अछामका सात स्थानीय तहको मतगणना सकिएको छ। यहाँको पाँच तह कांग्रेसले जितेको छ भने एमाले र माओवादी केन्द्र एक–एक स्थानीय तहमा विजयी भएका छन्।
जिल्लाको कमलबजार नगरपालिका, ढकारी, रामारोशन, चौरपाटी र बान्नीगढी जयगढ गाउँपालिका प्रमुखमा कांग्रेसले जितेको छ। कांग्रेसले रामारोशन, बान्नीगढी जयगढ गाउँपालिका र कमलबजार नगरपालिका उपप्रमुख भने जित्न सकेन। कमलबजार र बान्नीगढी जयगढमा एमालेले उपप्रमुख र उपाध्यक्ष जितेको छ भने रामारोशनको उपाध्यक्षमा माओवादीले जित हासिल गरेको छ।
कांग्रेस–माओवादी केन्द्रको गठबन्धन रहेको मेल्लेख गाउँपालिकामा भने माओवादी केन्द्रका ज्वाला साउद अध्यक्षमा र कांग्रेसका नृपबहादुर खड्का उपाध्यक्षमा विजयी भएका छन्। जिल्लाको तुर्माखाँद गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवै पद एमालेले जितेको छ। सार्वजनिक मत परिणामअनुसार तुर्माखादमा एमालेका डम्बर बिसी तीन हजार पाँच सय २३ मत ल्याएर अध्यक्षमा विजयी भएका हुन्। उपाध्यक्षमा विजयी विमला शाहीले तीन हजार पाँच सय एक मत पाएकी छिन्। अध्यक्षका निकटतम् प्रतिद्वन्द्वी कांग्रेसका कर्णबहादुर बुढा तीन हजार चार सय ९३ र माओवादीका मनबहादुर बयक तीन हजार ९१ मत ल्याएर पराजित भएका हुन्।
विजयी उम्मेदवार बिसीको कांग्रेसका अध्यक्ष पदका उम्मेदवार बुढाको भन्दा ३० मत मात्रै बढी छ भने माओवादीका उम्मेदवार बयकसँग चार सय ३२ मतको अन्तर छ। यो गाउँपालिकामा उपाध्यक्ष पदका प्रतिस्पर्धी कांग्रेसकी अनुजा सिजापति (विष्ट)ले तीन हजार चार सय ५२ र माओवादी केन्द्रकी पवित्रा उपाध्यायले तीन हजार एक सय ५५ मतका साथ पराजय भोगेका हुन्। जम्मा आठ वडा रहेको तुर्माखाँदमा पाँच वडा कांग्रेसले जितेको छ भने दुई एमाले र एउटा वडा माओवादीले जितेको छ।
वडा नम्बर १ मा कांग्रेसका उपेन्द्र रावल, वडा नम्बर २ मा कांग्रेसकै नरेन्द्र शाही, वडा नम्बर ३ मा एमालेका काशीराम बुढा, वडा नम्बर ४ मा माओवादीका पदमबहादुर बिसी, वडा नम्बर ५ मा कांग्रेसका महेन्द्र बयक, वडा नम्बर ६ मा कांग्रेसका टीकाराम न्यौपाने, वडा नम्बर ७ मा कांग्रेसकै भीमबहादुर चलाउने र वडा नम्बर ८ मा एमालेका निरकबहादुर शाही वध्यक्षमा विजयी भएका छन्।
यता, मेल्लेख गाउँपालिकामा कांग्रेस र माओवादी केन्द्र गठबन्धनबाट अध्यक्ष पदका उम्मेदवार माओवादीका ज्वाला साउदले पाँच हजार एक सय ४४ मतका साथ जितेका छन्। उपाध्यक्षमा विजयी कांग्रेसका नृपबहादुर खड्काले चार हजार चार सय ८४ मत ल्याएका छन्। अध्यक्ष पदका प्रतिस्पर्धी एमालेका भीमबहादुर साउदले चार हजार एक सय ८४ र उपाध्यक्षका प्रतिद्वन्द्वी एकीकृत समाजवादीका समिता महरले तीन हजार आठ सय ६८ मत प्राप्त गरे।
मेल्लेखका जम्मा आठ वडामध्ये तीनवटामा एमालेले जितेको छ भने कांग्रेस र माओवादीले दुई, एकीकृत समाजवादी र स्वतन्त्रले एक–एकवटा वडा जितेका छन्। वडा नम्बर १ मा माओवादीका दिलबहादुर धामी, वडा नम्बर २ मा एमालेका कुशलराज बुढा, वडा नम्बर ३ मा एमालेकै नौले रावल, वडा नम्बर ४ मा स्वतन्त्र उममेदवार चन्द्रबहादुर साउद, वडा नम्बर ५ मा कांग्रेसका प्रकाश अधिकारी, वडा नम्बर ६ मा एकीकृत समाजवादीका तिलकबहादुर कडायत, वडा नम्बर ७ मा नेकपा एमालेका प्रेमबहादुर महर र वडा नम्बर ८ मा कांग्रेसका महेशबहादुर ठकुल्ला वडाध्यक्षमा विजयी भएका छन्।