मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७९ असार १३ सोमबार १०:०६:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

लमजुङका अधिकांश उम्मेदवारले अझै बुझाएनन् चुनावी खर्च विवरण

Read Time : > 1 मिनेट
२०७९ असार १३ सोमबार १०:०६:००

स्थानीय तहको निर्वाचनमा उम्मेदवार बनेका लमजुङका अधिकांश उम्मेदवारले खर्च विवरण बुझाउन आनाकानी गरेका छन् । जिल्ला निर्वाचन कार्यालय लमजुङका अनुसार स्थानीय तह निर्वाचनमा उम्मेदवार बनेका लमजुङका एक हजार ४१ जना उम्मेदवारमध्ये ५८ जनाले मात्रै चुनावी खर्च विवरण बुझाएका हुन् । 

विवरण बुझाउन बारम्बार ताकेता गर्दा पनि उम्मेदवारहरूले अटेरी गरेको निर्वाचन कार्यालयका सूचना अधिकारी जीवाखर शर्माले बताए । जिल्ला निर्वाचन कार्यालयले निर्वाचन सकिएको एक महिनाभित्र चुनावी खर्च विवरण बुझाउन सार्वजनिक सूचना जारी गरेको थियो । निर्वाचन आयोगले तोकेको अधिकतम रकमभन्दा बढी खर्च भएकाले उम्मेदवारलाई विवरण बुझाउन कठिनाइ भएको अनुमान गरिएको छ ।

जिल्लामा विभिन्न तहका तीन सय ९१ पदका लागि एक हजार ४१ जना उम्मेदवार रहेका थिए । स्थानीय तहमा प्रमुख र उपप्रमुख वा उपाध्यक्षमा उमेदवार बनेका तीन–तीन गरी ६ जना, वडाध्यक्षका उमेदवार १४ जना र ३८ जना सदस्य पदका उमेदवारले निर्वाचन खर्च बुझाएका छन् । 

सूचना अधिकारी शर्माका अनुसार खर्च विवरण बुझाउने अन्य जनप्रतिनिधिमा विभिन्न स्थानीय तहमा विभिन्न पार्टीबाट उम्मेदवार बनेका छन् । जिल्लाका आठ स्थानीय तहमध्ये राइनास नगरपालिका, मर्स्याङ्दी गाउँपालिका र दूधपोखरी गाउँपालिकाबाट कुनै पनि पनि उमेदवारको खर्च विवरण बुझाएका छैनन् ।

चुनावी खर्च विवरण बुझाउने पालिका प्रमुखहरूमा सुन्दरबजार नगरपालिका प्रमुख कृष्ण कोइराला, क्होलासोँथार गाउँपालिका अध्यक्ष सूर्य गुरुङ र बेँसीसहरमा नगरप्रमुख उमेदवार बनेकी कुलुमाया गुरुङ छन् । कोइराला नेपाली कांग्रेसबाट सुन्दरबजार नगरप्रमुखमा निर्वाचित भएका हुन् भने सूर्य गुरुङ नेकपा एमालेबाट क्होलासोँथार गाउँपालिका अध्यक्षमा निर्वाचित भएका हुन् । 

त्यसैगरी, कुलुकुमारी गुरुङ मंगोल नेसनल अर्गनाइजेसनबाट बेँसीसहर नगरप्रमुखमा उम्मेदार बनेकी थिइन् । त्यस्तै, उपप्रमुख वा उपाध्यक्षतर्फ क्होलासोँथार गाउँपालिका उपाध्यक्ष गमीमाया गुरुङ, बेँसीसहर नगरपालिकामा उपप्रमुखमा उम्मेदार बनेका हरिजंग तामाङ र पदममाया गुरुङ रहेको निर्वाचन कार्यालय लमजुङले जनाएको छ । 

गमीमाया गुरुङ नेकपा एमालेबाट क्होलासोँथार गाउँपालिका उपाध्यक्षमा निर्वाचित भएकी हुन् भने तामाङ नेकपा माओवादी केन्द्रबाट बेँसीसहर नगरउपप्रमुख पदमा उम्मेदवार बनेका थिए । त्यसैगरी, पदममाया गुरुङ मंगोल नेसनल अर्गनाइजेसन पार्टीबाट बेँसीसहर नगर उपप्रमुखमा उम्मेदवार बनेकी थिइन् ।

स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा ६४(४) तथा स्थानीय तह निर्वाचन नियमावली, २०७३ को नियम ४० मा स्थानीय तह सदस्य निर्वाचनका प्रत्येक उम्मेदवारले निर्वाचन खर्च ३० दिनभित्र बुझाउनुपर्ने व्यवस्था छ ।