मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ जेठ ३० सोमबार ११:०४:००
Read Time : < 1 मिनेट
साहित्य डिजिटल संस्करण

माबुहाङ र लावतीको ‘दश लिम्बुवान सत्रथुमको नीति’ सार्वजनिक

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ जेठ ३० सोमबार ११:०४:००

अर्जुनबाबु माबुहाङ र लक्ष्मण लावतीको पुस्तक ‘दश लिम्बुवान सत्रथुमको नीति’ सार्वजनिक भएको छ। नेपाल प्रज्ञा–प्रतिष्ठानमा आइतबार आयोजित कार्यक्रममा पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई र स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री भवानी खापुङले पुस्तक विमोचन गरेका हुन्।

विमोचन कार्यक्रममा पूर्वप्रधानमन्त्री भट्टराईले देशमा संघीय गणतन्त्रात्मक शासन व्यवस्था सुनिश्चित गर्दै संविधान जारी भए पनि विभिन्न राष्ट्रियताहरूको जगेर्ना गर्दै उनीहरूको पहिचानसहितको अधिकार दिलाउने व्यवस्था हुन नसकेको भन्दै आफू यसका लागि दृढतापूर्वक लागिरहेको बताए। समग्रमा लिम्बू जाति भन्नासाथ किराँत भन्ने मान्यता स्थापित रहेको भन्दै उनले सो पुस्तकले लिम्बू र लिम्बुवानको परिचय र पहिचानको खोजी गर्दै त्यससँग सम्बन्धित प्रमाणहरू आममानिसको पहुँचमा पुर्‍याएको बताए।

स्वास्थ्य राज्यमन्त्री खापुङले लिम्बू जाति र इतिहासबारे धेरै नै अध्ययन र अनुसन्धान गरेर लेखिएको सो पुस्तक अति नै महत्वपूर्ण रहेको बताए। अध्येता तथा लेखक इमानसिंह चेम्जोङ र प्राध्यापक बालकृष्ण माबुहाङले यस्ता महत्वपूर्ण दस्ताबेज समेटिएको पुस्तकलाई राज्यले आफ्नो सम्पत्तिको रूपमा वैधता दिनुपर्ने बताए। लेख्नेभन्दा पनि सुनाउँदै अघि बढ्ने गरेको मुन्धुम सभ्यताका कारण लिम्बू जाति र पहिचानबारे आधिकारिक पुस्तक पाउन कठिनाइ हुने गरेको सन्दर्भमा यो र यस्ता पुस्तकले अत्यन्तै ठूलो भूमिका निर्वाह गरेको उनीहरूको भनाइ थियो।

पूर्वराज्यमन्त्री तथा सांसद सीता गुरुङले इतिहास र सभ्यताको विषयमा पुस्तक लेख्नेजस्तो गाह्रो काम सम्पन्न गरेकोमा लेखकद्वयलाई बधाई दिइन्।

लेखक लक्ष्मण लावतीले आवश्यक दस्ताबेज र स्थलगत अध्ययनमार्फत अनुसन्धान गर्दाका अनुभवहरू सुनाउँदै आफूसँग भएका महत्वपूर्ण प्रमाण र दस्ताबेजहरू आममानिसका लागि उपलब्ध गराउनुपर्नेमा जोड दिए। तेजेन्द्र कुरुम्बाङले प्रकाशन गरेको पुस्तकको मूल्य ६५० रुपैयाँ राखिएको छ।