मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ असार १३ सोमबार १२:५१:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

नेपाललाई कुनै पनि रणनीतिक गठबन्धनमा प्रवेश गराउँदैनौँ : परराष्ट्रमन्त्री    

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ असार १३ सोमबार १२:५१:००

परराष्ट्रमन्त्री डा. नारायण खड्काले नेपाललाई कुनै पनि सामरिक वा रणनीतिक गठबन्धनमा प्रवेश नगराउने बताएका छन् ।  सोमबार राष्ट्रिय सभा बैठकमा विनियोजन विधेयक, २०७९ मा परराष्ट्र मन्त्रालयअन्तर्गत उठेका प्रश्नको जवाफ दिँदै मन्त्री खड्काले नेपालको राष्ट्रिय हित र असंलग्न परराष्ट्र नीतिको विपरीत हुने गरी कुनै पनि सामरिक वा रणनीतिक गठबन्धनमा नेपाललाई प्रवेश नगराइने बताएका हुन् । 

सरकारले अवलम्बन गरेका नीतिका कारण अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालको प्रतिष्ठा बढेको उनले बताए । ‘नेपालको राष्ट्रिय हित र नेपालले अवलम्बन गर्दै आएको असंलग्न परराष्ट्र नीतिको विपरीत हुने गरी कुनै सामरिक वा रणनीतिक गठबन्धनमा नेपाल प्रवेश नगर्ने यस सम्मानित सदनसमक्ष अनुरोध गर्न चाहन्छु, सरकारले अवलम्बन गरेको नीतिको फलस्वरूप अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालको प्रतिष्ठा अझ बढेको छ,’ उनले भने, ‘छिमेकी मित्रराष्ट्र, दक्षिण एसियाली मुलुक, प्रमुख शक्तिराष्ट्र, विकास साझेदारलगायत सबै राष्ट्रहरूसँगको सम्बन्ध अझ मैत्रीपूर्ण एवं सहयोगात्मक बनेको छ, अन्तर्राष्ट्रिय क्षेत्रमा तथा उपक्षेत्रीय मञ्चमा नेपालको उपस्थिति थप प्रभावकारी देखिएको छ ।’

मन्त्री खड्काले अन्तर्राष्ट्रिय सीमाको नियमित रूपमा निरीक्षण गर्ने गरी सरकारले कार्यक्रम तय गरेको बताए । उनले लिम्पियाधुरा, लिपुलेक, कालापानीलगायतका नेपाल, भारत सीमासम्बन्धी समस्या समाधानका लागि सरकारले भारतसँग कूटनीतिकस्तरमा वार्ताको प्रयास भइरहेकोसमेत उनले बताए । 

मुलुकको सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वतन्त्रता, स्वाधीनता, सिमानाको सुरक्षा र सीमा व्यवस्थापनजस्ता विषयमा सरकार गम्भीर रहेको बताए ।