चीन र रुस दुवैसँग अमेरिकाले नयाँ शीतयुद्ध थालेको देखिन्छ । अमेरिकी नेता जब लोकतन्त्र र अधिनायकवादको बीचमा पर्छन्, तब एक विद्रुप चित्रण देख्न सकिन्छ, विशेषगरी जब यिनै नेता सक्रिय रूपमा प्रणालीगत मानवअधिकार उल्लंघनकर्ता साउदी अरेबियालाई काखी च्यापिरहेका हुन्छन् । अमेरिकी नेतृत्वको यो पाखण्डले नयाँ शीतयुद्ध मूलतः वर्चस्वको युद्ध हो, न कि मूल्य–मान्यताको हो भन्ने देखाउँछ ।
सोभियत संघको पतनपछि अमेरिका मोटामोटी दुई दशकसम्म शीर्षस्थ स्थानमा रह्यो । तर, तत्पश्चात् मध्यपूर्वमा रचिएका विनाशकारी युद्ध, सन् २००८ को आर्थिक मन्दी, बढ्दो असमानता, दुव्र्यसनको महामारी र अन्य समस्याका कारण अमेरिकी आर्थिक मोडेलको श्रेष्ठतामा सन्देह उत्पन्न भयो । त्यसबाहेक डोनाल्ड ट्रम्पको उदयदेखि अमेरिकी क्यापिटोल (संसद्)मा कुको प्रयास, अन्धाधुन्ध गोलीबारी, रिपब्लिकन पार्टीद्वारा मतदाता अवरोधका प्रयास र क्युए–नन जस्ता षड्यन्त्रवादी दक्षिणपन्थी समूहको उदयले अमेरिकी राजनीतिक र सामाजिक जीवनका केही पक्ष गम्भीर रूपमा संक्रमित भएका छन् ।
निश्चय नै अमेरिका आफ्नो वर्चस्व गुमाउन चाहँदैन । तर, जुनसुकै मानकको प्रयोग गरे पनि चीनले आर्थिक वृद्धिको मामिलामा अमेरिकालाई उछिन्नेछ । चीनले अमेरिकाका लागि रणनीतिक खतरा हुने कुनै कदम नचाले पनि अनिष्ट अवश्यम्भावी छ । चीनले रणनीतिक रूपमा खतरा प्रस्तुत गर्न सक्छ, यसलाई टार्न अमेरिकाले कम्तीमा चीनको आर्थिक विस्तारलाई सहयोग गर्न रोक्नुपर्नेमा वासिङ्टनमा द्विपक्षीय सहमति (डेमोक्रेटिक एवं रिपब्लिकनबीच) नै छ । यो दृष्टिकोणले रोकथामयुक्त कारबाही आवश्यक छ भन्ने दाबी गर्छ र यसको अर्थ भनेको विश्व व्यापार संगठन नियमका विरुद्ध जानु हुन्छ, जुन अमेरिका आफैँले सिर्जना गर्न र अगाडि बढाउन अत्यधिक मिहिनेत गरेको थियो ।
रुसको चीनसँगको ‘सीमाविहीन’ साझेदारीले आर्थिक रूपमा खासै फरक पार्दैन, किनभने रुसको अर्थतन्त्र स्पेनको जत्रो मात्रै छ (यद्यपि विश्वभरका विघटनकारी गतिविधिमा संलग्न हुँदा विशाल दक्षिणी छिमेकी चीनका लागि उपयोगी साबित हुन सक्छ) । यस सन्दर्भमा वरिष्ठ अमेरिकी अधिकारीले रुस–युक्रेन द्वन्द्वले वास्तविक एवं दीर्घकालीन खतरा पैदा गर्ने चीनलाई बेवास्ता गर्नु हुँदैन भन्दै चेतावनी दिँदै आएका छन् । युरोप एवं विश्वका अन्य उन्नत लोकतन्त्र अमेरिकाका प्राकृतिक मित्र हुन् । यद्यपि, ट्रम्प र रिपब्लिकन नेताका कारण अमेरिका उीनहरूको एक विश्वसनीय साझेदार हो भन्नेमा शंका गर्ने प्रशस्त आधार बनेको छ ।
विभिन्न मुलुकको शोषणको लामो अमेरिकी इतिहास र गहिरो गरी गढेको नश्लभेदले पक्कै पनि यसमा सहयोग गर्दैन । अमेरिकी राजनीतिज्ञले विश्वव्यापी ‘खोप रंगभेद’लाई समर्थन गरेका थिए, छन् । धनी राष्ट्रले पर्याप्त खोप पाए, तर गरिब राष्ट्रलाई जेसुकै गरुन् भनेर छोडियो । यसबीच, अमेरिकाका नयाँ शीतयुद्धका शत्रुले अन्य राष्ट्रलाई खोप उत्पादन कारखाना निर्माण गर्न वा आफ्नो खोपमा कम लागत वा सजिलै पहुँचयोग्य बनाउन मद्दत गरेका छन् ।
अपिल र अनुनयको नरम शक्तिले मात्र अमेरिकाले शीतयुद्ध जित्नेछ । यसका लागि हाम्रा उत्पादन मात्र नभई हामीले गर्वका साथ प्रचार गर्ने सामाजिक, राजनीतिक र आर्थिक प्रणालीलाई ग्रहण गर्न बाँकी विश्वलाई मनाउनुपर्छ ।
जलवायु परिवर्तनको मामिलामा दक्षिणी गोलाद्र्धका मानिसको अनुकूलन क्षमता न्यून छ, जसले विश्वासको खाडललाई गहिरो बनाएको छ । अहिले ठूला उदीयमान बजारले बहुमत मात्रामा हरितगृह ग्यास उत्सर्जन गरे तापनि अमेरिकाको समग्रमा भएको हरितगृह उत्सर्जन सबैभन्दा उच्च हो । गरिब मुलुकलाई धनी विश्वले निम्त्याएको जलवायु संकटका प्रभाव व्यवस्थापन गर्न मद्दत गर्ने आफ्ना अधुरा वाचा पनि पूरा गरेका छैनन् । बरु अमेरिकी बैंक धेरै राष्ट्रका हालको ऋण संकटको प्रमुख कारक भएका छन् र यिनले तिनका दुःखमा परपीडक रवैया देखाएका छन् ।
नैतिकता र अर्थशास्त्रमा नसिहत बाँड्नमा अमेरिका र युरोप अगाडि छन् । ती नसिहतमा ‘म जे भन्छु त्यही गर, नकि म जे गर्छु’ भन्ने हुन्छ । विशेषतः अमेरिकासँग अब हामी उच्च नैतिक चरित्रका छौँ भन्न वा नसिहत दिन कुनै आधार बाँकी छैन । दक्षिणी गोलाद्र्धमा नवउदारवाद र ट्रिकल–डाउन अर्थशास्त्रलाई कहिल्यै स्वीकार गरिएको थिएन । आज यो नीति विश्वव्यापी रूपमा असान्दर्भिक हुँदै छ । अर्काेतर्फ, चीनले गरिब राष्ट्रलाई दिगो पूर्वाधार विकासमा उत्कृष्ट प्रदर्शन गरेको छ, नकि नसिहत दिनमा । यी राष्ट्र ऋणको बोझ बोक्न बाध्य छन्, तर विकासोन्मुख मुलुकमा ऋणदाताको रूपमा पश्चिमा बैंकको आफ्नै व्यवहारलाई हेर्दा अमेरिका र अरू मुलुकले बोल्ने ठाउँ रहन्न ।
अपिल र अनुनयको नरम शक्तिले मात्र अमेरिकाले शीतयुद्ध जित्नेछ । यसका लागि हामीले हाम्रा उत्पादन मात्र नभई हामीले गर्वका साथ प्रचार गर्ने सामाजिक, राजनीतिक र आर्थिक प्रणालीलाई ग्रहण गर्न बाँकी विश्वलाई मनाउनुपर्छ । अमेरिकासँग संसारकै बलियो बमवर्षक र क्षेप्यास्त्र प्रणाली हुन सक्ला, तर यस अवस्थामा यी अस्त्रले हामीलाई कुनै सहयोग गर्नेछैनन् । बरु हामीले विकासशील र उदीयमान बजारलाई ठोस सहायता प्रदान गर्नुपर्छ । यो कोभिडसँग सम्बन्धित सबै बौद्धिक सम्पत्तिमा छुटबाट सुरु गर्नुपर्छ, ताकि यी राष्ट्रले आफ्नै खोप र उपचारको विकास गर्न सकुन् ।
पश्चिमले आफ्नो इष्र्यायोग्य स्थितिको राजनीतिक, सामाजिक र आर्थिक प्रणालीलाई पुनस्र्थापित गर्न काम गर्नुपर्छ । र, यो अमेरिकामा बन्दुक हिंसाको दर घटाएर, वातावरणीय नियम बढाएर, पूर्वाग्रह र नश्लभेदविरुद्ध लडेर अनि प्रजनन मामिलामा महिलालाई स्वतन्त्रताको प्रत्याभूति गरेर नै सम्भव हुन्छ । अन्यथा, हामीलाई अरूले पछ्याउलान् भनेर आशा गर्नु निरर्थक हुन्छ ।
प्रोजेक्ट सिन्डिकेट