मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ असार १९ आइतबार
  • Thursday, 19 December, 2024
तिवारी यादव वीरगन्ज
२o७९ असार १९ आइतबार o७:५२:oo
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

रंगविहीन नारायणी रंगशाला

स्थानीय तह, प्रदेश र संघीय सरकारले संरक्षणमा उदासीनता देखाउँदा रंगशाला जीर्ण

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o७९ असार १९ आइतबार o७:५२:oo

वीरगन्जको नारायणी रंगशाला आवश्यक संरक्षण अभावमा रंगविहीन बनेको छ । ०४३ सालमा स्थापना भएको यो रंगशाला संरक्षणमा स्थानीय तह, प्रदेश र संघीय सरकारले देखाएको उदासीनताका कारण जीर्ण अवस्थामा पुगेको हो । 

तत्कालीन अञ्चलाधीश लक्ष्यबहादुर गुरुङको पहलमा निर्माण गरिएको नेपालको दोस्रो रंगशालाका प्याराफिट जुनसुकै वेला खस्ने अवस्थामा पुगेको खेलाडीहरू गुनासो गर्छन् । रंगशालाको जीर्ण अवस्थाले आसपासका खेलप्रेमीसमेत निराश बनेका छन् ।

नारायणी रंगशाला मात्रै होइन, छेउकै क्रिकेट मैदान पनि खण्डहरमा परिणत हुन लागेको वीरगन्ज–१२ मुर्लीका मेराजुल हवारीले गुनासो गरे । ३५ वर्ष पुरानो मैदान अहिले जीर्ण अवस्थामा पुगेको छ ।

१८ बिघा क्षेत्रमा फैलिएको क्रिकेट र फुटबल मैदान जीर्ण बन्दै जाँदा वीरगन्जमा खेलकुद गतिविधिमा समेत कमी आएको छ । जसले खेलप्रेमीलाई मात्रै निराश बनाएको छैन, राष्ट्रिय खेलाडी उत्पादनमा समेत गिरावट आएको फुटबल खेलाडी कृष्णा शाक्यले बताए । उनका अनुसार रंगशाला पुनर्निर्माणका लागि डिपिआर तयार गरिएको छ, तर त्यो डिपिआरअनुसार काम हुन सकेको छैन ।

डिपिआरअनुसार दुई अर्ब ६४ करोडको लागतमा पुनर्निर्माण हुनुपर्ने नारायणी रंगशालामा नेपाल सरकारले चाहेजति बजेट नछुट्याएका कारण रंगशाला पुनः निर्माण हुन सकेको छैन ।
नेपाल सरकारले गत आर्थिक वर्ष ०७५÷७६ मा ७५ लाख र ५० लाख गरी एक करोड २५ लाख बजेट छुट्याएको थियो । उक्त रकमले रंगशालाको जग्गा संरक्षणका लागि पर्खाल र कार्यालयको मर्मत–सम्भार गरिएको थियो ।

तर, डिपिआरअनुसारको भौतिक संरचना निर्माणका लागि ०७६÷७७ मा सात करोड बजेट छुट्याइएको थियो । तर, कोरोना संक्रमण महामारीका कारण कुनै काम हुन नसक्दा उक्त बजेट फ्रिज भएको थियो ।त्यसयता ०७७÷७८ मा सोही बजेटमा अहिले प्याराफिट निर्माण भइरहेको छ । रंगशालाको दक्षिणपूर्वतर्फ रहेको ८० मिटर प्याराफिट पुनः निर्माण भइरहेको छ ।

रंगशालामा खेलाडी होइन लागुऔषध सेवनकर्ता भेटिन्छन्

नारायणी रंगशालामा अहिले खेलाडी होइनन्, लागुऔषध सेवनकर्ता भेटिन्छन् । बिहान र साँझमा लागुऔषध दुव्र्यसनीहरू प्याराफिटको तल बसेर निर्बाध रूपमा लागुऔषध सेवन गरिरहेको देखिने स्थानीयको भनाइ छ । रंगशालामा लागुपदार्थ सेवनकर्ता र अन्य व्यक्ति धेरै हुने हुँदा अभ्यास गर्न समस्या हुने गरेको खेलाडीहरू बताउँछन् ।

खेलाडी र लागुऔषध दुव्र्यसनीबीच कैयौँपटक झगडासमेत भइसकेको छ । भिआइपी प्याराफिटमा दिउँसै लागुऔषध सेवनकर्ता भेटिने गरेको स्थानीयको भनाइ छ । यसतर्फ प्रहरी प्रशासनको आँखा नपुगेकोप्रति स्थानीयको गुनासो छ   ।

प्रतियोगिता नै हुन छाडे 
मधेस प्रदेशमा नारायणी रंगशालाजत्तिको पूर्वाधार र जग्गा अन्य जिल्लामा नभएको मध्यमाञ्चल खेलकुद विकास समितिले जनाएको छ । तर, मुलुककै प्रमुख आर्थिक तथा व्यापारिक नगरी भएर पनि खेलकुद पूर्वाधारको समयमै संरक्षण र मर्मतसम्भार नहुँदा खेलकुदमा वीरगन्ज पछाडि पर्दै गएको छ । 

पछिल्लो समय संरक्षण अभावमा जीर्ण बनेको रंगशालाको उत्तर र दक्षिणपट्टिका प्याराफिटमा राष्ट्रिय खेलकुल परिषद्ले दर्शक प्रवेश निषेध गरेको छ । प्याराफिटमा दुई दर्जनभन्दा बढी ठाउँमा प्वाल परेका छन्  । डन्डी खिया लागेर बांगिएका छन् । स्थानीयले डन्डी झिकेर बिक्रीसमेत गर्ने गरेका छन्  । प्याराफिट भत्किएको छ । 

विगतमा यस रंगशालामा बृहत् राष्ट्रिय खेलकुद, तेजबहादुर गोल्डकप, महेन्द्र गोल्डकप र लक्ष्मण थापा गोल्डकप तथा एएफसी यू–१६ छनोट प्रतियोगिता आयोजना हुने गरेका थिए । गोल्डकपमा नेपाल र भारतका सुपर डिभिजनका टिमले सहभागिता जनाउँथे । तर, ०५८ मा लक्ष्मण थापा गोल्डकपपछि करिब १६ वर्ष कुनै ठूला प्रतियोगिता आयोजना भएनन् ।

१८ बिघा जग्गा, भौतिक संरचना तथा डिपिआरसमेत तयार भइसके पनि यसलाई बेवास्ता गर्दै प्रदेश सरकार जनकपुरमा भाडामा जग्गा लिएर रंगशाला निर्माणमा जुटेका कारण पनि नारायणी रंगशाला झन् जीर्ण हुन पुगेको हो ।