मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ असार १७ शुक्रबार ०६:२३:००
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

सेप्टेम्बरसम्म भैरहवाबाट चार कम्पनीले अन्तर्राष्ट्रिय उडान गर्ने

भैरहवामा जजिराको सातामा सातै दिन उडान गर्ने तयारी

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ असार १७ शुक्रबार ०६:२३:००

भैरहवामा निर्माण भएको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल (जिबिआइए)मा सेप्टेम्बरसम्म विभिन्न चार विदेशी वायुसेवा कम्पनीले अन्तर्राष्ट्रिय उडान सुरु गर्ने तयारी थालेका छन् । २ जेठदेखि सञ्चालनमा आएको विमानस्थलमा जजिरा एयरवेजले दैनिक तीनवटा उडान गर्दै आइरहेको छ । अहिले विभिन्न अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीहरूले भैरहवा उडानका लागि अध्ययन र छलफल गरिरहेको गौतम बुद्ध विमानस्थल कार्यालयले जनाएको छ ।

कुवेतको जजिरा एयरवेज भैरहवामा उडान गर्ने पहिलो अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी हो । सातामा तीनवटा उडान गरिरहेको जजिराले आगामी हप्ताभित्र एउटा उडान थपेर साताको चार पु¥याउन लागेको छ । यस्तै, साताको सातै दिन उडान गर्ने तयारी जजिराले गरिरहेको जिबिआइएका प्रवक्ता श्यामकिशोर शाहले बताए । भैरहवाबाट पनि उल्लेख्य यात्रु पाएपछि जजिराले साताको सातै दिन उडान गर्न लागेको उनको भनाइ छ । पश्चिम नेपालबाट वैदेशिक रोजगारीमा जाने यात्रुहरू भैरहवाबाटै विदेश जान थालेका छन् ।

यस्तै, सेप्टेम्बरदेखि हंगेरीको ‘विज एयर’ले भैरहवा उडान गर्न खोजेको प्रवक्ता शाहले जानकारी दिए । विज एयरले एसिया क्षेत्रमा दुबईलाई बेस बनाएर उडान गर्दै आइरहेको छ । यो वायुसेवाले नेपालमा दुबईबाट साताको सातै दिन उडान गर्ने तयारी थालेको उनले बताए । विज एयरले नेपाल उडान गर्न आरआर ग्रुपलाई जनरल सेल्स एजेन्ट (जिएसए) नियुक्त गरिसकेको छ । यो वायुसेवाले नेपाललाई युरोपसँग हवाई सम्पर्कमा जोड्ने हुँदा पर्यटक आगमन पनि बढ्ने अपेक्षा गरिएको छ ।

एयर अरेबिया र फ्लाई दुबईले पनि दसैँअगाडि नै भैरहवा उडान गर्न खोजेको शाहले बताए । एयर अरेबियाले एक दिन अबुधाबी र एक दिन सारजाहबाट सातामा सातै दिन उडान गर्ने तयारी थालेको उनले बताए । तर, हालसम्म कुनै पनि वायुसेवाले भैरहवा उडानका लागि आवेदन भने दिइसकेका छैनन् । आगामी पर्यटकीय सिजनसम्म भैरहवा उडान गर्ने अन्तर्राष्ट्रिय वायुसेवा कम्तीमा चार पुग्ने अपेक्षा रहेको उनले बताए ।

जजिराले भैरहवा उडान गर्दा सुरुदेखि नै राम्रो यात्रु पाइरहेको विमानस्थल कार्यालयले जनाएको छ । पछिल्लो समय वैदशिक यात्रामा जानेहरूका लागि भैरहवामै श्रम कार्यालय स्थापना गरिएको छ । सो कार्यालयले वैदेशिक रोजगारीका लागि आवश्यक सबै प्रकारका सेवाहरू प्रदान गर्ने बताइएको छ । त्यसो त पछिल्लो समय अनलाइनबाटै श्रम स्वीकृति लिन सकिने हुँदा वैदेशिक रोजगारीमा जानेहरू काठमाडौं धाइरहनुपर्ने बाध्यता पनि हटेको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले नयाँ विमानस्थलमा अन्तर्राष्ट्रिय एयरलाइन्स आकर्षित गर्न भारी छुट दिएको हो । १४ जेठ ०७९ मा नयाँ विमानस्थल सेवाशुल्क नियमावली, २०७८ लागू भएपछि एक वर्ष (जेठ ०८०)सम्म अन्तर्राष्ट्रिय उडान गर्ने वायुसेवा कम्पनीले भैरहवामा ल्यान्डिङ, पार्किङ, न्याभिगेसन र सेक्युरिटी शुल्कमा शतप्रतिशत छुट पाउनेछन् । न्यारोबडी जहाज भैरहवा उडान गर्दा काठमाडौंको तुलनामा प्रतिउडान एक लाख रुपैयाँसम्म छुट पाउने प्रवक्ता शाहले बताए । यस्तै, काठमाडौंको तुलनामा भैरहवाबाट पश्चिम उडान गर्दा झन्डै २० मिनेट छिटो हुने हुँदा जहाजको अपरेटिङ कस्ट पनि घट्न जान्छ । त्यसैले पनि भैरहवा उडान गर्न धेरै वायुसेवा कम्पनीले चासो देखाइरहेको जिबिआइएका प्रवक्ता शाहले बताए । जजिरा एयरवेजमार्फत भैरहवा–कुवेत उडान गर्दा यात्रुलाई काठमाडौंको तुलनामा झन्डै आठ हजार रुपैयाँ कम भाडा लाग्ने गरेको जजिराको नेपालस्थित जिएसए कम्पनीले जनाएको छ ।