मल्लले भनिन् । उनी प्राविकी स्थायी शिक्षक हुन् । स्थानीय तह निर्वाचनका लागि प्रधानाध्यापक दलबहादुर मल्लले राजीनामा दिएपछि उनी निमित्त प्रअ बनेको चार दिन मात्रै भयो । शिक्षक अभावका कारण तिमिल्सेनाले कक्षा ६ देखि १० सम्मका विद्यार्थीलाई एउटै कोठामा राखेर पढाउने गरेका छन् । ‘धेरै शिक्षक बिदामा हुनुहुन्छ । त्यसैले ६ देखि १० सम्मका विद्यार्थीलाई एउटै कोठामा राखेर पढाउन बाध्य छु,’ तिमिल्सेनाले भने । 

विद्यालयमा दुई सय २१ विद्यार्थी छन् । शिक्षक नै नभएपछि अधिकांश विद्यार्थी विद्यालय आउनै छाडिसकेका छन् । विद्यालय आएकामध्ये पनि अधिकांश दिनभर धुलोमा खेलेर घर फर्किने गरेका छन् । ‘पढाउने शिक्षक नै हुनुहुन्न । हामी त खेल्ने, घर फर्किने हो,’ कक्षा ७ की पुष्पा पाण्डेले भनिन् । गाउँपालिका शिक्षा शाखा प्रमुख कवीन्द्रराज पाण्डेले शिक्षकहरूको निगरानी विद्यालय व्यवस्थापन समितिले गर्ने भएकाले आफूहरू जिम्मेवार नरहेको जवाफ दिए । कोही शिक्षक परीक्षाका लागि बिदामा रहेको हुन सक्ने उनले बताए । 

१० कक्षाका विद्यार्थीलाई एसइईको चिन्ता
निर्वाचनपछि विद्यालय खुलेको एक महिना भयो । तर, आठ शिक्षक पढाउनै नआउँदा विद्यार्थीको पाठ अघि बढेको छैन । सोमबारदेखि एक महिनाका लागि फेरि विद्यालयले बर्खे बिदा गर्दै छ । ‘एक महिनासम्म केही पढ्न पाइएको छैन । फेरि एक महिना बर्खे बिदा हुँदै छ । पढाइ नै नभएपछि एसइई कसरी दिने हो चिन्ता बढेको छ,’ कक्षा १० की हिमा उपाध्यायले गुनासो गरिन् ।

दैनिक हाजिरी हुने विद्यार्थीको पढाइ हुँदैन, शिक्षकलाई एकैपटक हाजिरी गरेर तलब 
भवानी माविमा शिक्षक अभावमा पढाइ नभए पनि विद्यार्थीको दैनिक हाजिरी हुन्छ । दैनिक हाजिर गरेर घर आउने गरेको कक्षा १० मा अध्ययनरत चरित्र पाण्डेले बताए । तर, हप्तौँ बिदामा बस्ने शिक्षकले भने महिनामा एकैचोटि हाजिरी गरेर तलब लिने गरेका छन् । करारमा शिक्षक राखेको गाउँपालिकाले भने यसप्रति बेमतलब गरेको अभिभावक प्रमानन्द पाण्डेको गुनासो छ ।