निर्वाचनमुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियापन्ध्रौं वार्षिकोत्सव विशेषांकखेलकुदविश्वकोरोना अपडेटप्रवासकर्नर किकसम्पादकीय१३औँ वार्षिकोत्सव विशेषांकसाहित्यस्वास्थ्य र जीवनशैलीफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंगटर्निङ प्वाइन्ट्स-२०२२१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०टर्निङ प्वाइन्ट्स-२०१९प्रदेशब्लगEnglish
  • वि.सं २०७९ श्रावण २४ मंगलबार
  • Tuesday, 09 August, 2022
विकास रावल
२०७९ जेठ १८ बुधबार ०७:०२:००
Read Time : > 2 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

वर्तमान खाद्यसंकटबाट के सिक्ने ? 

द्वन्द्व र जलवायु परिवर्तनले खाद्य सुरक्षामा नकारात्मक असर पारेको भए पनि यसैलाई वर्तमान समस्याका आधारभूत कारण मान्नु संकटको अन्तर्निहित एवं गम्भीर कारणलाई बेवास्ता गर्नु हो 

Read Time : > 2 मिनेट
विकास रावल
२०७९ जेठ १८ बुधबार ०७:०२:००

विश्वले हाल दशकौँदेखि नभोगेको खाद्यसंकटको सामना गरिरहेको छ । राष्ट्र संघको खाद्य तथा कृषि संगठन (एफएओ) का अनुसार तीव्र खाद्य असुरक्षाको सामना गरिरहेका र तत्काल जीवन बचाउनका लागि खाद्य सहायता र जीविकोपार्जनमा सहयोग आवश्यक पर्ने मानिसको संख्या डरलाग्दो दरमा विस्तार भइरहेको छ । 
पछिल्लो स्टेट अफ फुड सेक्युरिटी एन्ड न्युट्रिसन (सोफी) प्रतिवेदनअनुसार सन् २०१९ मा करिब दुई सय ३७ करोड मानिसले मध्यमदेखि गम्भीर खाद्य असुरक्षाको सामना गरिरहेका छन् । यीमध्ये ६२ करोड मानिस भारतमा छन् । यस वर्षको अन्त्यमा प्रकाशित हुने सन् २०२० को प्रतिवेदनमा खाद्य असुरक्षा र भोकमरीको संख्या उल्लेख्य रूपमा वृद्धि हुने देखिन्छ । 

लामो समयदेखि एफएओ र विश्व खाद्य कार्यक्रम (डब्ल्युएफपी) जस्ता अन्तर्राष्ट्रिय संस्थाले द्वन्द्व र युद्ध खाद्य असुरक्षामा भएको वर्तमान वृद्धिको आधारभूत कारक हुन् भनेर तर्क गर्दै आएका छन् । यी संस्थाले खाद्य असुरक्षामा हालैको वृद्धिका लागि युक्रेन–रुस द्वन्द्वलाई पनि दोषी ठहर्‍याएका छन् ।

खाद्य असुरक्षामा हालको वृद्धिका कारण युरोपेली संघ, एफएओ र डब्ल्युएफपीद्वारा स्थापित ग्लोबल नेटवर्क अगेन्स्ट फुड क्राइसिसले विश्वका सबैभन्दा खाद्य असुरक्षित मुलुकमध्ये ५३ मुलुकमा थप चार करोड मानिसलाई खाद्य सहायताको तत्काल आवश्यकता रहेको अनुमान गरेको छ । द्वन्द्व र जलवायु परिवर्तनले खाद्य सुरक्षामा नकारात्मक असर पारेको भए पनि यसैलाई वर्तमान समस्याका आधारभूत कारण मान्नु संकटको अन्तर्निहित एवं गम्भीर कारणलाई बेवास्ता गर्नु हो ।  

पछिल्ला केही दशकमा विश्वव्यापीकरण विशेषतः व्यापार उदारीकरणले समृद्ध र विकासोन्मुख मुलुकका किसानमाझ उपलब्ध गराइने सहायताको स्तरमा उल्लेखनीय असमानता ल्याएको छ । नतिजा दक्षिणी गोलार्ध विकसित मुलुकमा उत्पादन गर्न नसकिने खाद्यवस्तुको स्रोत बनेको छ, तर प्रमुख खाद्यान्नका लागि धनी मुलुक ठूलो स्तरमा विकसित कृषिमा निर्भर छन् । यसबाहेक दक्षिणी गोलार्धमा कृषि अनुसन्धानमा सार्वजनिक सहयोग नगरिने नीतिलाई समर्थन हुने भएकाले आधुनिक कृषि सामग्री आपूर्तिमा ठूला बहुराष्ट्रिय कृषि–व्यवसायको एकाधिकार छ । विश्वव्यापीकरणले खाद्य लागतमा बढेको अस्थिरताबाहेक लाखौँ मानिस अल्पकालीन अवरोध र अस्थिरताको जोखिममा रहने परिस्थिति सिर्जना गरेको छ ।

वर्तमान विश्वव्यापी खाद्यसंकटलाई यो कोणबाट हेरिनैपर्छ । आपूर्ति शृंखलामा अवरोध, आर्थिक प्रतिबन्ध (विशेषतः बेलारुस र रुसविरुद्धका), प्रतिकूल मौसमी घटनाका कारण बाली उब्जनीमा विफलता र रुस–युक्रेन द्वन्द्वको परिणामस्वरूप खाद्यान्न मूल्य तीव्र रूपमा बढेको छ । सम्भावित अभावका भयले धेरै मुलुकले निर्यात प्रतिबन्ध लगाएका छन् । आइएफपिआरआईको निर्यात हेर्ने ट्र्याकरका अनुसार हालै १९ मुलुकले विभिन्न खाद्यवस्तुमा निर्यात प्रतिबन्ध लगाएका छन् ।

इन्डोनेसिया, मलेसिया, भारत, पाकिस्तान, अफगानिस्तान, इरान, कुवेत, लेबनान, टर्की, इजिप्ट, अल्जेरिया, ट्युनिसिया, मोरक्को, घाना, बुर्किना फासो, किर्गिस्तान, कजाकिस्तान, अजरबैजान, रुस, युक्रेन, मोल्डोभा, कोसोभो, सर्बिया, हंगेरी र अर्जेन्टिना खाद्यवस्तुमा निर्यात प्रतिबन्ध लगाउने मुलुक हुन् । र, चीन, दक्षिण कोरिया, किर्गिस्तान, रुस र युक्रेनले मल ढुवानीमा प्रतिबन्ध लगाएका छन् । यीमध्ये धेरै मुलुक महत्‍वपूर्ण खाद्यवस्तुका प्रमुख आपूर्तिकर्ता हुन् र यी मुलुकका कारण विश्वव्यापीस्तरमा अनाज, खाने तेल, दाल र चिनीको आपूर्ति र मागमा ठूलो अन्तर हुने गर्छ ।

यसबाहेक आपूर्ति अभाव र अत्यधिक इन्धन एवं मलका क्षेत्रमा हुने मुद्रास्फीतिले पनि विश्वव्यापी खाद्य आपूर्तिलाई क्षति गरेको छ । व्यापार उदारीकरणको परिणामस्वरूप राष्ट्रिय खाद्य सुरक्षा खतरामा परेका वेला खाद्य र कृषि सामग्रीमा प्रमुख आपूर्तिकर्ताको निर्यात सीमितताले दक्षिणी गोलार्धमा खाद्य असुरक्षा बढाउने अनुमान गरिएको छ ।

खाद्यान्नको मूल्यवृद्धिले किसानलाई लाभ हुन्छ भन्ने भ्रम व्याप्त छ । कृषकले आफ्नो उत्पादनको मूल्य उपभोग्य मूल्यबराबर पाउँदैनन् । अतिरिक्त खेती लागतमा हुने वृद्धिले खाद्यान्नमा बढेको मूल्यले नाफा कम गर्छ । भूमिको स्वामित्वमा असमानताका कारण दक्षिणी गोलार्धमा बहुसंख्यक साना उत्पादक छन्, जो शुद्ध रूपमा खाद्यान्न खरिदकर्ता हुन् । सस्तो मूल्यमा उत्पादन बिक्री गर्ने र महँगो मूल्यमा खाद्यान्न तथा अन्य अत्यावश्यक वस्तु खरिद गर्न बाध्य भएकाले मुद्रास्फीतिबाट साना किसान बढी मारमा परेका छन् । वर्तमान खाद्य संकटबाट मुलुकहरूले सिक्नुपर्ने मुख्य पाठ भनेको प्रमुख खाद्यान्न उत्पादनमा घरेलु आत्मनिर्भरता हो । यसका लागि कृषि र खाद्य प्रणालीमा सरकारी लगानी आवश्यक हुनेछ । 

मुलुकहरूले कृषि अनुसन्धान र महत्‍वपूर्ण कृषि आपूर्तिको भरपर्दो आपूर्तिलाई प्राथमिकता दिनुपर्छ । खाद्य सुरक्षाका लागि किसानलाई अत्यावश्यक खाद्यबाली उब्जाउन प्रोत्साहन गर्न र ठोस सामाजिक सुरक्षा प्रणाली स्थापना गर्न आवश्यक छ र यसलाई कमजोर पार्ने नीति उल्ट्याइनुपर्छ । डेक्कन हेराल्डबाट