Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
राजकुमार दिक्पाल
२०७९ असार ११ शनिबार २०:१८:००
Read Time : > 5 मिनेट

सिफारिस

फिचर प्रिन्ट संस्करण

गोरखालीसँगको त्यो भिडन्त

Read Time : > 5 मिनेट
राजकुमार दिक्पाल
२०७९ असार ११ शनिबार २०:१८:००

 

गोरखार्ली राजा पृथ्वीनारायण शाह आफ्नो राज्यविस्तार अभियानअन्तर्गत उपत्यकाका तीन साना राज्यहरूलाई कब्जा गर्नुअघि उपत्यकावरिपरिका रियासतहरू कब्जा गर्ने क्रममा थिए । कान्तिपुर अधिनस्थ नुवाकोट जितेर राज्यविस्तार अभियान सुरु गरेका उनी आफ्नै ससुराली राज्य मकवानपुरतिर पनि नजर लगाउँदै थिए ।


त्यो समय काठमाडौं उपत्यकावरपर आवाद रहेका तामाङहरूले पनि पृथ्वीनारायण शाहको अभियानलाई चनाखो भएर हेरिरहेका थिए । त्यसैले तामाङहरूलाई हात लिनु, त्यसका लागि उनीहरूलाई फकाइफुल्याइ गर्नु र त्यतिले पनि नमाने उनीहरूमाथि आक्रमण गरेरै भए पनि उनीहरूले शासन प्रशासन चलाइरहेको रियासतहरूलाई आफ्नो कब्जामा लिनु जरुरी भइसकेको थियो । त्यसका लागि उनले आफ्ना विश्वासिला भारदारहरूलाई आदेश र काम फत्ते भएपछि बक्सिस प्रदान गर्ने आश्वासन पनि दिइरहेका थिए ।

तीमध्ये पूर्वविजय अभियानमा नेतृत्व गरेका सरदार रामकृष्ण कुँवर उनका विश्वासिला भारदार थिए । पृथ्वीनारायण शाहले उनीमार्फत तामाङहरूलाई फकाइफुल्याइ गर्ने काम जारी राखेका थिए ।वि.सं. १८१७ मा पलाञ्चोक आक्रमण गर्दा बाघ भीमसेन थापा (बडाकाजी अमरसिंह थापाका पिता) घेरामा परी मारिएका थिए । उनको मृत्युपछि रामकृष्ण कुँवरले गोरखाली सेनाको नेतृत्व सम्हाली त्यहाँ अधिकार जमाए । केही दिनपछि काभ्रे गढीमा पनि अधिकार जमाएपछि १५ वर्षसम्म यस प्रदेशको हाकिम भई रामकृष्ण बसेका थिए (बाबुराम आचार्य, ‘पूर्णिमा’ पूर्णांक ५०–२०३८ भाद्र : ८–१०)।


वि.सं. १८१९ भाद्र १० मा गोरखालीले मकवानपुरगढी कब्जा गरेपछि पृथ्वीनारायण शाहले तिमालकोटमा आँखा लगाए । तिमालकोटमा त्यसवेला स्थानीय शासकका रूपमा रिन्जिन दोर्जे सक्रिय थिए । त्यहाँका तामाङहरू उनीप्रति बफादार थिए ।


मकवानपुर राज्य पतन हुनुभन्दा केहीअघि मात्र त्यहाँका राजा दिग्बन्धन सेनले रिन्जिन दोर्जेलाई हरिहरपुरबाट एक ताम्रपत्र पठाई जग्गा बिर्ता दिएका थिए । वि.सं. १८१९ भदौ सुदीमा जारी गरिएको उक्त ताम्रपत्रमा ‘कल्या मटेय मरि १० लाक्या मद्दे वाझो मुरि ६०९...पहरो पश्चिम सालको ...ढलो उत्तर कोसीपूर्व डाडो ल्व (कि)ल विर्ता गरि दियोको छ च...वा गरि षातिरजामा सा वितनु विर्ताका सरह सेवा गर्नु घडेरि पाथि तिन विव जान्या...मा गरि दियाको छ’ भन्ने उल्लेख छ (चन्द्रप्रसाद त्रिपाठी, ‘प्राचीन नेपाल’ संख्या ९१–पुस–माघ २०४२ः६) ।


ताम्रपत्रमा उल्लेख भएअनुसार मकवानी राजा दिग्बन्धननिकट रिन्जिनलाई ‘मिझार’ पद दिइएको देखिन्छ । तर तामाङहरू रिन्जिनलाई आफ्नो राजा नै मान्छन् ।तिमालकोटमा एक शासकका रूपमा रिन्जिन दोर्जे कायम रहिरहेका वेला गोरखाली सरदार रामकृष्ण कुँवर काभ्रेपलाञ्चोकको हाकिम भएर रहँदा भमरकोटमा घरवास गरी त्यहीँका स्थायी बासिन्दा भएर बसेका थिए (बाबुराम आचार्य, ‘श्री ५ बडामहाराजधिराज पृथ्वीनारायण शाहको संक्षिप्त जीवनी’–२०६१ः२६३) । 

 

तिमालकोटको युद्ध
पृथ्वीनारायण शाहले तिमालकोट सजिलैसँग फत्ते गरेका होइनन् । यसका लागि उनले विशेष तयारी गरेका थिए । पहिले कान्तिपुरका बफादार र पछि असन्तुष्ट बनेका पलाञ्चोकका बगाले थापाहरूलाई हात लिएका थिए । आफ्ना दाजु काशीराम थापालाई राजा जयप्रकाश मल्लले मारिदिएपछि उनका भाइ परशुराम थापालाई हात लिएका थिए (आचार्य, उही : १७१–१७६) ।

तिमालकोटको युद्ध निकै भयानक थियो । यो युद्धमा जङ्गबहादुर राणाको एक पुर्खाको समेत मृत्यु भएको थियो । 


कतिपय पलाञ्चोके थापाहरू आफैँ पृथ्वीनारायण शाहसँग मिल्न लालायित थिए । तीमध्ये एक हुन्, लछिमन थापा । उनलाई पृथ्वीनारायण शाहले लेखेको पत्रको भाकाअनुसार उनी आफैँ गोरखालीसँग मिलेर काम गर्न लालायित भएको देखिन्छ । १८१९ भाद्र शुदी १ रोज ६ मा उनलाई लेखिएको पत्रमा ‘हिजो पनि मईले तेरो पिछा लियाकै हो तैलेई कपट घाली विर्‍या धामिको नेल काट्न लाईस् तेरै भर परि नेल काट्यां आज उ पारिको भोट्या उठाई चमक्या छ अरू कौनै तेरो विराउ छैन धर्म भागि पिछा पर्छस् त हाम्रा काजि साथै कविला पठा. तेरो जतिहो तति वकसुला. उप्रान्त तिमालको काज पुर्‍याऊ छु भनि विन्ती पारि पठाइछस् भलो हो. सकन्या भया आट. भदउका दिन नसकि जैसिले साइत दियानन् ततिन्जेलसंम भोट्यालाई संझाईबुझाई थामन्या कामगर.’ भन्ने परेको छ (मोहनप्रसाद खनाल, ‘पृथ्वीपत्रसंग्रह भाग १’ –२०१८ः१०) ।


पत्रमा उल्लेख भएको भोट्या अर्थात् तामाङहरू चम्केका छन् भनेको उनीहरू शत्रुसँग लड्न भिड्न तयार भइरहेका छन् भन्ने हो । पत्रअनुसार लछिमन थापाले गोरखालीले तिमालमा आक्रमण गर्दा आवश्यक सहयोग पुर्‍याउने सन्देश पृथ्वीनारायण शाहसमक्ष पुर्‍याइसकेका थिए । तर, ज्योतिषले भदौमा नभई असोजमा मात्र आक्रमणको साइत दिएकाले त्यतिन्जेलसम्मलाई त्यहाँका भोट्या (तामाङ)हरूलाई सम्झाइबुझाइ थामिराख्नसमेत पृथ्वीनारायण शाहबाट लछिमनले आदेश पाएका छन् ।


ज्योतिषले साइत दिएपछि गोरखाली सेनाले तिमाल आक्रमण गर्‍यो । गोरखालीहरूले वि.सं. १८१९ असोज २ गते तिमालकोट कब्जा गरे । यस युद्धमा तीन सयजनाको मृत्यु भयो (दिनेशराज पन्त, ‘महामण्डलदेखि काँगडासम्म’–२०६७ः३१) ।


तिमालकोटको युद्धका सम्बन्धमा ‘भाषा वंशावली’मा ‘मकवानपुर सर भयो । तिमाल र सिन्धुली फत्ते भयो । अब मैले तिमाल र सिन्धुली हानामा हो भनी आफ्ना मन्त्रीवर्गसित सल्लाह गरी तिमाल हान्न भना सर्दार दलजित शाह, काजी वंशराज पाँडे, जीव शाह, रुद्र शाही, जेठाबूढा रामकृष्ण कुँवर प्रभृत्ति नजिकी, द्वार्‍या, उमराव गैह्रथरघर मालमानिस समेत फौज विदा गर्नुभयो, लश्कर । लिई भाइभारदारले तिमालकोट हान्या । हान्दा ३०० गीड पर्‍याका’ भन्ने उल्लेख छ (देवीप्रसाद भण्डारी, ‘पूर्णिमा’ पूर्णांक १४–श्रावण, भाद्र, आश्विन २०२४ः१४४)।


यो युद्धमा गोरखाली पक्षबाट त्यसवेला नाम चलेका चौतारिया र भारदारहरू सहभागी थिए ।तिमालकोटको युद्धका सम्बन्धमा गोरखाली पक्षमा लेखिएको इतिहासभन्दा अलि फरक खालको इतिहास पाइन्छ, तिमाल क्षेत्रको अनुश्रुतिमा आधारित इतिहासमा । युद्धका क्रममा यहाँका स्थानीय शासक रिन्जिन दोर्जे षड्यन्त्रपूर्वक मारिए भन्ने अनुश्रुति तिमाल क्षेत्रमा पाइन्छ । उनलाई शान्ति सम्झौता गर्ने बाहनामा सुनकोशी बगरमा निशस्त्र आउन खबर पठाइएको र त्यही सर्तअनुसार उनी त्यहाँ पुगेका, तर गोरखालीहरूबाट सुनकोशी किनारमा बालुवामा लुकाएर राखिएको हतियार झिकी रिन्छिन दोर्जेलगायत उनका मानिसहरूको हत्या गरिएको थियो (लीलाबहादुर दोङ तामाङ, ‘तेमाल दरबार र तामाङ राजाहरू’–२०६०ः३०–३४) ।

 

तिमालमा जंगबहादुरको पुर्खाको मृत्यु
तिमालकोटको युद्ध निकै भयानक थियो । यो युद्धमा जंगबहादुर राणाको एक पुर्खाको समेत मृत्यु भएको थियो । पृथ्वीनारायण शाहले रामकृष्ण कुँवरको नाममा लेखेको लालमोहरमा यो प्रसंग उल्लेख छ । लालमोहरमा ‘किराँत राज्य जित्नका लागि म तिम्रै भर परेको छु, तिम्रा बुद्धि र तरबारविना किराँत फत्ते गर्न सक्दिनँ, तिम्रा भाइ जब तिमालमा मारिए, त्यो वेला म निकै दुःखी भएको थिएँ’ भन्दै किराँत फत्ते गर्न रामकृष्ण कुँवरलाई उत्साहित गरिएको छ । (­महेशचन्द्र रेग्मी(सम्पा.)रेग्मी रिसर्च सेरिज वर्ष चार अंक ५–सन् १९७२ डिसेम्बर : ९४–९५)।


इतिहासमा जंगबहादुरका पुर्खा अहिरामका दुई भाइ छोरा रामकृष्ण र जयकृष्ण कुँवरको नाम मात्र चर्चा हुने गरेको छ । तीमध्ये जयकृष्ण कुँवर तिमालको युद्ध भएको १७ वर्षपछि पनि सक्रिय भएको देखिन्छ । रणबहादुर शाहको समयको वि.सं. १९३६ वैशाख शुदी १५ रोज ६ मा जारी लालमोहरमा ‘वैशाख दिन १२ जादा सोमेश्वर हान्न बुढा दलमर्दन शाह, बन्दु राना, पारथ भण्डारी, अम्बरसिंह रानासहित जयकृष्ण कुँवर गएका छन्’ भन्ने परेको छ (दिनेशराज पन्त, ‘पूर्णिमा’ पूर्णांक ५८–२०४० चैतः३५) । यसबाट तिमालमा मृत्यु हुने रामकृष्णका भाइ जयकृष्ण होइनन् भन्ने स्पष्ट हुन्छ ।

ज्योतिषले साइत दिएपछि गोरखाली सेनाले तिमाल आक्रमण गर्‍यो । गोरखालीहरूले विसं. १८१९ असोज २ गते तिमालकोट कब्जा गरे । यस युद्धमा तीन सयको मृत्यु भयो ।


राजा राजेन्द्रले जंगबहादुरका नाममा वि.सं. १९०४ प्रथम ज्येष्ठ बदी १३ रोज ३ मा जारी गरेको लालमोहरमा जंगबहादुरले राजालाई पठाएको अर्जीमा उल्लेख भएको भाका प्रशस्त मात्रामा परेको छ ।लालमोहरमा जंगबहादुरले पठाएको अर्जीको एक अंशमा ‘मेरा जिज्यू रामकृष्ण कुँवरले गोर्षादेषि मेचिसम्म लड्दै गयोको निमक हरामी अमर्सिं कुवर्ले तिमालको लडाञिमा जिउ दियाको श्रीकृष्ण कुवरले झुगामा जिउ दियाको रणजित कुवर्ले जुमलामा कूल् गर्दा फत्य गर्‍याको संसारचन्द सित कागडामा लडाञिमा छातिले गोली षायाको गाथमा तरवार चलाउँदा सेर्‍या चंडाललाई मेरा वावाले मार्‍याको वीरभद्र कुवरले झ्याम्टोले लडाञिमा मीहिनेत गर्‍याको नालापानिका लडाञिमा बलभद्र कुवर्ले मीहिनेत गर्‍याको जंगबहादुरले गर्‍याका निमकहरामिको...’ भन्ने परेको छ (ज्ञानमणि नेपाल, ‘नेपालको महाभारत’–२०५२ः २७१–२७४) ।


यसबाट तिमालको युद्धमा मर्ने जङ्गबहादुरको पुर्खा अमरसिंह कुँवर हुन् भन्ने स्पष्ट हुन्छ, जो त्यहाँका शासक रिन्जिन दोर्जेको बफादार तामाङ सैनिकबाट मारिए ।

 

गोरखाली किल्लामा आगजनी
पृथ्वीनारायण शाहले उपत्यका घेराउ गर्दै भोटसँग चल्ने व्यापारिक नाकाहरू थुन्दै जाने अभियानअन्तर्गत वि.सं. १८११ साउनमा कान्तिपुर अधिनस्थ नालदुम कब्जा गर्न नुवाकोटबाट आफ्ना सैनिकहरूलाई बिदा गरेका थिए । तर, गोरखालीहरूले नालदुम कब्जा गर्न बनाएको किल्लावरपर आगजनी गरी उपद्रव मच्चाई तामाङहरूले गोरखाली अभियानमा व्यवधान खडा गरिदिएका थिए, जसका कारण गोरखाली सैनिकहरू किल्लाभित्रै भोकभोकै बस्न बाध्य हुनुपरेको थियो ।


बलियोसँग किल्ला बनाई दाउ हेरेर बसिरहेका गोरखालीको किल्लामा रसद पानीको अभाव खडा गराई गोरखालीको शक्ति क्षीण गराइदिने निर्णयमा पुगेका कान्तिपुरका राजा जयप्रकाश मल्लले खासा, विगु, तौथली र तिमालका भोटे (तामाङ)हरूलाई उठाई गोरखालीहरूको पक्षपाती बसेका गाउँहरूमा लुटपिट मच्चाई आगो लगाई उपद्रव मच्चाए (मोहनप्रसाद खनाल, ‘प्राचीन नेपाल’ संख्या ११–२०२७ वैशाखः२६–२७) ।


तर, पृथ्वीनारायण शाहलाई युद्ध सुरु हुनुअघि नै नालदुम कब्जा गर्न सहयोगको कबोल गर्ने स्थानीय सामन्त देवहरि डोटेलले लुकिछिपी, चोरबाटो पत्ता लगाई ज्यानको बाजी लगाएर रातको समय चिउरा, चामल गोरखाली बसेको किल्लाभित्र छिराइदिए । त्यही खानाको बलले गोरखालीहरूले वि.सं. १८११ साउन २१ गते नालदुम कब्जा गरे (खनाल, उही) ।

यस सम्बन्धमा देवहरि डोटेलले लेखेको अर्जीमा ‘लोग सिपाही भारदार सब नेपालको घाटी नालदुम हो भनि बलियो गरि बस्या तस्तै समयमा नेपालका राजाले लुच्चा भोट्याहरूलाई ठान (ा) घर पोल्या ठानामा बस्याका लोगकन अन्नपानी गाह्रो  पर्‍यो देहोरि डोट्यालले राति राति चोरबाटो पहल्याइकन मुरि ५ चिहुरा चावल मुरि ६ ठानभित्र छिराया भोलिबेर कटक भयो र जित्याः वैरि हटेर गयोभारादारलाई षिलत भयो’ भन्ने परेको छ (खनाल, उही : २८) ।


यस ऐतिहासिक तथ्यअनुसार तामाङहरू पृथ्वीनारायण शाहको राज्यविस्तार अभियानको समय गोरखालीहरूको विपक्षमा रहँदै आएका थिए भन्ने स्पष्ट हुन आउँछ ।


यसरी विभिन्न समयमा गोरखालीविरुद्धका मोर्चामा सक्रिय रहेका तामाङहरूलाई फकाउँदै नजिक बनाउँदै हातमा लिन पृथ्वीनारायण शाहले आफ्ना भारदारहरूलाई आदेश दिँदैरहे । यस्तो आदेश पाउने भारदारहरूमध्ये रामकृष्ण कुँवर एक थिए । वि.सं. १८२० असार बदी ७ को एक पत्रमा पृथ्वीनारायण शाहले रामकृष्णलाई ‘पनौतीका भोटेहरूको कुरो गर सजा कोटको जागिर मोहर गरी पठाएको छु । त्यो मोहर र लेय मिझार्‍याका भाइ छोरा वलक पनि झिकी हाम्रो काम पु¥याएपछि सये तीन सिक्का सुन चुरा घोडा सिरोपाउ बक्सौँला...’ भन्ने परेको छ (नयराज पन्त र अरू (सम्पा.) ‘पृथ्वीनारायण शाहको उपदेश’–२०२५ः९८८–९८९ । यसबाट तिमालको युद्धमा जिते पनि तामाङहरूसँग पृथ्वीनारायण शाह ढुक्क थिएनन् भन्ने स्पष्ट हुन आउँछ ।

सिफारिस