मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७९ जेठ २८ शनिबार १२:२६:००
Read Time : > 1 मिनेट
साहित्य डिजिटल संस्करण

रोल्पाको जेठो साहित्यिक संस्था ललितमा विरही

Read Time : > 1 मिनेट
२०७९ जेठ २८ शनिबार १२:२६:००

रोल्पाको जेठो साहित्यिक संस्था ललित साहित्य परिषद् रोल्पाको आठौं अधिवेशन शनिबार लिबाङमा सम्पन्न भएको छ। परिषद्का कार्यवाहक अध्यक्ष नवीन लोचनमगरको अध्यक्षतामा नगर पुस्तकालयमा आयोजित अधिवेशनले के.बी. विरहीको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ।

गठित नौ सदस्यीय कार्यसमितिमा उपाध्यक्ष देवी गुरुङ, महासचिव चन्द्रज्योती सुवेदी, सचिव बन्दना घर्तीमगर र कोषाध्यक्षमा एन्जिला घर्तीमगर रहेका छन्। त्यस्तै सदस्यहरुमा सफल बुढामगर, सपना सरगम, सिजन मगर ‘चक्रे’ र हिमा खड्का रहेका छन्।

उद्घाटन कार्यक्रममा रोल्पा नगरपालिकाका निवर्तमान प्रमुख तथा साहित्यकार पुरण क्षेत्री, ललित साहित्य परिषद्का संस्थापक अध्यक्ष डी.बी. टुहुरो, नेपाली लेखक संघका केन्द्रीय कोषाध्यक्ष दामु मर्सिफुल, राप्ती साहित्य परिषद्, रोल्पा शाखाका अध्यक्ष कविता उपाध्याय, नेपाल मुक्तक प्रतिष्ठान, जिल्ला शाखा रोल्पाका अध्यक्ष देवी गुरुङ, नेपाल पत्रकार महासंघ रोल्पाका सचिव लोकेन्द्र चन्द, पत्रकार महासंघका पूर्वअध्यक्ष खेम बुढामगर, निवर्तमान अध्यक्ष महेश न्यौपानेलगायत साहित्यकार तथा पत्रकारहरुको उपस्थिति रहेको थियो।

कार्यक्रममा बोल्दै रोल्पा नगरपालिकाका निवर्तमान नगरप्रमुख क्षेत्रीले साहित्यले समाज मात्र नभइ मान्छेको मनलाई समेत जोड्ने बताए। पछिल्लो समय साहित्यमा नयाँ पुस्ता जोडिने कुरामा केही अभाव देखिएको भन्दै उनले पुस्तान्तरणका लागि संस्थागत अग्रसरता आवश्यक रहेको उल्लेख गरे। कार्यक्रममा बोल्दै ललित साहित्य परिषद्, रोल्पाका संस्थापक अध्यक्ष डी.बी. टुहुरोले ललित साहित्य परिषद्को विकासका लागि सबैको एकताबद्ध सहकार्य हुनुपर्ने बताए।

पहिलो बैठक सम्पन्न
ललित साहित्य परिषद् रोल्पाका नयाँ कार्यसमितिको पहिलो बैठक पनि आजै सम्पन्न भएको छ। नवनिर्वाचित अध्यक्ष के.बी. विरहीको अध्यक्षतामा सम्पन्न पहिलो बैठकले आठौं अधिवेशन सम्पन्न गर्नका लागि साथ र सहयोग गर्ने साहित्यकारहरु, पत्रकारहरु, शुभचिन्तक तथा सरोकारवालाहरुमा धन्यवाद दिने निर्णय गरेको छ। यस्तै बैठकले अघिल्लो कार्यकालका सबै पदाधिकारीहरुलाई समेत धन्यवाद ज्ञापन गरेको छ।

परिषद्ले जिल्लाका सरोकारवालाहरु, परिषद्का पूर्व सल्लाहकारहरु, निवर्तमान पदाधिकारीहरुसँग समन्वय गरेर कार्यालय व्यवस्थापन तथा अन्य कार्यक्रमहरु गर्ने निर्णय गरेको छ । यस्तै आर्थिक सहजताका लागि परिषदका अध्यक्ष के.बी. विरही र कोषाध्यक्ष एन्जिला घर्तीमगरको संयुक्त हस्ताक्षर चल्ने गरी खाता नामसारी गर्ने निर्णय गरेको छ । आठौं अधिवेशनपश्चात् चयन भएका नयाँ पदाधिकारीहरुको पहिलो बैठक रोल्पा नगरपालिकाको नगर पुस्तकालयमा सम्पन्न भएको थियो ।