१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ जेठ ४ बुधबार
  • Friday, 05 July, 2024
२o७९ जेठ ४ बुधबार १५:४८:oo
Read Time : > 1 मिनेट
ad
ad
ad
ad
निर्वाचन डिजिटल संस्करण

सिराहामा जसपा र एमाले दुई-दुई तथा एकीकृत समाजवादी एक पालिकामा विजयी

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o७९ जेठ ४ बुधबार १५:४८:oo

बुधबार मध्याह्नसम्म मतगणना सकिएका सिराहाका पाँचमध्ये जसपा र एमाले दुई–दुई तथा एकीकृत समाजवादी एक स्थानीय तहमा विजयी भएको छ। नवराजपुर र अर्नमा गाउँपालिकामा जनता समाजवादी पार्टी (जसपा)ले अध्यक्ष र उपाध्यक्षसहित बहुमत वडा जितेको छ भने विष्णुपुर गाउँपालिकामा उपाध्यक्ष जितेको छ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार नवराजपुरमा जसपाका शिवउदगार र यादवले निवर्तमान अध्यक्षसमेत रहेका नेपाली कांग्रेसका विश्वमोहनप्रसाद यादवलाई दुई हजार २९ मतले पछि पार्दै जित निकालेका हुन्। शिवउदगारले चार हजार पाँच सय ५४ मत पाउँदा विश्वमोहनले दुई हजार पाँच सय २५ मत ल्याएका छन्। शिवउदगार पहिलो स्थानीय तहको निर्वाचनमा दुई हजार एक सय ९४ मतसहित विश्वमोहनका निकटतम् प्रतिद्वन्द्वी रहेका थिए।

नवराजपुरको उपाध्यक्षमा जसपाकी पुनमकुमारी यादवले चार हजार तीन सय १८ मतसहित जित निकालेकी छिन्। उनकी निकटतम् प्रतिद्वन्द्वी कांग्रेसकी शोभाकुमारी यादवले दुई हजार तीन सय ८५ मत ल्याएकी छिन्। जसपाले नवराजपुरको १, २, ३ र ५ नम्बर वडामा प्यानलसहित वडाध्यक्ष जितेको छ भने कांग्रेसले चार नम्बर वडामा वडाध्यक्षसहित प्यानल जितेको छ।

अर्नमा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवै पदमा पनि जसपाले जित निकालेको छ। अध्यक्षमा अशोककुमार यादव दुई हजार चार सय ७० र उपाध्यक्षमा शोभाकुमारी साह दुई हजार तीन सय ८३ मत ल्याएर निर्वाचित भएका हुन्।

भगवानपुर गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवै पदमा एमाले उम्मेदवारले जित निकालेका छन्। जसपाबाट निवर्तमान अध्यक्षसमेत रहेका बेचनप्रसाद यादवलाई एक हजार ६३ मतान्तरले पछि पार्दै यादवले अध्यक्ष पद जितेका हुन् । उनले चार हजार तीन सय दुई मत ल्याएका छन् भने बेचनप्रसादले तीन हजार दुई सय ३९ मत ल्याएका छन्।

गाउँपालिका उपाध्यक्षमा एमालेकी रेखाकुमारी यादवले तीन हजार नौ सय ६० मत ल्याएकी छिन् भने निकटतम् प्रतिद्वन्द्वी जसपाकी जीवछीदेवी यादवले तीन हजार दुई सय १० मत ल्याएकी छिन्।

दुई स्थानीय तहमा मिश्रित नतिजा
विष्णुपुर गाउँपालिका र सखुवानन्कारकट्टी गाउँपालिकामा मिश्रित नतिजा आएको छ। विष्णुपुर गाउँपालिकामा नेकपा एमालेका सत्यनारायण यादव दुई हजार एक सय ५८ मतसहित अध्यक्ष पदमा निर्वाचित भएका छन्। उनका निकटतम् प्रतिद्वन्द्वी जसपाका जागेश्वर यादवले दुई हजार एक सय ७८ मत ल्याएका छन्। निकटतम् प्रतिद्वन्द्वी रहेका यादव विष्णुपुरका निवर्तमान अध्यक्षसमेत हुन्।

विष्णुपुरकी उपाध्यक्षमा जसपाकी गीताकुमारी सिंह दुई हजार दुई सय ७२ मतसहित निर्वाचित भएकी छिन्। उनकी निकटतम् प्रतिद्वन्द्वी कांग्रेसकी चन्द्रकला कुमारी यादवले एक हजार सात सय ६४ मत र तेस्रो स्थानमा रहेकी माओवादी केन्द्रकी रिंकुकुमारी पासवानले एक हजार तीन सय १६ मत ल्याएकी छन्। विष्णुपुर गाउँपालिका १ र ३ नम्बर वडामा जसपा तथा २, ४ र ५ नम्बर मा कांग्रेसले वडाध्यक्ष जितेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

त्यस्तै, सखुवानन्कारकट्टी गाउँपालिका अध्यक्षमा नेकपा (एकीकृत समाजवादी)का केदारनाथ यादव विजयी भएका छन्। सखुवानन्कारकट्टीका निवर्तमान अध्यक्षसमेत रहेका यादवका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका शत्रुधनप्रसाद साहले तीन हजार तीन सय ८१ मत ल्याएका छन्।

गाउँपालिका उपाध्यक्षमा भने कांग्रेसकी निलम यादव तीन हजार चार सय ६२ मतसहित निर्वाचित भएकी छिन्। उनकी निकटतम् प्रतिद्वन्द्वी एकीकृत समाजवादीकी प्रमिला यादवले तीन हजार तीन हजार दुई सय ६ मत ल्याएकी छन्।

ad
ad
ad
ad