मैले सिनेमामा शब्द र संगीत भर्न थालेको १४ वर्ष भयो । सुरुदेखि नै वर्षमा कम्तीमा २–४ वटा हिट गीत दिएको छु । अहिलेसम्म ५० भन्दा बढी गीत हिट भइसकेका छन् । यो मेरा लागि उपलब्धिसँगै चुनौती पनि होे । चुनौती यस अर्थमा कि हरेकपटक राम्रो गर्नुपर्ने दायित्वबोध हुन्छ ।
रोमान्टिक शैलीका गीत धेरै गरेको छु । हरेक प्रेमीले गाउने खालका गीत सिर्जना गर्न मन लाग्छ । त्यस्ता गीत सिर्जना गर्न सजिलो पनि छैन । मैल गीत सिर्जना गर्नुअघि बजारमा कस्ता गीत आइरहेका छन् भनेर रिसर्च गर्छु । विश्वको गीतसंगीत कता गइरहेको छ भनेर पनि ख्याल गर्छु ।
मलाई गीत सिर्जना गर्ने यही समय हुनुपर्छ भन्ने छैन । हरेक पलमा जहाँ पनि गीत सिर्जना गरिरहेको हुन्छु । संगीत नै व्यवसाय भएकाले मैले स्तरीय गीतसंगीत उत्पादन गर्नुपर्छ । त्यसैले कतै हिँड्दा, बस्दा वा कोहीसँग कुरा गर्दा पनि शब्द फुर्नासाथ मनमा शब्द लेखिहाल्छु । कतिपय अवस्थामा सिनेमा संवादबाट पनि गीत जन्मिन्छन् ।
एउटा गीतका लागि दुई लाख ५० हजार पारिश्रमिक लिन्छु । तर, यति पारिश्रमिक पनि महँगो भयो भन्छन् । त्यसमा पनि खर्च धान्न हम्मे–हम्मे पर्छ
सर्जकलाई पारिश्रमिक कम दिन्छन्
सिनेमा चलाउन पनि मेरो गीतले निकै सहयोग गरेको छ । तर, हामी सर्जकका लागि भने पारिश्रमिक कम दिइन्छ । सिनेमाका लागि कुनै नायकले ५० लाख माग्यो भने उसले ५० लाख एक्लैले पाउने हो । तर, संगीतकारको हकमा त्यो हुँदैन । त्यसमा हामीले गायक–गायिकालाई पनि दिनुपर्छ । गीत चल्न ७० प्रतिशत अडियो राम्रो हुुनुपर्छ । हिरो–हिरोइनलाई डान्स गराउँदैमा गीत चल्छ भन्ने पनि कतिपयलाई लाग्ला, यो साँचो होइन ।
मैले एउटा गीतका लागि दुई लाख ५० हजार पारिश्रमिक लिन्छु । तर, यति पारिश्रमिक पनि महँगो भयो भन्छन् । त्यसमा पनि खर्च धान्न हम्मे–हम्मे पर्छ । जबकि, गीत लेख्न र संगीत भर्न सजिलो छैन । निर्माता निर्देशकसँग बसेर गीत सुन्नुपर्यो । गीत आफै लेखेर सुनाउनुपर्छ । एउटा गीत फिनिसिङ गर्ने ‘प्रोसेस’ लामो छ । एउटा गीतका लागि पाँच लाख पारिश्रमिक राख्दा पनि फरक पर्दैन । सिनेमाको एउटा गीतले २०–२५ लाखसम्म आम्दानी गर्छ ।
सिनेमामा चारवटा गीत राखिएको हुन्छ । ती चारवटै गीतको कमाइ जोड्दा निर्मातालाई मनग्य फाइदा हुन्छ । अर्थात्, हाम्रो मिहिनेतले रिटर्न पनि दिएको छ । तर, हिरो–हिरोइनमा लगानी गर्दा निर्माता डुब्नुपर्ने अवस्था छ । सिनेमाको गीतभन्दा आफ्नै लगानीमा गीत निर्माण गरेर बजारमा ल्याउँदा मलाई फाइदा छ । गायक–गायिकलाई स्टेज कार्यक्रमबाट पनि आम्दानी हुन्छ ।
अब गायक–गायिकाले गाएको गीतको रोयल्टी गीतकारलाई पनि दिनुपर्छ । गीतकार, संगीतकार, निर्माताहरू बाँचे मात्रै राम्रो गीत–संगीत उत्पादन हुन्छ । नयाँ गायक–गायिका र निःशुल्क गीत गाउनेका हकमा यो लागू नहोला । तर, गिनेचुनेका गायक–गायिकाले स्टेज कार्यक्रमबाट लिएको पैसाको केही रोयल्टी सर्जकलाई पनि दिने बानी बसाल्नुपर्छ । यस्तो भयो भने गीतकार पनि बाँच्ने आधार बन्छ ।