Skip This
Skip This
निर्वाचनमुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियापन्ध्रौं वार्षिकोत्सव विशेषांकखेलकुदविश्वकोरोना अपडेटप्रवासकर्नर किकसम्पादकीय१३औँ वार्षिकोत्सव विशेषांकसाहित्यस्वास्थ्य र जीवनशैलीफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंगटर्निङ प्वाइन्ट्स-२०२२१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०टर्निङ प्वाइन्ट्स-२०१९प्रदेशब्लगEnglish
  • वि.सं २०७९ श्रावण २३ सोमबार
  • Monday, 08 August, 2022
नयाँ पत्रिका काठमाडौं
२०७९ असार ११ शनिबार ०६:४१:००
Read Time : < 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

पूर्वराजा ज्ञानेन्द्र शाहलाई  पूर्वराष्ट्रपतिसरह मर्यादाक्रममा राख्ने गृहको प्रस्ताव अस्वीकृत 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ असार ११ शनिबार ०६:४१:००

पूर्वराजा ज्ञानेन्द्र शाहलाई पूर्वराष्ट्रपतिसरह मर्यादाक्रममा राख्ने गृह मन्त्रालयको प्रस्ताव मन्त्रिपरिषद्ले अस्वीकार गरेको छ । पूर्वराजालाई मर्यादाक्रममा नराखी मन्त्रिपरिषद्ले यससम्बन्धी नयाँ सूची स्वीकृत गरेको छ । 

राष्ट्रिय जीवनका विभिन्न क्षेत्रमा रहेका व्यक्तिको मर्यादाक्रम संशोधनसम्बन्धी गृह मन्त्रालयले गत महिना नै प्रस्ताव मन्त्रिपरिषद्मा पठाएको थियो, जसमा पूर्वराजालाई मर्यादाक्रमको छैटौँ स्थानमा राख्ने गृहको प्रस्ताव थियो । तर, पूर्वराजालाई पूर्वराष्ट्रपतिकै हैसियतबराबरको मर्यादाक्रममा राख्दा विवाद हुन सक्ने भएकाले हटाइएको मन्त्रिपरिषद् स्रोतले बतायो ।

मन्त्रिपरिषद्ले स्वीकृत गरी मर्यादाक्रम संशोधनको प्रस्ताव मन्त्रिपरिषद्को प्रशासनिक समितिमा पठाइएको छ । छैटौँमा पूर्वराष्ट्रपति, पूर्वउपराष्ट्रपति, पूर्वप्रधानमन्त्री, उपप्रधानमन्त्री र मन्त्रिपरिषद्का पूर्वअध्यक्षलाई राखिएको छ । यही मर्यादाक्रममा पूर्वराजालाई राख्नुपर्ने गृह मन्त्रालयको निष्कर्ष थियो । 

गृह मन्त्रालयले सहसचिव शिवराम पोखरेलको नेतृत्वमा एक समिति गठन गरी यसबारे संशोधन प्रक्रिया अघि बढाएको थियो । यसअघि १६ वैशाख ०७६ मा मर्यादाक्रम प्रकाशन भएको थियो । त्यसमा प्रदेशका कतिपय पद छुटेको र केहीमा तलमाथि आवश्यक रहेको गुनासोका आधारमा यस्तो समिति बनेको थियो । 

यसअघिको मर्यादाक्रममा पूर्वराजालाई नसमेटिएको भन्दै आलोचना भएपछि यसपटक उनलाई समेटिएको थियो । तर, संसदीय चुनावको मुखमा सरकारले पूर्वराजालाई सम्मान दिन खोजेको सन्देश जान सक्ने भएकाले यस विषयमा तत्काल कुनै निर्णय नगरिएको एक मन्त्री बताउँछन् । 

सुरक्षा व्यवस्थापनलगायत विषयलाई ध्यानमा राखी आफूहरूले पूर्वराजालाई मर्यादाक्रममा राख्न खोजेको गृहका अधिकारीको भनाइ छ । नयाँ मर्यादाक्रममा अन्तर्राष्ट्रिय प्रचलनको पनि अनुशरण गरी केही हेरफेर गरिएको स्रोत बताउँछ । प्रशासनिक समितिले अन्तिम टुंगो लगाएपछि मर्यादाक्रम राजपत्रमा प्रकाशित हुनेछ । गृह मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेल मर्यादाक्रमसम्बन्धी केही संशोधन प्रस्ताव मन्त्रिपरिषद्मा पुगेको र के निर्णय भयो भन्ने जानकारी आइनसकेको बताउँछन् ।