१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
भोजराज भण्डारी काठमाडाैं
२०७९ असार ७ मंगलबार ०६:२७:००
Read Time : > 3 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

नेपालमा पेट्रोलियम दक्षिण एसियाकै महँगो 

Read Time : > 3 मिनेट
२०७९ असार ७ मंगलबार ०६:२७:००

महँगो बेच्नेमा नेपाल एसियामा २८औँ र विश्वमा ८२औँ स्थानमा, सरकारले एक वर्षमै ६४ प्रतिशतले बढायो पेट्रोलको मूल्य

नेपालमा पेट्रोलियम पदार्थको मूल्य दक्षिण एसियामै महँगो भएको छ । नेपाल आयल निगमले सोमबारदेखि पेट्रोलको मूल्य प्रतिलिटर एक सय ९९ रुपैयाँ (१.५९ डलर) र डिजेल प्रतिलिटर एक सय ९२ रुपैयाँ (१.५३ डलर) पुर्‍याएको छ । पेट्रोलियम महँगो बेच्नेमा नेपाल एसियामा २८औँ र विश्वमा ८२औँ स्थानमा छ ।

दक्षिण एसियामा नेपालपछि भुटानमा पेट्रोलियम महँगो छ । त्यहाँ पेट्रोल प्रतिलिटर १.३८ डलर र डिजेल १.२१ डलर छ । भुटानको भन्दा नेपालमा पेट्रोल प्रतिलिटर २६ रुपैयाँ र डिजेल ४० रुपैयाँ महँगो छ । श्रीलंकामा पेट्रोल प्रतिलिटर १.२६ डलर (एक सय ५८ रुपैयाँ) र डिजेल १.१२ डलर (एक सय ४० रुपैयाँ) छ । त्यस्तै, पाकिस्तानमा पेट्रोल प्रतिलिटर १.११ डलर (एक सय ३९ रुपैयाँ) र डिजेल १.२५ डलर (एक सय ५७ रुपैयाँ) छ ।

केही दिन अघिसम्म नेपालको भन्दा महँगो मूल्य रहेको भारत पनि अहिले चौथो नम्बरमा छ । नयाँदिल्लीमा पेट्रोल प्रतिलिटर १.२४ डलर (एक सय ५६ रुपैयाँ) र डिजेल १.१५ डलर (एक सय ४४ रुपैयाँ) पुगेको छ । 

भारतलाई २२ अर्ब तिर्नु छ, बाध्य भएर मूल्य बढाउनुपर्‍यो : दिलेन्द्रप्रसाद बडू, मन्त्री उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय

पेट्रोलियम पदार्थ बाहिरको बजारमा जे मूल्य छ त्यसैमा किनेर ल्याउने हो । ल्याएकै रेटमा बेच्न सकिँदैन । अझै पनि पेट्रोलमा ३१ रुपैयाँ घाटा भइरहेको छ । अहिले प्रत्येक महिना नौ अर्ब ६३ करोड रुपैयाँ घाटा छ । पेट्रोलियम पदार्थ खरिद गरेबापत भारतलाई २२ अर्ब रुपैयाँ तिर्नुपर्नेछ । यो महिनाभित्र तिर्नुपर्छ । त्यसकारण सरकार मूल्यवृद्धि गर्नुपर्ने बाध्यात्मक अवस्थामा पुगेको हो ।

दक्षिण एसियामा माल्दिभ्समा पेट्रोलियमको भाउ सबैभन्दा सस्तो छ । माल्दिभ्समा अहिले पेट्रोल प्रतिलिटर ०.९५ डलर (एक सय १९ रुपैयाँ) र डिजेल ०.९६४ डलर (एक सय २१ रुपैयाँ) कायम छ । बंगलादेशमा प्रतिलिटर ०.९५ डलर (एक सय १९ रुपैयाँ) र डिजेल ०.८५२ डलर (एक सय सात रुपैयाँ) कायम छ । त्यस्तै, अफगानिस्तानमा ०.९५५ डलर (एक सय २० रुपैयाँ) र डिजेल १.१२४ डलर (एक सय ४१ रुपैयाँ) कायम छ ।

पेट्रोलियम पदार्थ महँगोमा बेच्नेमा नेपाल एसियामा २८औँ र विश्वमा ८२औँ स्थानमा छ । विश्वमा पेट्रोलको औसत मूल्य प्रतिलिटर एक सय ८० र डिजेल एक सय ७२ रुपैयाँ हाराहारी छ । 

संसारभर भेनेजुएलामा पेट्रोलको मूल्य सबैभन्दा सस्तो छ । त्यहाँ पेट्रोल र डिजेल दुवैको मूल्य प्रतिलिटर ०.०२२ डलर अर्थात् दुई रुपैयाँ ७५ पैसा छ । डिजेल भने भेनेजुएलाभन्दा इरानमा सस्तो छ । ग्लोबलपेट्रोलप्राइसडटकमका अनुसार इरानमा डिजेलको मूल्य अहिले प्रतिलिटर दुई रुपैयाँभन्दा कम पर्न आउँछ । पेट्रोलियम सस्तोमा बेच्नेमा भेनेजुएलापछि लिबिया र इरान छन् । लिबियामा पेट्रोल र डिजेल दुवै प्रतिलिटर ०.०३१ डलर (चार रुपैयाँ)छ । त्यस्तै, इरानमा पेट्रोल प्रतिलिटर ०.०५३ डलर (सात रुपैयाँ) र डिजेल प्रतिलिटर ०.०११ डलर (एक रुपैयाँ ३८ पैसा)छ । पेट्रोलियम पदार्थको भाउ सबैभन्दा महँगो हङकङमा छ । त्यहाँ अहिले पेट्रोल प्रतिलिटर २.९९९ डलर (तीन सय ७५ रुपैयाँ) र डिजेल २.७७१ डलर (तीन सय ४७ रुपैयाँ) छ । 

गत मेमा विश्वमा कच्चा तेलको मूल्य प्रतिब्यारेल एक सय २८ डलरनजिक पुगेको थियो । अहिले पनि विश्व बजारमा कच्चा तेलको मूल्य एक सय १३ डलर प्रतिब्यारेलको हाराहारीमा छ । सन् २०२३ को अप्रिलअघि विश्व बजारमा कच्चा तेलको मूल्य सय डलरभन्दा तल नझर्ने ब्रेन्ट क्रुड फ्युचरले देखाउँछ । सन् २०२३ को अप्रिलका लागि ब्रेन्ट क्रुड अहिले सय डलरनजिक कारोबार भइरहेको छ । ओपेक बास्केटमा पनि कच्चा तेलको मूल्य एक सय १९ डलरमाथि छ । यसले केही समय विश्वमा तेलको मूल्य उच्च नै रहने संकेत गर्छ । 

अब ग्यासमा दुईथरी मूल्य तोकिने
नेपाल आयल निगमले घरायसी र औद्योगिक प्रयोजनका लागि प्रयोग हुने ग्यासमा असारभित्रै छुट्टाछुट्टै मूल्य तोक्ने भएको छ । औद्योगिक प्रयोजनमा परल मूल्यमा जाने र घरायसी प्रयोजनमा सहुलियत दिन सकिने सम्बन्धमा अध्ययन गर्न गुणस्तर तथा नापतौल विभागका महानिर्देशक नेतृत्वमा टोली गठन भएको निगमका कार्यकारी निर्देशक उमेश थामीले बताए । ‘गुणस्तर विभागबाट प्रतिवेदन आएपछि हामी यही आवभित्र छुट्टाछुट्टै मूल्य निर्धारण गरेर लागू गर्छौँ,’ उनले भने । औद्योगिक र घरायसी प्रयोजनका ग्यास सिलिन्डरको साइज र रङ नै फरक हुने उनले बताए । 

निगम सञ्चालक समितिका अध्यक्ष तथा वाणिज्य तथा आपूर्तिसचिव गणेश पाण्डेले इन्डियन आयल कर्पोरेसन (आइओसी)बाट बक्यौता भुक्तानी नगरेसम्म तेल नपठाउने चेतावनी आएको बताए । पाण्डेका अनुसार आइओसीलाई निगमले २२ अर्बको ब्याज पनि तिर्नुपर्नेछ । बक्यौताको ब्याजदर साढे १२ प्रतिशत छ, असारका बाँकी दिनको समेत जोड्दा निगमले २५ अर्ब रुपैयाँ आइओसीलाई भुक्तानी गर्नुपर्ने अनुमान छ । मूल्यवृद्धि गर्दा बक्यौता नघटे पनि नथपिने निगमको विश्वास छ ।

मूल्यवृद्धिविरुद्ध आन्दोलन

पेट्रोलियममा गरिएको मूल्यवृद्धिको विरोधमा अनेरास्ववियुले सोमबार मसाल जुलुस प्रदर्शन गरेको छ । जुलुस नियन्त्रण गर्न प्रहरीले अश्रुग्यास प्रहार गर्नुका साथै लाठीचार्ज गरेको थियो ।

अनेरास्ववियुका वरिष्ठ उपाध्यक्ष आरसी लामिछानेसहित आधा दर्जनभन्दा धेरै नेता–कार्यकर्ता घाइते भएको अध्यक्ष सुनिता बरालले बताइन् । उनका अनुसार ६ जना उपचारपछि घर फर्किएका छन् । सामान्य घाइते हुनेको संख्या अझ धेरै छ । मूल्यवृद्धि फिर्ता नभएसम्म आन्दोलन जारी राख्ने अध्यक्ष बरालले बताइन् । 

एक वर्षअघि प्रतिलिटर १२८ को पेट्रोल अहिले १९९ रुपैयाँ
नेपालमा एक वर्षको अवधिमा पेट्रोलको मूल्य ६४ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो वर्ष ३० असारमा पेट्रोल प्रतिलिटर १२८ रुपैयाँ थियो, सोमबारदेखि १९९ रुपैयाँ पुर्‍याइएको छ ।

त्यस्तै, डिजेल तथा मट्टीतेलको मूल्य एक वर्षमा ५७.८ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो वर्ष ३० असारमा डिजेल र मट्टीतेलको मूल्य १११ रुपैयाँ थियो, अहिले १९२ रुपैयाँमा बिक्री गरिँदै छ । ग्यास अघिल्लो वर्षको जेठमा प्रतिसिलिन्डर १६ सय रहेकोमा अहिले १८ सय पुर्‍याइएको छ । उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमल्सिनाले जनताको ढाड सेक्ने गरी सरकारले मनलाग्दी मूल्यवृद्धि गरेको बताए ।

‘सरकारले आफ्नो मात्र निजी स्वार्थ हेर्ने काम गरेको छ, तर जनता कुन अवस्थाबाट गुज्रिएका छन् भन्ने हेक्का छैन, यो जनतामाथिको अन्याय हो,’ उनले भने । नेपाल आयल निगमले भने रुस–युक्रेन युद्धका कारण अन्तर्राष्ट्रिय बजारमै कच्चा तेलको मूल्य बढेकाले नेपालमा पनि बाध्य भएर बढाउनुपरेको बताउने गरेको छ ।