मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
मुना कुँवर काठमाडाैं
२०७९ जेठ ३ मंगलबार ०८:४१:००
Read Time : > 2 मिनेट
अर्थ प्रिन्ट संस्करण

एक दर्जनभन्दा बढी बिमा कम्पनी मर्जरको तयारीमा

Read Time : > 2 मिनेट
मुना कुँवर, काठमाडाैं
२०७९ जेठ ३ मंगलबार ०८:४१:००

असार मसान्तसम्म जीवन बिमा कम्पनीले पाँच अर्ब र निर्जीवन बिमाले दुई अर्ब ५० करोड चुक्ता पुँजी पुर्‍याउनुपर्ने

आगामी दुई साताभित्र नेपालमा सञ्चालित धेरै बिमा कम्पनीहरूबीच मर्जरका लागि तयार हुने देखिएको छ । समितिले असार मसान्तसम्म जीवन बिमा कम्पनीको पाँच अर्ब र निर्जीवन बिमा कम्पनीको दुई अर्ब ५० करोड चुक्ता पुँजी पुर्‍याउन निर्देशन दिएको छ । कम्पनीहरूको पुँजी अत्यन्तै कम भएकाले मर्जरको विकल्प नरहेको समितिका प्रमुख कार्यकारी अधिकृत राजुरमण पौडेलको भनाइ छ । ‘हाम्रो पहिलो प्राथमिकता मर्जर नै हो । तर, कुनै कम्पनीले लगानी थप गर्न चाहन्छन् भने पनि हामीलाई कुनै आपत्ति छैन,’ उनले भने । कम्पनीहरू मर्जरमा जानु आफैँमा नराम्रो नभएको नेपाल पुनर्बिमा कम्पनीका अध्यक्ष एवं बिमाविज्ञ रवीन्द्र घिमिरेले बताए । उनले भने, ‘तर, कम्पनीलाई लाइसेन्स दिनुअघि बजारको अध्ययन र अनुसन्धान गर्नु आवश्यक छ ।’ 

एक दर्जनभन्दा बढी कम्पनी मर्जरको छलफलमा जुट्दै
प्रुडेन्सियल इन्स्योरेन्स, नेपाल इन्स्योरेन्स र आइएमई जनरल इन्स्योरेन्सबीच मर्जरको प्रयास भइरहेको स्रोतले बताएको छ । तीनैवटा कम्पनीका सञ्चालकहरूबीच मर्जरका विषयमा करिब–करिब सहमति जुटेको छ । आइएमई जनरल इन्स्योरेन्सको एक अर्ब १५ करोड चुक्ता पुँजी छ । प्रुडेन्सियल जनरल इन्स्योरेन्सको एक अर्ब १० करोड र नेपाल इन्स्योरेन्सको एक अर्ब २४ करोड चुक्ता पुँजी छ । मर्जर भएमा कम्पनीको चुक्ता पुँजी तीन अर्ब ४९ करोड पुग्नेछ ।  

त्यस्तै, प्रिमियर इन्स्योरेन्स र सानिमा जनरल इन्स्योरेन्सबीच पनि सहमतिको प्रयास भइरहेको स्रोतको भनाइ छ । चालू आवको दोस्रो त्रैमासिक वित्तीय विवरणअनुसार प्रिमियर इन्स्योरेन्सको एक अर्ब सात करोड पुँजी छ भने सानिमा जनरल इन्स्योरेन्सको एक अर्ब रुपैयाँ छ । मर्जरपछि कम्पनीको चुक्ता पुँजी दुई अर्ब सात करोड रुपैयाँ पुग्नेछ । अर्थात्, मर्जरपछि पनि कम्पनीको चुक्ता पुँजी ४३ करोड अपुग हुनेछ ।  

जनरल इन्स्योरेन्स र नेको इन्स्योरेन्सबीच पनि मर्जरका लागि छलफल भइरहेको छ । अहिले जनरल इन्स्योरेन्सको चुक्ता पुँजी एक अर्ब छ भने नेको इन्स्योरेन्सकोे एक अर्ब ५२ करोड छ । मर्जर भएमा यो कम्पनीको चुक्ता पुँजी दुई अर्ब ५२ करोड रुपैयाँ पुग्नेछ ।   

त्यस्तै, सगरमाथा इन्स्योरेन्स र अजोड जनरल इन्स्योरेन्सबीच पनि मर्जरको पहल भएको स्रोतले जनाएको छ । सगरमाथा इन्स्यारेन्सको चुक्ता पुँजी एक अर्ब ११ करोड र अजोड जनरल इन्स्योरेन्सको एक अर्ब छ । यी दुई कम्पनी मर्जर भएपछि कम्पनीको चुक्ता पुँजी दुई अर्ब ११ करोड मात्रै पुग्नेछ । समितिले तोकेको पुँजी कायम गर्न अझै ३९ करोड रुपैयाँ आवश्यक पर्छ । 

सूर्या लाइफ इन्स्योरेन्स र ज्योति लाइफ इन्स्योरेन्सबीच पनि सहमतिको प्रयास भएको छ । सूर्या लाइफको चुक्ता पुँजी दुई अर्ब ५५ करोड छ भने ज्योति लाइफको दुई अर्ब २० करोड छ । यी कम्पनीमा विशाल समूह र संघाई समूहको लगानी रहेको छ । मर्जरपछि कम्पनीको चुक्ता पुँजी चार अर्ब ७५ करोड रुपैयाँ हुनेछ । समितिले तोकेको पुँजी पुर्‍याउन कम्पनीलाई २५ करोड थप आवश्यक पर्छ । साथै, आइएमई लाइफ इन्स्योरेन्स र रिलायबल लाइफ इन्स्योरेन्सबीच पनि मर्जरको सम्भावना रहेको छ । यी दुवै कम्पनीमा आइएमई समूहको लगानी रहेको छ । 

महालक्ष्मी लाइफ इन्स्योरेन्स र एसियन लाइफ इन्स्योरेन्सबीच पनि मर्जरको तयारी भइरहेको छ । यी दुवै कम्पनीमा क्रस होल्डिङ छ । महालक्ष्मी लाइफ इन्स्योरेन्सको चुक्ता पुँजी एक अर्ब ४० र एसियन लाइफ इन्स्योरेन्सको दुई अर्ब एक करोड  । मर्जरपछि कम्पनीको चुक्ता पुँजी तीन अर्ब ४१ करोड रुपैयाँ मात्रै हुनेछ । समितिले तोकेबमोजिमको पुँजी कायम गर्न कम्पनीले अझै एक अर्ब ५९ करोड रुपैयाँ थप लगानी गर्नुपर्नेछ । 

दुई निर्जीवन र तीन जीवन बिमा कम्पनीबीच मर्जरको सहमति
बिमा समितिको लक्ष्यअनुसार चुक्ता पुँजी कायम गर्न दुईवटा निर्जीवन कम्पनीबीच मर्जरको सैद्धान्तिक सहमति भइसकेको छ । हिमालयन इन्स्योरेन्स र एभरेस्ट इन्स्योरेन्सबीच मर्जरको सैद्धान्तिक सहमति भएको हो । मर्जरका लागि समितिले अनुमतिसमेत दिइसकेको छ । नेपालमा बिमा क्षेत्रमा यो पहिलो मर्जर हो । 

बिमा समितिको तथ्यांकअनुसार एभरेस्ट इन्स्योरेन्सको एक अर्ब १८ करोड चुक्ता पुँजी छ भने हिमालयन जनरल इन्स्योरेन्सको एक अर्ब १० करोड छ । मर्जरपछि कम्पनीको पुँजी दुई अर्ब २८ करोड पुग्नेछ । अर्थात्, समितिले तोकेको पुँजी अझै अपुग हुनेछ । मर्जरपछि कम्पनीका चार सय कर्मचारी र ६० भन्दा बढी शाखा कार्यालय हुनेछन् । 

त्यस्तै, प्राइम लाइफ, गुराँस लाइफ र युनियन लाइफ इन्स्योरेन्सबीच पनि मर्जरको सैद्धान्तिक सहमति भइसकेको छ । हाल प्राइम लाइफ इन्स्योरेन्सको चुक्ता पुँजी दुई अर्ब ७७ करोड, गुराँस लाइफको दुई अर्ब आठ करोड छ भने युनियन लाइफ इस्योरेन्सको दुई अर्ब १५ करोड चुक्ता पुँजी छ । प्राइम लाइफ इन्स्योरेन्समा खेतानको लगानी छ भने युनियन लाइफ इन्योरेन्समा गोल्छाको लगानी रहेको छ । मर्जरपछि कम्पनीको चुक्ता पुँजी सात अर्ब रुपैयाँ पुग्नेछ । यी तिनै कम्पनी मर्जर भएमा सात अर्ब चुक्ता पुँजी हुने नेपालको बलियो कम्पनी बन्नेछ । 

२८ बिमा कम्पनीलाई मर्जरको दबाब
बिमा समितिले तोकेको पुँजी वृद्धि गर्न २८ बिमा कम्पनीलाई मर्जरको दबाब परेको छ । जसमध्ये १५ निर्जीवन र १३ जीवन कम्पनी हुन् । नेपालमा बिमा कम्पनीहरूको संख्या धेरै भएपछि स्वैच्छिक मर्जरमा जान बिमा समितिले कम्पनीहरूलाई आग्रह गरेको थियो । कम्पनीहरूलाई मर्जरका लागि प्रेरित गर्न समितिले मर्जर निर्देशिकामार्फत विभिन्न छुटसमेत दिएको थियो । यद्यपि, कुनै पनि कम्पनी मर्जरका लागि तयार भएनन् भने समितिले फोर्सफुल्ली मर्जरको नीति पनि अपनाउन सकेन । तसर्थ, पुँजी वृद्धि गरी समितिले कम्पनीहरूलाई मर्जरमा जान दबाब दिएको हो ।