मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ असार १८ शनिबार ०८:५१:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

निगमको टिकट बुकिङ गर्न मिल्ने वेबसाइट सुरु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ असार १८ शनिबार ०८:५१:००

नेपाल वायुसेवा निगम (नेवानि)ले ६४औँ वार्षिकोत्सवको अवसर पारी नयाँ वेबसाइट सञ्चालनमा ल्याएको छ । शुक्रबार पर्यटनमन्त्री जीवनराम श्रेष्ठले नयाँ वेबसाइट शुभारम्भ गरेका हुन् । नयाँ वेबसाइटमार्फत यात्रुलाई नेपाल एयरलाइन्सको टिकट बुकिङ गर्न सहज हुने बताइएको छ । एक महिनाभित्र यात्रुहरूले अनलाइन बुकिङ प्लेटफर्ममार्फत घरमै बसी–बसी टिकट काट्न सक्ने निगमका महाप्रबन्धक दीपुराज ज्वारचनले बताए ।

निगमको नयाँ वेबसाइटमा च्याटबक्सको पनि सुविधा छ, जसमा यात्रुहरूले आफ्नो जिज्ञासा र गुनासो राख्न सक्नेछन् । वेबसाइटमा रहेको उडानतालिकाबाट यात्रुहरूले विविध उडान सूचना, गन्तव्य तथा अन्य जानकारीहरू पनि प्राप्त गर्न सक्ने महाप्रबन्धक ज्वारचनले बताए । आगामी दिनमा निगमले अन्तर्राष्ट्रिय उडानको बुकिङसहितको मोबाइल एप, लोयल्टी म्यानेजमेन्ट सिस्टमको सुविधा पनि थप गर्ने भएको छ । यो वेबसाइटमार्फत निगमको फेसबुक, ट्विटर, युट्युब र इन्स्टाग्राममा पनि जोडिन सक्ने सुविधा रहेको छ ।

शुक्रबार निगमको वार्षिकोत्सव समारोहमा ज्वारचनले निगमका अगाडि धेरै चुनौती रहेको औँल्याउँदै सामूहिक प्रयासका माध्यमबाट सफलतातिर लम्किन सकिने विश्वास व्यक्त गरे । ‘नयाँ काम थाल्नेतिर भन्दा पहिलो चरणमा पुराना योजनाहरू पूरा गर्नेतिर निगमले प्रयास थालेको छ, भविष्यमा निगमका हितमा हुने कार्यनीति र कार्यक्रम बनाएर सुधारको थालनी गरिनेछ,’ उनले भने, ‘निगममा आर्थिक सुशासन र बजारमा आफ्नो दरिलो उपस्थिति प्रदर्शन गर्न सधैँ सक्रिय रहनेछौँ ।’ संस्थामा आन्तरिक सुधार गर्दै अन्तर्राष्ट्रिय जगत्मा निगमको प्रतिष्ठा बढाउन कुनै कसर बाँकी नराख्ने उनको भनाइ थियो ।