१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख ३१ सोमबार o७:१७:oo
Read Time : > 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

कारोबार रकम बढे पनि नेप्से १९ महिनायताकै न्यून बिन्दुमा

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार o७:१७:oo

सोमबार सेयर बजार १९ महिनायताकै न्यून बिन्दुमा आइपुगेको छ । नेप्से परिसूचक ४९ दशमलव ३१ अंकले घटेर एक हजार आठ सय ८४ दशमलव ८१ बिन्दुमा आइपुगेको हो । ‘क’ वर्गका कम्पनीहरूको कारोबारमापक सेन्सेटिभ इन्डेक्स पनि सात दशमलव ६६ अंकले घटेर तीन सय ६६ दशमलव १९ बिन्दुमा आइपुगेको छ ।
यसअघि सोही बिन्दुको आसपासमा ०७७ मंसिर १० गते रहेको थियो । सोही बिन्दुमा पुगेको दिन ६ अर्बभन्दा बढीको कारोबार भएको थियो ।

बजार एक हजार नौ सयको मनोवैज्ञानिक बिन्दुबाट तल खसेको छ । पाँचौँ दिनसम्म एक हजार नौ सयको बिन्दुमा स्थिर रहेको बजार सोमबार अन्तरदिन कारोबारको केही क्षणमै झरेको थियो । बजार घट्दो क्रममा रहेकाले लगानीकर्ता आत्तिएर सेयर बिक्री गर्न थालेका छन् । धितोपत्र र ऋणपत्र गरी कारोबारमा आएका दुई सय ३० कम्पनीको ६१ लाख ८६ हजार कित्ता सेयर खरिद–बिक्री हुँदा एक अर्ब ७५ करोड रुपैयाँको कारोबार भएको छ ।

लगानीकर्ताले यस दिन प्रभु बैंकको प्रमोटर सेयर र नेपाल दूरसञ्चार कम्पनीको सेयर खरिद–बिक्री बढाएका छन् । पछिल्लो समय नेपाल दूरसञ्चार कम्पनीको सेयर खरिद–बिक्री बढिरहेको छ । कम्पनीको मूल्य घट्दो क्रममा रहेकाले पनि लगानीकर्ताले कम्पनीको सेयर खरिद–बिक्री बढाइरहेको हुन सक्ने अनुमान गरिएको छ । सोमबार प्रभु बैंकको प्रमोटर सेयर ११ करोड ८३ लाख रुपैयाँ र नेपाल टेलिकमको सेयर १० करोड ९२ लाख रुपैयाँको कारोबार भएको छ । त्यसैगरी, हिमालयन डिस्टिलरी, एनआइसी एसिया बैंक र नबिल बैंकको चार करोड रुपैयाँदेखि पाँच करोड ७३ लाख रुपैयाँसम्मको सेयर कारोबार भएको छ । 

यस दिन कारोबारमा आएका १३ वटै समूहका सूचक घटेका छन् । विकास बैंक र जलविद्युत् समूहको ४ प्रतिशतभन्दा बढीले घटेको छ भने फाइनान्स समूह, निर्जीवन बिमा समूह र ‘अन्य’ समूहको सूचक ३ प्रतिशतभन्दा बढीले घट्न पुगेको छ । त्यसैगरी, माइक्रो फाइनान्स समूह, जीवन बिमा समूह, लगानीगत समूह, होटेल तथा पर्यटन समूह र म्युचुअल फन्ड समूहको सूचक २ प्रतिशतले घटेको छ । वाणिज्य बैंक, उत्पादनमूलक समूह र ट्रेडिङ समूहको सूचक १ प्रतिशतभन्दा बढीले घटेको छ । 

बजार १९ महिनाकै न्यून बिन्दुमा आइपुग्दा तेह्रथुम पावर कम्पनीको १० प्रतिशतले घटेर नकारात्मक सर्किट मूल्यमा कारोबार भएको छ । कालिका पावर कम्पनी, रिभरफल्स पावर कम्पनीका लगानीकर्ताले नौ प्रतिशतभन्दा बढीले गुमाउँदा यी कम्पनीका लगानीकर्ता निराश बनेका छन् । कर्णाली डेभलपमेन्ट बैंक, माउन्टेन हाइड्रो नेपाल, सप्तकोसी डेभलपमेन्ट बैंक, ग्लोबल आइएमई समुन्नत स्किम, लिबर्टी इनर्जी कम्पनी, दिव्यश्वरी हाइड्रोपावर, कर्पोरेट डेभलपमेन्ट बैंक र युनिभर्सल पावर कम्पनीको ८ प्रतिशतदेखि आठ दशमलव ७९ प्रतिशतले घटेको छ । बजार घटिरहे पनि आँधी खोला लघुवित्त वित्तीय संस्था र सिवाइसी लघुवित्त वित्तीय संस्थाका लगानीकर्ता उत्साहित बनेका छन् । 

ad
ad