मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ जेठ ४ बुधबार ०७:५८:००
Read Time : < 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

नवौँ राष्ट्रिय खेलकुद सर्ने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ जेठ ४ बुधबार ०७:५८:००

नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता सर्ने भएको छ । प्रतियोगिताको तयारी अभावका कारण प्रतियोगिता सार्ने तयारी भएको हो । सरकारले गण्डकी प्रदेशमा २२ देखि २८ जेठसम्म प्रतियोगिता आयोजना गर्ने निर्णय गरेको थियो । सरकारले नवौँ राष्ट्रिय खेलकुदलाई केही महिनाका लागि सार्ने तयारी गरेको राष्ट्रिय खेलकुद परिषद् (राखेप) स्रोतले जानकारी दिएको छ । 

‘सार्वजनिक खरिद नियमअनुसार टेन्डर प्रक्रियामा समय लाग्ने देखियो,’ स्रोतले भन्यो, ‘सरकारले असोजमा प्रतियोगिता गर्ने तयारी गरिरहेको छ ।’ मन्त्रिपरिषद्ले २२ जेठदेखि प्रतियोगिता आयोजना गर्ने घोषणा गरे पनि आवश्यक तयारी अघि बढ्न सकेको थिएन ।

नवौँ राष्ट्रिय खेलकुद आयोजना गर्ने खेलकुद मन्त्रालय र राखेपले फास्ट ट्र्याकबाट सामग्री खरिद तयारी गरेको स्रोतको भनाइ छ । ‘सरकारबाट सामग्री खरिदमा आवश्यक सहयोग नगरेपछि प्रतियोगिता सर्ने निश्चित भएको हो,’ स्रोतले भन्यो । सार्वजनिक खरिद ऐनको अवधि ३५ दिनको हुनुपर्छ । तर, राखेपले सात दिनको मात्र प्रस्ताव गरेपछि प्रक्रिया रोकिएको हो । 
यसैगरी, प्रतियोगिता निर्देशिका अर्थ मन्त्रालयबाट पास नभएका कारण आयोजना प्रक्रियाअघि बढ्न नसकेको उनले बताए । प्रत्येक दुई वर्षमा आयोजना हुने राष्ट्रिय प्रतियोगिताको नवौँ संस्करण २०७७ सालमा हुनुपर्ने हो । कोभिड–१९ को प्रभाव र सरकार परिवर्तनका कारण प्रतियोगिता समयमै हुन सकेन । राखेपले खेल संख्या निर्धारण, लोगो, मस्कट र नारा सार्वजनिक गरिसकेको छ । 

९ वैशाखमा राखेप बोर्ड बैठकले नवौँ राष्ट्रिय खेलकुदमा ३८ खेल समावेश गर्ने निर्णय गरेको थियो । सात प्रदेश, तीन विभागीय टोलीसँगै एनआरएनसमेत गरी टोलीले नवौँ राष्ट्रिय खेलकुदमा भाग लिने राखेपले सार्वजनिक गरिसकेको छ ।