निर्वाचनमुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियापन्ध्रौं वार्षिकोत्सव विशेषांकखेलकुदविश्वकोरोना अपडेटप्रवासकर्नर किकसम्पादकीय१३औँ वार्षिकोत्सव विशेषांकसाहित्यस्वास्थ्य र जीवनशैलीफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंगटर्निङ प्वाइन्ट्स-२०२२१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०टर्निङ प्वाइन्ट्स-२०१९प्रदेशब्लगEnglish
  • वि.सं २०७९ भदौ १ बुधबार
  • Wednesday, 17 August, 2022
२०७९ जेठ २९ आइतबार ०८:००:००
Read Time : > 1 मिनेट
सप्तरंग प्रिन्ट संस्करण

नदीको दु:ख देखाउँदै हिउँको पृथ्वी यात्रा

Read Time : > 1 मिनेट
२०७९ जेठ २९ आइतबार ०८:००:००

देशमा नदीतट भत्काउन डोजरको होड र तटबन्ध बनाउन बजेटको बाढी छ । नदीबाट जथाभावी ढुंगा, गिटी दोहन गर्दा सिंगो तराई नै संकटमा छ भने वातावरणीय क्षति तीव्र भएको छ । अघिल्लो सरकारले बजेटमार्फत ढुंगा, गिटी, बालुवा निर्यातको कार्यक्रम अगाडि बढाएपछि सर्वाेच्च अदालतले रोकिदिएको थियो । तर, फेरि अहिलेको सरकारले ढुंगा निर्यातको विवादास्पद कार्यक्रम बजेटमा समेटेपछि फेरि बहस चर्किएको छ । 

नदी दोहनले भूगोल, प्रकृति, जीवजन्तु र स्वयं मानव जीवनमाथि कसरी असर पारेको छ ? पर्यावरण सम्बन्धित ‘हिउँको पृथ्वी यात्रा’ नामको करिब एक घन्टाको नाटकले छर्लंग पार्छ । शिल्पी थिएटरको प्रस्तुति ‘हिउँको पृथ्वी यात्रा’ अहिले नेपाल यात्रामा छ । जसअन्तर्गत चितवनको नारायणी कला मन्दिरमा शुक्रबार नाटक मञ्चन सुरु भएको छ । 

विकासको नाममा मानिसले आफ्नै विनाश गरिरहेको विषय मात्र होइन, नदीमा आश्रित आदिवासीलाई राज्यले गरेको विभेदलाई नाटकमा अभिनय गरेका पवित्रा खड्का, संगीता उराँव, झकेन्द्र बिसी, ज्योति पोखरेल, रविन परियार, गोविन्द ओली, हिमाल भुजेल, सुशीला लोहार, ज्याक बराललगायत कलाकारहरूले देखाएका छन् ।

नेपालका हरेक गाउँको कथा
वर्षा सुरु हुँदै गर्दा मुग्लिङ–नारायणगढ सडक खण्डमा पहिरो गएको छ । बाढी र पहिरोले क्षति पु¥याएका समाचार आउँदै छन् । भरतपुरमा बसेर ‘हिउँको पृथ्वी यात्रा’नाटक हेरेपछि लाग्छ हाम्रै कारणले यो विपत् आएको हो ।

यो नाटकमा तीनवटा नदीले आफ्नो कथा भन्छन् । हिमालबाट हिउँ पग्ली बनेको नदी समुद्रमा पुगेर वाष्पीकरण भएर पुनः पानी पर्ने प्रक्रियामा मानवले परेको असरको अन्तरकथा नाटकमा छ । नदीको चक्र नै बिगार्ने गरी गरिएको दोहन, मानवीय विकास क्रमशः सडक, पुल, तटबन्धन, जलविद्युत् आयोजनाले नदीको दिशा नै परिवर्तन गरेपछि नदीमा आश्रित वन्यजन्तुको अवस्था र खोलाको किनारमा बस्ने आदिवासी समुदायको लोप हुँदै गएको विषय देखाइएको छ ।

नाटकमा तराईको एउटा परिवार जो नदीको छेउमा खेतीपातीसँगै माछा मारेर जीवन निर्वाह गर्दै आएको देखाइन्छ । उनीहरूको गाँस नै खोस्ने गरी निर्माण भएको अप्राकृतिक संरचनामा मौन रहेको राज्यले उनीको वर्षौँदेखिको पेसालाई रोक्ने नीति–नियम बनाएको विषय र नदी दोहन गरेर भएका कंक्रिट विकासको प्रतिस्पर्धालाई प्रस्तुत गरिएको छ । नदीको दिशा नै परिवर्तन भएपछि जंगली जनावर बस्तीमा आएर सामान्य दैनिकी बिताउने आदिवासी समुदायमा गरेको मृत्युसम्मको क्षति नाटकमा देखिन्छ । 

यति घट्ना हुँदा पनि प्राकृतिक दोहनसम्म गर्नेहरूमाथि सरकारको नीति–नियम पुगेको छैन । नाटकमा राजनीतिलाई पनि व्यंग्य गरिएको छ । उचित नीति नियमन बनाउने, तर विपत्पछि सुटबुट र हेलिकोप्टर चढेर प्रचार गरेर आर्थिक सहयोग गर्ने नेतृत्व पनि नाटकमा देखाइएको छ । स्थानीय भाषाको प्रयोग र पोसाकले नाटकको विषयवस्तुलाई थप बलियो बनाएको छ । 

घिमिरे युवराज र अमजद प्रवेजको लेखन निर्देशन रहेको ‘हिउँको पृथ्वी यात्रा’को सन्देश नै मानव जगत्ले प्रकृतिमाथि गरेको एकोहोरो दोहनले खडेरी परेर खोलानाला सुक्छ र प्रकृतिमा रहेका सजीव प्राणीको अस्तित्व नै समाप्त हुन सक्छ भन्ने सन्देश हो । समाजकै तितोसत्यलाई नाटमा ग्रामीण परिवेशमार्फत सबैले बुझ्ने भाषामा देखाइएको छ । १२ जेठमा यो नाटक भारतको कालेङबुङमा भएको ‘कालेङबुङ नाट्य उत्सव’मा सहभागी गराएर नाटकको टोली नेपाल यात्रामा छ । नाटकलाई अनुप तिमिल्सिना र स्मारिका फुँयालको संगीतले थप आकर्षक बनाएको छ । नारायणगढमा तीन दिनसम्म मञ्चन हुने नाटकका लागि कर्मी चौतारी र नारायणी कलामन्दिरले समन्वयात्मक भूमिका खेलेका छन् । 

भरतपुरबाट सुरु भएको नाटकको नेपाल यात्रा जनकपुर, सुनसरी, मोरङ, झापालगायतका ठाउँमा बर्खाअघि पुग्नेछ भने बर्खापछि पश्चिमको यात्रामा निस्कने लेखक घिमिरे युवराजले बताए ।