जर्जिएभाको नेतृत्वमा अन्तर्राष्ट्रिय मुद्रा कोषले लिइरहेको प्रगतिशील दिशाबाट असन्तुष्ट जमात ठूलो छ, जो सके कोषबाट हटाउन चाहन्छ, नसके कमजोर बनाउन खोज्दै छ
अन्तर्राष्ट्रिय मुद्रा कोषकी प्रबन्ध निर्देशक क्रिस्टालिना जर्जिएभालाई सके विस्थापित गर्ने, नसके कमजोर बनाउने प्रयास अहिले जोडतोडले चलिरहेको छ । सन् २०१९ देखि कोषकी प्रबन्ध निर्देशक रहेकी जर्जिएभा तिनै हुन्, जसले महामारीको समयमा विपद्विरुद्ध छिटो सहायता कोष जारी गरेकी थिइन् । साथै, उनले सफलतापूर्वक ६५० अर्ब डलरको अन्तर्राष्ट्रिय मुद्रा कोषको रकम पनि भनिने स्पेसल ड्रइङ राइट जारी गर्ने पक्षमा वकालत गरिन् । यो रकम न्यून आय तथा मध्यम आययुक्त मुलुकको आर्थिक पुनस्र्थापनाका लागि अति उपयोगी हुनेछ । साथै, उनले जलवायु परिवर्तनको संकटविरुद्ध कोषलाई अग्रणी संस्थाको रूपमा विकास गरेकी छन् । यी सम्पूर्ण कार्यका लागि जर्जिएभाको सराहना हुनुपर्छ ।
तर, सराहनीय काम गरेकी जर्जिएभालाई कोषबाट हटाउने प्रयास किन भइरहेको छ ? र, यो प्रयासको पछाडि को छ ? समस्या विश्व बैंकले बर्सेनि प्रकाशित गर्ने ‘डुइङ बिजनेस इन्डेक्स’ सम्बन्धमा उत्पन्न विवाद अनुसन्धान गर्न गठित आयोगले रिपोर्ट सार्वजनिक गरेपछि सुरु भएको हो । अनुसन्धान चर्चित कानुनी फर्म विल्मरहेलले गरेको थियो । डुइङ बिजनेस इन्डेक्सले कुनै मुलुकमा व्यावसायिक फर्म सुरु गर्न र सञ्चालन गर्न कति सहज भन्ने मापन गरेर विश्वभरका मुलुकको वरीयता निकाल्ने गर्छ । हाल सार्वजनिक अनुसन्धान रिपोर्टले सन् २०१८ र सन् २०२० को इन्डेक्समा चीन, साउदी अरब र अजरबैजानको स्थानमा छेडखानी भएको आरोप लगाएको छ । खासमा यसलाई आरोपभन्दा पनि संकेत छ भन्नु ठीक होला ।
विश्व बैंकले २०१८ को इन्डेक्स सार्वजनिक गरेदेखि नै जर्जिएभाको आलोचना सुरु भएको थियो । इन्डेक्समा चीन ७८औँ स्थानमा थियो, जुन उसको अघिल्लो वर्षको स्थान बराबर थियो । तर, चीनको स्थान त्योभन्दा खराब हुनुपर्ने तर बैंकको पुँजी वृद्धिका लागि चीनको सहायता हासिल गर्न चीनको स्थान राम्रो बनाएको आरोप लाग्यो । त्यस समय जर्जिएभा विश्व बैंककी प्रमुख कार्यकारी अधिकृत थिइन् । त्यस विवादको एउटा सकारात्मक परिणाम इन्डेक्सको खारेजीलाई मान्न सकिन्छ । २५ वर्षअघि म विश्व बैंकको प्रमुख अर्थशास्त्री हुँदा बैंकको अर्को विभाग ‘इन्टरनेसनल फाइनान्स कर्पोरेसन’ले डुइङ बिजनेस प्रकाशित गरेको थियो । त्यसवेलै मलाई इन्डेक्स खराब प्रकाशन लागेको थियो ।
डुइङ इन्डेक्सले न्यून कर्पोरेट कर तथा कमजोर श्रम कानुन भएका मुलुकलाई राम्रो अंक दिने व्यवस्था गरेको थियो । र, तिनको तथ्यांकमा हुने सानोतिनो परिवर्तनले पनि वरीयतामा ठूलो असर पाथ्र्यो । सामान्य निर्णयले समेत मुलुकको वरीयता खस्कँदा ती मुलुकमा निराशा छाउने गरेको देखिन्थ्यो । मैले विल्मरहेल रिपोर्ट सार्वजनिक भएसँगै त्यसलाई अद्योपान्त पढेँ र संलग्न प्रमुख व्यक्तिसँग पनि कुरा गरेँ । र, यसका सम्पूर्ण प्रक्रियाबारे जानकार रहेकाले यो अनुसन्धान कसैको मानहानि गर्ने प्रयासजस्तो लाग्यो ।
विवादमा आएको डुइङ बिजनेस इन्डेक्स तयार पार्ने अवधिभर जर्जिएभाले पूर्णतः व्यावसायिक रूपमा काम गरेको देखिन्छ । उनको स्थानमा म भएको भए पनि त्यही नै गर्थें । उनले आफू मातहतका कर्मचारीलाई तथ्यांकलाई दोहोर्याएर जाँच गर्न आग्रह गरेकी छन् । कर्मचारीले जर्जिएभाको आग्रहलाई स्विकार्दै तथ्यांकलाई मिहीन रूपमा दोहो¥याएर जाँचेँ र तथ्यांकमा सामान्य परिवर्तन हुन पुग्यो । जसले सामान्य संशोधन भएको छ । सन् २०१८ को इन्डेक्स प्रकाशन एकाइका प्रमुख शान्ता देवराजनले सीधै जर्जिएभालाई रिपोर्ट गर्नुपथ्र्यो । उनले आफूले काम गर्ने अवधिभर कुनै दबाब महसुस नगरेको बताएका छन् ।
विल्मरहेल रिपोर्ट आफैँमा धेरै हिसाबले रोचक छ ।
सन् २०१९ देखि आइएमएफकी प्रबन्ध निर्देशक पदमा आसीन क्रिस्टालिना जर्जिएभा महामारीको समयको आर्थिक गिरावटसँग जुध्ने सवालमा निकै साहसी बनेकी छन् । यस अवधिमा उनले कोषलाई विश्व जलवायु संकटविरुद्ध काम गर्ने अग्रणी संस्था बनाइन् । अहिले उनलाई कोषबाट हटाउने जुन प्रयास चलिरहेको छ, त्यो अन्यायपूर्ण मात्र होइन, त्यसले कोषको व्यवस्थापनलाई लामो समय असर गर्न सक्छ ।
यसले लेनदेनको संकेत गर्न खोज्दै भनेको छ– बैंकले पुँजी वृद्धि गर्ने प्रयास गरिरहेको वेलामा त्यो उद्देश्य हासिल गर्नका लागि उसले वरीयता सुधार गरिदिने प्रत्याभूति दियो । तर, त्यसवेला चीन पुँजी वृद्धिको सबैभन्दा उत्साही समर्थक थियो । जबकि, डोनाल्ड ट्रम्पको शासनमा रहेको अमेरिकाले यसमा खुट्टा अड्काउने प्रयास गरिरहेको थियो । खासमा बैंकले पुँजी वृद्धि गर्न नै चाहेको भए उसले चीनको वरीयता खस्काउँदाचाहिँ उद्देश्य हासिल हुन्थ्यो । अनुसन्धान रिपोर्टले देवराजनको पूरा बयान किन राखेन भन्ने कुरा स्पष्ट व्याख्या गरेको छैन । जबकि, तत्कालीन समयमा इन्डेक्स प्रकाशित गर्ने सवालमा उनी जर्जिएभाप्रति सीधा जवाफदेही थिए । ‘मैले घन्टौँ लगाएर आफूले जानेको कुरा विश्व बैंकका वकिललाई बताएको थिएँ, तर रिपोर्टमा मैले भनेको आधा कुरा मात्र आएको छ,’ देवराजनले बताए । बरु रिपोर्ट अनुमान तथा संकेतले भरिएको छ ।
मुख्य विवाद विल्मरहेलको रिपोर्ट आफैँमा छ । विशेषतः विश्व बैंकका अध्यक्ष डेभिड मालपास कसरी अनुसन्धानमा निर्दोष ठहराइए भन्नेमा प्रश्न उठ्छ । रिपोर्टमा सन् २०२० को डुइङ बिजनेस इन्डेक्समा साउदी अरबको स्थान माथि बनाउने प्रयासबारे उल्लेख त छ, तर त्यसमा बैंकका पदाधिकारीको कुनै दोष नभएको निष्कर्ष निकालिएको छ । साउदी अरबले जमाल खसोगीको हत्या गरेर अंगभंग गरेको अर्को वर्ष विश्व बैंकका अध्यक्ष मालपास साउदी अरब गएका थिए । त्यहाँ उनले डुइङ रिपोर्टमा आएको सुधारको प्रशंसा गरेका थिए । सौभाग्यवश, खोज पत्रकारिताले अध्यक्ष मालपासका थप खराब व्यवहार खुलासा गरेका छन् । ब्लुमबर्गमा छापिएको एक खबरअनुसार मालपासले चीनको वरीयता घटाउनका लागि डुइङ बिजनेसको वरीयता निकाल्ने विधि नै बदल्ने प्रयाससमेत गर्न खोजेका थिए ।
विल्मरहेल रिपोर्ट खासमा मानहानिको प्रयास नै हो । तर, यसपछाडिको उद्देश्य के छ त ? जर्जिएभाको नेतृत्वमा अन्तर्राष्ट्रिय मुद्रा कोषले जुन प्रगतिशील दिशा लिइरहेको छ, त्यसबाट धेरै असन्तुष्ट छन् । तिनको विचारमा कोषले जलवायु परिवर्तन सम्बन्धमा चासो लिन हुँदैन । अरु पनि छन्, जसलाई कोषको खर्च कटौती गर्ने, गरिबी तथा विकासमा जोड दिने र बजारको सीमितताबारे सचेत हुने काम मन परिरहेको छैन । वित्तीय बजारका कैयौँ खेलाडी अन्तर्राष्ट्रिय मुद्रा कोष ऋण तिराउने सवालमा पर्याप्त कठोर नभएकोमा बेखुस छन् । मेरो पुस्तक ‘ग्लोबलाइजेसन एन्ड डिसकन्टेन्ट’ पुस्तकमा मैले कोषको ऋण बलजफ्ती तिराउने प्रयासको विरोध गरेको छु ।
अर्जेन्टिनामा सन् २०२० मा सुरु भएको ऋण पुनर्संरचना कार्यक्रममा कोषले एउटा मुलुकले कति ऋण थेग्न सक्छ भन्ने स्पष्ट पार्यो । धेरै निजी ऋणदाता ऋण लिएका मुलुकले तिनले सक्नेभन्दा धेरै तिरोस् भन्ने चाहन्छन्, तर कोषले लिएको नयाँ बाटोले बार्गेनिङ ढाँचा नै बदलिएको छ । त्यसबाहेक पनि अन्तर्राष्ट्रिय मुद्रा कोष र विश्व बैंकबीच लामो संस्थागत प्रतिद्वन्द्विता छ । यो प्रतिद्वन्द्विता हालै समृद्ध अर्थतन्त्रले विपन्न मुलुकलाई जारी गरेको ‘स्पेसल ड्रइङ राइट’लाई ‘रिसाइकल गर्ने’ नयाँ प्रस्तावित कोष कसले व्यवस्थापन गर्ने भन्ने विवादले तातेको छ ।
विश्व बैंकका अध्यक्ष मालपासले लिएको अमेरिकी राजनीतिको एकलकाँटे प्रवृत्तिले थप समस्या सिर्जना गरेको छ । विगतमा डोनाल्ड ट्रम्पले नियुक्त गरेका मालपास, जो बाइडेनको प्रशासनलाई जसरी पनि अप्ठ्यारो पार्न उद्यत् देखिन्छन् । राजनीतिक चलखेल र कर्मचारीतन्त्रबीचको प्रतिद्वन्द्विता विश्वले सामना गरिरहेको महामारी र गिर्दो अर्थतन्त्रको समयमा प्रत्युत्पादक ठहर्छ । किनकि, यी विपद्का कारण धेरै मुलुक ऋणको संकट सामना गर्न थालेका छन् । त्यसैले विगतमा भन्दा धेरै विश्वलाई अन्तर्राष्ट्रिय मुद्रा कोषमा जर्जिएभा हुँदा फाइदा छ ।
अर्थशास्त्र विधाका नोवेल पुरस्कार विजेता तथा विश्व बैंकका पूर्वप्रमुख अर्थशास्त्री (सन् १९९७–२०००) जोसेफ ई. स्टिग्लिज कोलम्बिया विश्वविद्यालयका प्राध्यापक हुन् । सन् १९९५ को आइपिसी जलवायु रिपोर्टका प्रमुख लेखक हाल अन्तर्राष्ट्रिय कर्पोरेट कर–व्यवस्था सुधारका लागि गठित स्वतन्त्र आयोगका सदस्य हुन् ।