१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
श्रवण थापा सर्लाही
२०७९ असार ३ शुक्रबार १८:३५:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

जिसस सर्लाहीको प्रमुख र उपप्रमुखमा सिंह र महतो निर्विरोध

Read Time : > 1 मिनेट
श्रवण थापा, सर्लाही
२०७९ असार ३ शुक्रबार १८:३५:००

जिल्ला समन्वय समिति प्रमुख र उपप्रमुखमा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका उम्मेदवार निर्विरोध निर्वाचित भएका छन् । जिल्ला समन्वय समिति सर्लाहीको सभापतिमा नेपाली कांग्रेसको तर्फबाट उम्मेदवार बनेका कौशलकिशोर सिंह निर्विरोध निर्वाचित भएका छन् भने उपसभापतिमा माओवादी केन्द्रका उम्मेदवार जितेन्द्रकुमार महतो निर्विरोध निर्वाचित भएका छन् ।  समितिका अन्य पदमा समेत सम्पूर्ण उम्मेदवार निर्विरोध भएका मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
 
बिहीबारबाट सुरु भएको निर्वाचन तालिकाअनुसार शुक्रबार (आज) उम्मेदवारको मनोनयन दर्ता, उम्मेदवारको सूची प्रकाशन, उम्मेदवारविरुद्ध दाबी विरोध, मनोनयन पत्रको जाँच उजुरीउपर निर्णय, उम्मेदवारको नामावली प्रकाशन, उम्मेदवारी फिर्ता र अन्तिम नामावली प्रकाशनको समय तालिका रहेको थियो । उम्मेदवारी दर्ता प्रक्रियामा नै पदसंख्याअनुसार मात्र उम्मेदवारी परेको हो । 

निर्वाचन तालिकाअनुसार उम्मेदवारको अन्तिम नामावली सार्वजनिकसँगै मुख्य निर्वाचन अधिकृतको कार्यालयले सम्पूर्ण पदाधिकारी निर्विरोध निर्वाचित भएको घोषणा गरेको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार सभापति पदमा नेपाली कांग्रेसका सिंह, उपसभापतिमा नेपाल कम्युनिस्ट पार्टी(माओवादी केन्द्र) का महतो निर्विरोध निर्वाचित भएका हुन् । 

यस्तै नेपाली कांग्रेसका जलाउदिन मियाँ, रामबहादुर बम्जन तामाङ र माओवादी केन्द्रका हिमबहादुर कार्की जिल्ला समन्वय समितिको सदस्य पदमा, नेपाली कांग्रेसकी पासपतीदेवी थरुनी, रामशीलाकुमारी यादव र रेखादेवी महिला सदस्य पदमा निर्विरोध भएका छन्  भने दलित एवं अल्पसंख्यक सदस्य पदमा नेपाली कांग्रेसकी सोनावती देवी बैठा निर्वाचित भएकी जिल्ला निर्वाचन कार्यालयका प्रमुख दिवाकर भुजेलले जानकारी दिए । 

२० पालिका रहेको सर्लाहीमा कांग्रेस एक्लैको २३ मत संख्या रहेको थियो भने, दोस्रोमा रहेको नेकपा माओवादी केन्द्रको ८, संघीय समाजवादीको चार, नेकपा एमाले र  लोकतान्त्रिक समाजवादीको २/२ मत संख्या रहेको थियो । स्पष्ट बहुमत रहे पनि नेपाली कांग्रेसमा अन्तिमसम्म उम्मेदवारबीच भएको रस्साकस्सीका कारण एकलौटी समन्वय समिति गठन गर्न सक्ने सम्भावना तुहिएको जानकारहरूको भनाइ छ । 

उम्मेदवारीको अघिल्लो दिन बिहीबार साँझसम्म कांग्रेसका पूर्वकेन्द्रीय सदस्य जंगीलाल रायका भाइ जगन्नाथ राय र कौशलकिशोर सिंह टिकटको कडा दौडधुपमा थिए । अन्ततः प्रदेश कमिटीले सिंहलाई टिकट दिएर पठाएको हो । सिंहले शुक्रबार दिउँसो मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर माओवादीसँगको गठबन्धनसहित उम्मेदवारी दिएका हुन् । 

जिल्ला समन्वय समितिमा प्रमुख, उपप्रमुख, सदस्य, महिला सदस्य र दलित तथा अल्पसंख्यक सदस्य गरी नौजना पदाधिकारी निर्वाचित हुने व्यवस्था छ । यसअघि जिल्ला समन्वय समिति मतदान कार्यतालिका असार ५ गतेको लागि तय गरिएको थियो । योसँगै सर्लाहीमा स्थानीय तह निर्वाचनका सम्पूर्ण प्रक्रिया सम्पन्न भएको जिल्ला निर्वाचन कार्यालय सर्लाहीले जनाएको छ ।