मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ असार ३ शुक्रबार
  • Monday, 30 December, 2024
मोसब्बर होसैन
२o७९ असार ३ शुक्रबार o७:१३:oo
Read Time : > 2 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

जलवायु परिवर्तन र बंगलादेशी बालबालिका

बंगलादेशको कुल १६ करोडमध्ये ४० प्रतिशत जनसंख्या बालबालिकाको छ, शोधकर्ताका अनुसार यी बालबालिकाले जलवायु परिवर्तनको ठूलो मूल्य चुकाइरहेका छन्

Read Time : > 2 मिनेट
मोसब्बर होसैन
नयाँ पत्रिका
२o७९ असार ३ शुक्रबार o७:१३:oo

१२ वर्षीय अलअमिनको घर दक्षिण बंगलादेशस्थित इल्सा नदीको किनारमा थियो । गत वर्ष भीषण बाढीले घर बगाएपछि परिवार राजधानी ढाकानजिकको केरानीगन्जको झुग्गीबस्तीमा बसाइँ सर्न बाध्य भयो । दुई वर्षअगाडि बुबाको क्यान्सरले मृत्यु भएपछि अलअमिन जहाजको कबाडी मजदुरी गर्दै आएका छन् र आमाले मजदुरका लागि खाना पकाउँछिन् । दुवैको आम्दानीले आमा, अलअमिन र दुईजना तीन र पाँच वर्षका भाइबहिनीको जीविका चलाउन जसोतसो पुग्छ । ‘कुनैवेला हाम्रो आर्थिक अवस्था ठिकै थियो । मेरा श्रीमान्ले खेती गर्थे र छोरो नजिकैको प्राथमिक विद्यालयमा पढ्थ्यो,’ अलअमिनकी आमा अमिना बेगम बताउँछिन् । नदीले सम्पत्ति बगाउनु र क्यान्सरको असफल उपचारपछि अलअमिनसँग ज्यालामजदुरीको विकल्प छैन भन्दै बेगम दुखेसो गर्छिन् । 

प्रतिकूल मौसमका कारण हुने बाढीपहिरो र हावाहुरीका कारण दक्षिणी बंगलादेशका हजारौँ परिवार ढाकाका झुग्गीबस्तीमा सर्न बाध्य छन् । यसरी सरेका परिवारका अधिकांश बालबालिका शिक्षाबाट वञ्चित हुन्छन् र जिन्दगीभरका लागि श्रमको बोझ बोक्न बाध्य हुन्छन् । राष्ट्रसंघीय नियोग युनिसेफको गत अगस्टको प्रतिवेदनअनुसार दक्षिण एसियाली मुलुक बंगलादेश, अफगानिस्तान र भारतका बालबालिका जलवायु परिवर्तनका कारण ‘अत्यधिक’ जोखिममा छन् । सो प्रतिवेदनले ३३ मुलुकका करिब एक अर्ब बालबालिका जलवायु परिवर्तनको जोखिममा छन् भन्ने जनाएको छ । प्रतिवेदनमा युनिसेफ दक्षिण एसियाका क्षेत्रीय निर्देशक जर्ज लार्या–एड्जीले ‘हामीले पहिलोपटक दक्षिण एसियाका दशौँ लाख बालबालिका जलवायु परिवर्तनले प्रभावित भएको स्पष्ट प्रमाण देखिरहेका छौँ’ भनेका छन् । युनिसेफका अधिकारीअनुसार खडेरी, बाढी र पहिरोले यस क्षेत्रका बालबालिकालाई घरबारविहीन तथा भोको बनाएको छ, स्वास्थ्य उपचार एवं स्वच्छ खानेपानीबाट वञ्चित बनाइदिएको छ र धेरै बालबालिका विद्यालय छोड्न बाध्य भएका छन् । 

बंगलादेशमा करिब ७०० नदी छन् र यसबाट निम्तिने बाढी र पहिरोले ग्रामीण इलाकाका मानिसलाई सहरी झुग्गीबस्तीतर्फ धकेलिरहेको छ । बंगलादेशको कुल १६ करोड जनसंख्याको ४० प्रतिशत जनसंख्या बालबालिका छन् र शोधकर्ताका अनुसार यी बालबालिकाले ठूलो मूल्य चुकाइरहेका छन् । करिब १७ लाख बालबालिका मजदुरी गर्छन् र यी बालमजदुरमा पनि चारमा एकजना ११ वर्ष वा मुनिका छन् । र, युनिसेफका अनुसार यी आँकडामा बालिका छुट्ने गर्छन् ।
ढाकाका झुग्गीबस्तीवरपर बालबालिकालाई छाला उद्योग, जहाजअड्डा, लुगा कारखाना वा ग्यारेजतिर मजदुरी गरिरहेको सजिलै देख्न सकिन्छ । यी बालमजदुर पहिले गाउँमा बस्ने गरेको र पछि सहर आउन बाध्य भएको बताउँछन् । पसिना चुहाइरहेका १० वर्षीय अलाउद्दिन ढाकाको एक तरकारी बजारमा आलु सफा गर्ने र ओसारपसार गर्ने काम गर्छन् । गत वर्षको भीषण बाढीले जमलपुर सहरमा रहेको आफ्नो घर, जमिन र विद्यालय बगाएपछि उनको देवराईपाच प्राथमिक विद्यालयबाट पढाइ छुटेको छ । परिवारै ढाकाको झुग्गीबस्तीमा आएपछि अलाउद्दिनका बुबा रिक्सा चलाउँछन् र आमा एक निजी विद्यालयमा आंशिक रूपमा सरसफाइको काम गर्छिन् । अलाउद्दिनले दिनमा सय टाका कमाउँछन् (एक सय ३४ नेपाली रुपैयाँ), जुन परिवारको जीविकाका लागि नभई हुँदैन ।

थमसन रोइटर्स फाउन्डेसनसँगको टेलिफोन अन्तर्वार्तामा बंगलादेशी सहायक शिक्षामन्त्री मोहिबुल हसन चौधरी गत वर्ष बाढीले मुलुककै १० जिल्लाका पाँच सयभन्दा बढी विद्यालय डुबाएको बताउँछन् । केही विद्यालय त तहसनहस नै भएका छन् भने अधिकांश डुबानबाट जसोतसो जोगिएका छन्, तर पठनपाठनका लागि थोरै मात्र विद्यालयको जीर्णोद्धार भएको छ । सन् २०२१ को बंगलादेशको वार्षिक प्राथमिक विद्यालय गणनामा एक करोड दुई लाख ४० हजार विद्यार्थी ६५ हजार सरकारी प्राथमिक विद्यालयमा पढ्ने गरेका थिए, तर सन् २०२१ मै १७ प्रतिशत अर्थात् करिब २० लाख बालबालिकाले विद्यालयको पढाइ छाडेका छन् । 
विद्यालय जानुपर्ने नौ वर्षकी रूपा पनि बाल मजदुर हुन् । खुल्ना श्यामनगरमा रहेको घर गत वर्षको चक्रवातले ध्वस्त बनाएपछि रूपाको परिवार ढाकानजिकको झुग्गीबस्तीमा बस्ने काकीसँग बस्न थालेका छन् । अशक्त एवं दृष्टिविहीन श्रीमान् र छोरीलाई पहिल्यै रूपाकी आमाले छोडेकी थिइन् । अहिले रूपाले घाटमा तरबुजा ओसारेर दिनको सय टाका कमाउँछिन् । ‘मलाई थाहा छ, तन्नेरी ज्यामीसँगै एक सानी नानीले काम गर्नु निकै गाह्रो हो, तर म लाचार छु । मेरो पनि एक वर्षको दुधे बालक र परिवार चलाउनु छ,’ रूपाकी काकी बताउँछिन् । 

अन्तर्राष्ट्रिय श्रम संगठन, बंगलादेशकी राष्ट्रिय योजना प्रमुख सयदा मुनिरा सुल्तानले आफूले रूपाजस्ता कैयौँ बालिका भेटेको, जो प्रतिकूल मौसम वा अन्य जलवायु प्रभावका कारण मजदुरी गर्न बाध्य छन् । ‘केरानीगन्जनजिक १० वर्षमुनिका बालिका महिलाको लुगा बनाउने फ्याक्ट्रीमा मजदुरी गरिरहेको देख्दा म चकित परेकी थिएँ,’ सुल्तान बताउँछिन् । उनका अनुसार ती बालिका बरिसाल, खुल्ना, सत्खिराजस्ता जलवायु जोखिमयुक्त ठाउँका हुन् र सबै बालिका विद्यालयको पढाइ छाडेर आएका थिए । आइएलओका बंगलादेशका प्रमुख टुओमो पोउटियानेनका अनुसार मजदुरी गर्न बाध्य बालबालिकाले शारीरिक एवं मानसिक चोटपटक भोग्नुका साथै शिक्षाको अवसर पनि गुमाउन सक्छन्, जसले भविष्यको सम्भावनालाई सीमित पार्नेछ र गरिबी एवं बालश्रमको अन्तर–पुस्तेनी दुश्चक्र निम्त्याउनेछ । थमसन रोइटर्स फाउन्डेसन न्युजबाट