१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७९ जेठ १७ मंगलबार ०७:१५:००
Read Time : > 2 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

गर्भपतनको वञ्चितीकरण र बाल्यावस्थाको गरिबी 

विश्वका एक सय ५४ प्रख्यात अर्थशास्त्रीद्वारा हस्ताक्षर गरिएको एमिकस ब्रिफअनुसार गर्भपतन प्रतिबन्धले बाल्यावस्थाको गरिबी बढाउनेछ 

Read Time : > 2 मिनेट
२०७९ जेठ १७ मंगलबार ०७:१५:००

'डोब्स’विरुद्ध ‘ज्याक्सन वुमन्स हेल्थ अर्गनाइजेसन’ मुद्दामा बहुमत न्यायाधीशको मस्यौदा राय चुहिँदा अमेरिकी सर्वोच्च अदालतले आधा शताब्दी पुरानो संघीय रूपमा प्रत्याभूत गरिएको गर्भपतनको संवैधानिक अधिकारलाई खारेज गर्ने देखिन्छ । अदालतको सम्भावित निर्णयले महिलाको आफ्नो शरीरको व्यवस्थापन र सन्तान जन्माउने वा नजन्माउने वा कहिले जन्माउने भन्ने अधिकारमा प्रस्ट रूपमा आक्रमण हुनेछ । यसले महिलाको शिक्षा, आम्दानी र जीवनका साथसाथै सन्तानका लागि नकारात्मक परिणाम निम्त्याउनेछ ।

हार्वर्ड विश्वविद्यालयका क्लाउडिया गोल्डिन र येल विश्वविद्यालयका सेरोन ओस्टरलगायत एक सय ५४ प्रख्यात अर्थशास्त्रीद्वारा हस्ताक्षर गरिएको एमिकस ब्रिफअनुसार गर्भपतन प्रतिबन्धले बाल्यावस्थाको गरिबी बढाउनेछ । र, औसतमा अमेरिकामा गरिबीमा हुर्किरहेको बालबालिकाको शारीरिक र मानसिक स्वास्थ्य, शैक्षिक उपलब्धि र श्रम बजारदेखि अपराध, विवाहपूर्वको गर्भावस्था र आपराधिकतासम्म हरेक क्षेत्रमा गम्भीर परिणाम देखिएका छन् । योभन्दा पनि नराम्रो के छ भने अमेरिकामा पहिल्यै उन्नत अर्थतन्त्रमाझ बाल्यावस्थाको गरिबीको दर उच्च रहेको छ । बालबालिकालाई आधारभूत वृत्ति प्रदान नगरिने एक मात्रै मुलुक हो अमेरिका । 

एकपटक जन्मिसकेपछि जिम्मेवारी जन्मिनेकै हुन्छ’ भनेझैँ अमेरिकी कंग्रेसका रिपब्लिकनले महामारीको समयमा बाल्यावस्थाको गरिबीलाई ४० प्रतिशतले घटाउने बालबलिकासम्बन्धी करछुट थप बढाउन अस्वीकार गरेका छन् । अत्याचारी गर्भपतन प्रतिबन्धलाई लागू गर्ने विचार गरेका २६ राज्यमध्ये धेरै राज्य बालबालिका र तिनका परिवारका लागि हुने सहयोगका सन्दर्भमा तल्लो स्थानमा छन् । यीमध्ये धेरै राज्यले बलात्कार, हाडनाता करणी र आमाको स्वास्थ्य प्रतिकूल हुनेलगायत सबै अवस्थामा गर्भपतन अधिकार खारेज गर्न हतारिँदै छन् र केही राज्यले गर्भनिरोधमा पनि प्रतिबन्ध लगाउने प्रस्ताव गरिरहेका छन् । यी राज्यमा धार्मिक पुरातनपन्थी मतदाताको बढ्दो प्रभावले अमेरिकी लोकतन्त्रको आधारशिलाका रूपमा काम गरेको चर्च र राज्यबीच लामो समयदेखि रहेको पृथक्तालाई कमजोर बनाएको छ ।

पुरातनपन्थ–नियन्त्रित अमेरिका ईश्वरतन्त्रको नजिक पुग्दै गर्दा धेरै राज्य महिलाको गर्भपतन अधिकार र बालबालिकाको हित रक्षा गर्न प्रगतिशील संघीयता कार्यान्वयन गरिरहेका छन् । क्यालिफोर्निया र १५ अन्य राज्य (डिस्ट्रिक्ट अफ कोलम्बियासहित) र राज्यवासीसहित प्रजनन–स्वास्थ्यका लागि अन्य राज्यबाट आउने अमेरिकीका लागि गर्भपतन अधिकारलाई सुदृढ पार्ने उपायमा बहस गरिरहेका छन् । विपन्न परिवार, आमा र बालबालिकालाई सहयोग गर्ने कार्यक्रमका सन्दर्भमा यी राज्य पुरातनपन्थी नियन्त्रित राज्यभन्दा माथिल्लो स्थानमा छन् । उदाहरण, क्यालिफोर्निया राज्यमा क्यालवक्र्स (बालबालिका भएका परिवारका लागि नगद–सहयोग कार्यक्रम), आयकर छुट र बालबालिका कर छुट, तलबी पारिवारिक बिदा, पहुँचयोग्य स्वास्थ्य हेरचाह र सर्वव्यापी पूर्व–विद्यालय सिकाइलगायत नीति देख्न सकिन्छ ।

यसबाहेक क्यालिफोर्नियाका गभर्नर गेभिन न्युसमको हालको बजेटले बढ्दो इन्धन मूल्य र सार्वजनिक यातायात लागतलाई पूर्ति गर्न दुई वर्षका लागि प्रत्येक घरधुरीलाई निःशुल्क सामुदायिक कलेजको व्यवस्था र १८ अर्ब १० करोड डलरको एकपटकको मुद्रास्फीति राहत प्रस्ताव गरेको छ । तर, क्यालिफोर्नियामा पनि जनसंख्याको एकतिहाइ हिस्सा गरिबीको रेखामुनि वा गरिबीको रेखानजिक छन् । जीविकाको लागतमा समायोजन गर्दा राज्यको बाल्यावस्था र समग्र गरिबी दर देशमा सबैभन्दा उच्च छ । र, यी तथ्यका बाबजुद संघीय र राज्यस्तरका कार्यक्रमअन्तर्गत यदि बजेटलक्षित मानिसमाझ पूर्णरूपमा कार्यान्वयन हुन्छ भने क्यालिफोर्नियाका परिवारलाई गरिबीबाट टाढा राख्न सकिन्छ । अपर्याप्त बजेटका अतिरिक्त राष्ट्रिय र राज्यस्तरमा धेरै सामाजिक सुरक्षा कार्यक्रम अस्पष्ट र लक्षित लाभग्राहीका पहुँचमा पुग्न सकिरहेको छैन । केही कार्यक्रममा योग्यता भएका लाभग्राहीका ७५ प्रतिशतभन्दा कमको नामांकन हुने गरेका छन् । यसबाहेक विभिन्न कार्यक्रममा हिस्सा लिने धेरै परिवारले गरिबीमा रहँदा–रहँदै अनावश्यक र प्रत्युत्पादक लाभमा पहुँच बनाइरहेका छन् । 

विद्यमान कार्यक्रमको पहुँच बढाउन केही प्रयास भइरहेका छन् । उदाहरण, अमेरिकी राष्ट्रपति जो बाइडेनको प्रशासनले अमेरिकाका लागि गैरसरकारी संस्थाको संहिताका समर्थनबाट निःशुल्क संघीय बालबालिका करछुटका अभिलेखीकरणलाई सरल र सुव्यवस्थित गर्न वेब गेटवे स्थापना गरेको छ । एन्ड पोभर्टी इन क्यालिफोर्निया (स्टकटनका पूर्वमेयर एवं क्यालिफोर्निया गभर्नरका सल्लाहकार माइकल टब्सद्वारा स्थापित) गैरनाफामुखी संस्थाले एकल साइन–अन, अप्ट–आउट योग्यता प्रक्रियाको विकास गर्ने लक्ष्यसाथ सबै उपलब्ध राज्य र संघीय कार्यक्रमलाई सरल र स्वचालित बनाउन क्यालिफोर्निया काउन्टी समूहसँग काम गरिरहेको छ । स्वचालित मतदाता दर्ताको क्यालिफोर्नियाको अनुभवका कारण सामाजिक सुरक्षा लाभ योग्यताका लागि दर्ता गर्ने काम एकदमै सरल हुनुपर्छ । डिजिटल नागरिकताका फाइदा कसरी प्रदान गर्ने भन्ने इस्टोनियाको उदाहरणले राज्य र संघीय सरकारलाई धेरै सिकाउन सक्छ ।

दुर्भाग्य, सर्वोच्च अदालतले बाल्यावस्थाको गरिबीलाई बढाउने तयारी गरेको वेला अमेरिकी संघीय सरकारले महामारीकालको परिवार–राहत कार्यक्रमलाई उल्ट्याउँदै छ । बढ्दो राजनीतीकरण र वैमनस्यपूर्ण सर्वोच्च अदालत र अमेरिकी सिनेटले प्रगतिशील कानुन लागू गर्नका लागि भइरहेको अवरोध हटाउन इच्छुक नभएको अवस्थामा क्यालिफोर्नियाजस्ता प्रगतिशील राज्यलाई अमेरिकाका महिला र बालबालिकालाई थप संरक्षण गर्नुपर्ने जिम्मेवारी आइपर्ने देखिन्छ । प्रोजेक्ट सिन्डिकेटबाट