स्थानीयको अवरोधबीच बन्चरेडाँडामा फोहोर फाल्न सुरु गरिएको छ। प्रहरीको स्कर्टिङमा केमिकल छर्दै सो क्षेत्रमा फोहोर फाल्न थालिएको हो। प्रहरीसँगै काठमाडौं महानगरले केमिकल छर्ने गाडी पनि बन्चरेडाँडामा पठाएको छ।
सोमबार सहरी विकास मन्त्रालय, काठमाडौैं महानगरपालिका र प्रभावित क्षेत्रका प्रतिनिधिबीच मंगलबारदेखि फोहोर फाल्ने सहमति भएको थियो। तर, सहमति कार्यान्वयन भएपछि मात्रै फोहोर फाल्न दिने बताउँदै स्थानीयले मंगलबार बिहान फोहोरका गाडी रोकेका थिए। सो क्रममा प्रहरी र स्थानीयबीच झडप हुँदा केही स्थानीय पक्राउ परेका थिए।