१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
२o८१ बैशाख २१ शुक्रबार १o:o९:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार प्रिन्ट संस्करण

मेडिकल कलेज सञ्चालन गर्दै पूर्वाञ्चल विश्वविद्यालय

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार १o:o९:oo

पूर्वाञ्चल विश्वविद्यालयले पहिलोपटक आफ्नै मेडिकल कलेज सञ्चालनको तयारी गरेको छ । विश्वविद्यालयले एमबिबिएस, बिडिएसलगायत कार्यक्रम सञ्चालन गर्न कोसी अस्पतालसँग सम्झौता गरेर प्रक्रिया अघि बढाएको छ । मेडिकल कलेज खोल्न दिन शिक्षा मन्त्रालय पनि सकारात्मक देखिएको छ ।

शिक्षा मन्त्रालयका अधिकारीका अनुसार अर्को शैक्षिक सत्रदेखि कार्यक्रम सञ्चालन गर्ने गरी तयारी भइरहेको छ । विश्वविद्यालयसँग पूर्वाधार रहेको र कोसी अस्पतालसँग सम्झौता भइसकेकाले सञ्चालनका लागि कठिन नरहेको अधिकारीको भनाइ छ । 

पूर्वाञ्चल विश्वविद्यालयका मेडिकल एन्ड एप्लाइड साइन्सका डिन डा. शैलेशमणि पोखरेलले एमबिबिएसको पाठ्यक्रम र भौतिक पूर्वाधार बनिसकेको र पुस्तकालयसमेत अपडेट गरिसकेको बताए । ‘हामीले कोर्स तयार पारेका छौँ, एकपटक छलफल गरेर फाइनल हुन्छ, पढाइका लागि बेसिक साइन्सको भवन पनि बनिसकेको छ,’ डिन पोखरेलले भने, ‘हामीले बजेट पनि विनियोजन गरेका छौँ, सरकारबाट निर्णयको पर्खाइमा छौँ ।’ 

स्वास्थ्य मन्त्रालयको अनुमतिमा कोसी अस्पताललाई शिक्षण अस्पतालका रूपमा सञ्चालन गर्ने सम्झौता भएपछि विश्वविद्यालय अन्य तयारीमा लागेको हो । विश्वविद्यालयले यो शैक्षिक सत्रबाटै चिकित्सा शिक्षाको बिएलएमटी कार्यक्रम सञ्चालन गर्दै छ । डिनका अनुसार चिकित्सा शिक्षा आयोगले बिएलएमटीका लागि कोटासमेत निर्धारण गरेको छ । पूर्वाञ्चल विश्वविद्यालयले सय बेडको छुट्टै अस्पताल सञ्चालनको समेत तयारी छ । कोभिड अस्पताललाई अपडेट गरी आगामी वर्षदेखि सुरु गर्ने तयारी गरेको हो । 

झन्डै एक दशक लगाएर भौतिक संरचना निर्माण सम्पन्न भएको कैलालीस्थित गेटा मेडिकल कलेजमा अस्पताल सञ्चालन हुने भएको छ । अस्पताल सञ्चालनका लागि स्वास्थ्य मन्त्रालयलाई जिम्मेवारी दिने सरकारले निर्णय गरेको छ । स्वास्थ्य मन्त्रालय स्रोतका अनुसार अस्पताल निर्देशक नियुक्तिका लागि छलफल भइसकेको छ । 

सरकारको प्राथमिकतामा मेडिकल कलेज
सरकारले मेडिकल कलेज स्थापनालाई नीति तथा कार्यक्रम र बजेट वक्तव्यमा समेत प्राथमिकता दिएको छ । गुणस्तरीय स्वास्थ्य शिक्षा र सेवाको विस्तार गरी प्रादेशिक सन्तुलन कायम गर्न विश्वविद्यालयहरूसँगको सहकार्यमा प्रदेश सरकारअन्तर्गतका अस्पतालहरूमा मेडिकल कलेज स्थापना गर्ने नीति लिइने बजेट वक्तव्यमा उल्लेख छ । बुटवल मेडिकल कलेज र लुम्बिनी प्रादेशिक अस्पताल, सुर्खेत मेडिकल कलेज र कर्णाली प्रादेशिक अस्पताल, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र चौरहजारी सामुदायिक अस्पताल तथा गेटा मेडिकल कलेज र सेती तथा महाकाली अस्पतालबीचको सहकार्यमा सम्बन्धित विश्वविद्यालयअन्तर्गत मेडिकल कलेज सञ्चालन गर्ने व्यवस्था मिलाउने उल्लेख छ । डडेल्धुरामा मेडिकल कलेज स्थापनाको प्रक्रिया अघि बढाउने बजेटमा उल्लेख छ । त्यसका लागि सरकारले बजेटसमेत विनियोजन गरेको छ । डडेल्धुरा प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला हो । 

ad
ad