Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ असार ९ बिहीबार ०६:३५:००
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

प्रशिक्षक अलमुताइरीले हटाएका खेलाडी ससम्मान फिर्ता हुने

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ असार ९ बिहीबार ०६:३५:००

अखिल नेपाल फुटबल संघ (एन्फा)को नवनिर्वाचित पहिलो कार्यसमिति बैठकले राष्ट्रिय फुटबल टोलीबाट बाहिरिएका १० सिनियर खेलाडीलाई ससम्मान टोलीमा फिर्ता बोलाउने निर्णय गरेको छ । एन्फाका नवनिर्वाचित पदाधिकारीको बुधबार शपथग्रहणपछि बसेको पहिलो बैठकले मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीद्वारा निकालिएका १० खेलाडीलाई फिर्ता बोलाउने निर्णय गरेको हो । गत वैशाखमा मुख्य प्रशिक्षक अलमुताइरीसँग विवाद हुँदा एन्फाले नै १० खेलाडीलाई एएफसी एसिया कप छनोटमा प्रतिस्पर्धा गर्ने राष्ट्रिय टोलीबाट बाहिर राखेको थियो । 

प्रशिक्षक अलमुताइरीले सिनियर खेलाडीलाई हटाउँदै १७ जना नयाँ खेलाडीलाई मौका दिएका थिए । कप्तान नवयुग श्रेष्ठको कप्तानीमा प्रतिस्पर्धा गरेको नेपाल समूह चरणबाटै बाहिरियो । एएफसी कपको प्रारम्भिक बन्द प्रशिक्षणमा मिडफिल्डर रोहित चन्दले होटेलदेखि अन्य सुविधा पाउनुपर्ने माग प्रशिक्षक अलमुताइरीसमक्ष राखेका थिए । प्रशिक्षक अलमुताइरीले खेलाडीको माग पूरा नगरी चन्दलाई सीधै बन्द प्रशिक्षणबाट बाहिर जान सक्ने निर्देशन दिए । चन्दले उठाएका माग जायज भएको जनाउँदै अनन्त तामाङ, अञ्जन विष्ट, विशाल राई, सुमन लामा, तेज तामाङ, विमल घर्तीमगर र दिनेश राजवंशीले बन्द प्रशिक्षण छाडेका थिए । तत्कालीन नियमित कप्तान किरण चेम्जोङले समेत खेलाडीको मागप्रति समर्थन जनाए । यद्यपि, उनी खेलाडीहरूको आन्दोलनमा सम्मलित नभए पनि समर्थन गरेकै कारण टोलीबाट बाहिरिए ।

खेलाडी र प्रशिक्षकबीचको विवाद एन्फासम्म पुग्यो । प्रशिक्षक अलमुताइरीले विनाजानकरी क्याम्प छाडेर गएका खेलाडीलाई एएफसी एसिया कप छनोटमा समावेश नगर्ने घोषणा गरे । त्यसपछि एन्फाले छानबिन समिति गठन गरेको थियो । छानबिन समितिले एन्फामा बुझाएको प्रतिवेदनमा खेलाडी दोषी नभएको र प्रशिक्षकको व्यवहार गलत भएको उल्लेख छ । सो समितिले एएफसी एसिया कप छनोटपछि सुझाव कार्यान्वयन गर्न एन्फालाई सुझाव दिएको थियो । 

खेलाडी–प्रशिक्षकबीचको विवादको अनुसन्धानका लागि भिक्टर राणाको संयोजकत्वमा गठित छानबिन समितिको प्रतिवेदनअनुसार खेलाडीलाई टोलीमा फर्काउने निर्णय गरिएको हो । एएफसी एसिया कप छनोटपछि प्रशिक्षक अलमुताइरी कुवेतमै बसेका छन् । उनी नेपाल फर्किने वा नफिर्किने भन्ने स्पष्ट भइसकेको छैन । एन्फा कार्यसमिति बैठकले मुख्य प्रशिक्षक अलमुताइरीका विषयमा छानबिन गर्न गठित समितिको प्रतिवेदनलाई ध्यानमा राख्दै अन्तर्राष्ट्रिय सम्बन्ध नबिग्रिने गरी सम्बन्धित सबै पक्षसँग छलफल र समन्वय गर्न महासचिव किरण राईलाई जिम्मेवारी दिने निर्णय गरेको छ ।

 राई महासचिव र जोशी कोषाध्यक्ष
कार्यसमिति बैठकले एन्फा महासचिवमा किरण राई र कोषाध्यक्षमा रवीन्द्र जोशी मनोनीत गरेको छ । एन्फाको निवर्तमान अध्यक्ष कर्मा छिरिङ शेर्पाको चारवर्षे कार्यकालमा राई प्रवक्ता थिए । शेर्पासँग आपसी विवाद हुँदा राईले प्रवक्ताबाट राजीनामा दिएका थिए । जोशी भने अघिल्लोपटकको कार्यकालमा पनि कोषाध्यक्ष नै थिए । 

यसैगरी, विदेश विभाग प्रमुखको जिम्मेवारी नवीन पाण्डेलाई सुम्पिएको छ । यसैबीच एन्फाका नवनिर्वाचित पदाधिकारीले पद तथा गोपनीयताको शपथ लिए । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा एन्फाको निर्वाचन समितिले नवनिर्वाचित अध्यक्ष पंकजविक्रम नेम्वाङसहित सबै पदाधिकारीलाई शपथ खुवाइएको थियो । 

गत सोमबार पंकज शेर्पालाई ४५–३९ मतान्तरले पराजित गर्दै अध्यक्षमा निर्वाचित भएका थिए । निर्वाचनमार्फत एन्फाको अध्यक्षमा पंकज चार वर्षका लागि चुनिए । एन्फाको कार्यसमितिमा पंकज समूहकै एकाधिकार छ । वरिष्ठ उपाध्यक्षमा वीरबहादुर खड्का, उपाध्यक्षहरूमा दावा लामा, दीपक खतिवडा, विराटजंग शाही र दीर्घबहादुर केसी निर्वाचित भए । सदस्यमा मनीष जोशी, अनिल मल्ल, रवीन्द्र चन्द, विकासनारायण श्रेष्ठ, भोजराज शाही, महेन्द्र क्षेत्री, पुरुषोत्तम थापा, रमेश व्यञ्जनकार, मनिराज विष्ट, टीका लामा, भरत बुढथापा, सरला श्रेष्ठ र पेमा डोल्मा लामा निर्वाचित भएका थिए । 

कार्यसमितिमा खुला केन्द्रीय सदस्यमध्ये ११ जनाको मात्र टुंगो लागेको थियो । दीपक थापा क्षेत्री, रूपेश अधिकारी, दीपेन्द्र धिमाल र लोकेन्द्र गुरुङले समान ३९–३९ मत ल्याएका थिए । समान मत ल्याएका चारमध्ये दुईजनालाई एन्फाको आगामी साधारणसभाले एन्फाको विधान र फिफा÷एएफसीका प्रतिनिधिको सल्लाहका आधारमा निर्वाचित गर्ने निर्वाचन समितिले जनाएको छ ।