१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७९ जेठ १८ बुधबार ०७:०३:००
Read Time : > 2 मिनेट
समाचार प्रिन्ट संस्करण

लेबनान, गोलान हाइट्सपछि  अमेरिका जाँदै प्रधानसेनापति

Read Time : > 2 मिनेट
२०७९ जेठ १८ बुधबार ०७:०३:००

प्रधानसेनापति प्रभुराम शर्मा असारमा दुई साता विदेश भ्रमणमा जाँदै छन् । प्रधानसेनापतिको कार्यभार सम्हालेपछि उनी पहिलोपटक लेबनान र गोलान हाइट्सस्थित संयुक्त राष्ट्रसंघीय शान्ति मिसन तथा अमेरिकाको औपचारिक भ्रमणमा जान लागेका छन् । सैनिक प्रवक्ता सहायक रथी नारायण सिलवालका अनुसार शर्मा ४ देखि १० असारसम्म शान्ति मिसनको भ्रमणमा र त्यहाँबाट १७ असारसम्म अमेरिकाको औपचारिक भ्रमणमा हुनेछन् । मन्त्रिपरिषद् बैठकले प्रधानसेनापति शर्माको भ्रमण स्वीकृत गरेको सोमबार सार्वजनिक भएको थियो । 

फौजको हौसला अभिवृद्धि गर्न तथा राष्ट्रसंघीय मिसनहरूका विविध पक्ष र भावी योजनाबारे जानकारी लिन प्रधानसेनापति शर्मा मिसनमा जान लागेको सैनिक प्रवक्ता सिलवालले बताए । शर्मा चार सैनिक अधिकारीसहित सुरुमा लेबनानस्थित राष्ट्रसंघीय मिसनमा र त्यहाँबाट इजरायल–सिरिया सीमा क्षेत्र गोलान हाइट्सस्थित शान्ति स्थापक मिसनमा जाने कार्यक्रम छ । 

शर्माले मिसनहरूको वस्तुस्थिति, अपरेसनल गतिविधि, फौज तैनाथीको अवस्थालगायत अन्य विविध पक्षका बारेमा जानकारी लिनेछन् । उनले शान्ति मिसनका फोर्स कमान्डरसहितका अधिकारीसँग भेटघाट गर्ने कार्यक्रम छ । गोलान हाइट्समा नेपाली सेनाका पूर्वरथी ईश्वर हमाल फोर्स कमान्डर छन् । गोलान हाइट्समा ४११ जना नेपाली सैनिक कार्यरत छन् भने लेबनानमा ८७२ नेपाली सैनिक कार्यरत छन् । यी दुई मिसन अन्य मिसनभन्दा तुलनात्मक रूपमा शान्त मानिन्छन् । यी दुवै मिसन अन्तरराज्यबीच युद्धविराम सम्झौता अनुगमनका लागि स्थापना भएको हो । संयुक्त शान्ति स्थापक मिसनमा दोस्रो सबैभन्दा बढी संख्या नेपाली सेनाको छ । हाल सशस्त्र प्रहरी र नेपाल प्रहरीसमेत गरी शान्ति स्थापक मिसनहरूमा पाँच हजार ५७० शान्ति सैनिक कार्यरत छन् । 
 
असार दोस्रो साता अमेरिका जाँदै
शान्ति स्थापक मिसनको भ्रमणपछि प्रधानसेनापति शर्मा इजरायलबाट अमेरिकाको वासिङ्टन डिसी जाने कार्यक्रम छ । शर्मा अमेरिकी सेनाका प्रमुख चिफ अफ द स्टाफ जनरल जेम्स सी म्याक कोन्भिलको निमन्त्रणामा जान लागेका हुन् । अमेरिकाका विभिन्न स्थानमा पुगेर शर्माले अमेरिकी सेनाका विभिन्न युनिट र प्रतिरक्षा विश्वविद्यालयको भ्रमण गर्ने तथा अमेरिकी समकक्षीसँग भेटवार्ता गर्ने कार्यक्रम छ । उनले पेन्टागनस्थित अमेरिकी रक्षा मन्त्रालयमा उच्च अधिकारीसँग भेटवार्ता गर्ने कार्यक्रम छ ।

‘उच्चस्तरीय सैनिक नेतृत्वबाट नियमित रूपमा हुने गरेको यस प्रकारको भ्रमण, विगत लामो समयदेखि स्थापित नेपाली सेना र अमेरिकी सेनालगायत दुई देशबीचको मैत्रीपूर्ण सम्बन्ध एवं विद्यमान द्विपक्षीय सहयोग तथा सहकार्यको क्षेत्रलाई थप व्यवस्थित र प्रभावकारी बनाउन महत्वपूर्ण साबित हुने विश्वास नेपाली सेनाले लिएको छ,’ सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ । 

भ्रमणमा नेपाली सेना र अमेरिकी सेनाबीच सहकार्य, नेपाली सेनालाई अमेरिकी सैन्य सहयोग, बदलिँदो वैश्विक सुरक्षा वातावरणबारे धारणा आदानप्रदान हुनेछ । ‘प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमण हुने चर्चा चलिरहेका वेला प्रधानसेनापतिमार्फत अमेरिकाले नेपालको आन्तरिक वातावरण बुझ्ने मौका पनि पाउनेछ । शर्माले नेपालको धारणा राख्ने अवसर पाउनुहुनेछ,’ एक उच्च सरकारी अधिकारीले नयाँ पत्रिकासँग भने, ‘युक्रेन संकटपछि दक्षिण एसियाको मत विभाजित छ, भारत र चीन फरक भूमिकामा छन् । यसमा नेपालसहित दक्षिण एसियाली अन्य मुलुकको भूमिकाको पनि चर्चा हुनेछ ।’

सेनाका पूर्वउपरथी विनोज बस्न्यातले प्रधानसेनापति शर्माको भ्रमण नेपाल–अमेरिका सम्बन्धमा मात्रै सीमित नहुने विश्लेषण गरे । ‘बदलिँदो भूरणनीतिक वातावरणमा प्रधानसेनापतिको अमेरिका भ्रमण महत्वपूर्ण र अर्थपूर्ण छ, यसलाई द्विपक्षीय औपचारिक भ्रमणमा मात्रै सीमित राखेर हेर्न मिल्दैन,’ उनले भने, ‘दक्षिण एसियामा चीनको प्रभाव बढेको सन्दर्भमा र नेपालमा अमेरिकी सहायता एमसिसी परियोजना अघि बढ्न लागेका सन्दर्भमा यो भ्रमणको रणनीतिक महत्व छ । प्रधानसेनापति यी सबै परिवेशको पूर्ण तयारी गरेर जान लाग्नुभएको छ भन्ने विश्वास गरौँ ।’

सेनाका पूर्वउपरथी पूर्ण सिलवालले नेपाल र अमेरिकाबीच राजनीतिक तहमा भ्रमणहरूको आदानप्रदान नभए पनि सेनाको नेतृत्व तहमा भ्रमण निरन्तर हुँदै आएको बताए । नेपाली र अमेरिकी सेनाबीच संयुक्त अभ्यास पनि हुने गरेको छ । पछिल्लोपटक २० चैतदेखि १३ वैशाख ०७८ मा ब्यालेन्स नेल नामको संयुक्त अभ्यास भएको थियो । नेपाली सेनाका विशेष फौज र अमेरिकी सेनाको इन्डो प्यासिफिक कमान्डका सैनिकबीच संयुक्त अभ्यास हुँदै आएको छ । अमेरिकामा वार कलेज र स्टाफ कलेजका लागि पनि दुई–दुईजना नेपाली सैनिक अधिकृत सहभागी हुने गरेका छन् ।