मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७९ जेठ २ सोमबार
  • Wednesday, 02 September, 2026
नयाँ पत्रिका काठमाडौं
२o७९ जेठ २ सोमबार १५:o४:oo
Read Time : > 1 मिनेट
साहित्य डिजिटल संस्करण

यस वर्षको इच्छुक पुरस्कार निर्जीव र डाँगीलाई

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ जेठ २ सोमबार १५:o४:oo

इच्छुक सांस्कृतिक प्रतिष्ठानले यस वर्षको ‘इच्छुक स्मृति पुरस्कार– २०७८’ नेपालको प्रगतिवादी धाराका स्थापित साहित्यकार रविकिरण निर्जीव र यज्ञबहादुर डाँगीलाई संयुक्त रूपमा प्रदान गर्ने भएको छ। प्रतिष्ठानका सदस्यसचिव मित्रलाल पंज्ञानीले आज एक वक्तव्य प्रकाशित गर्दै सो जानकारी दिएका हुन्।

जनयुद्धका क्रममा उच्च सहादत प्राप्त गरेका प्रगतिवादी धाराका साहित्यकार इच्छुकको नाममा स्थापित इच्छुक सांस्कृतिक प्रतिष्ठानले हरेक वर्ष प्रगतिवादी साहित्य र कला क्षेत्रका स्थापित लेखक साहित्यकार तथा कलाकर्मीहरू एवं प्रतिभाहरूलाई पुरस्कृत गर्दै आइरहेको छ। सोही क्रममा यस वर्षको ‘इच्छुक स्मृति पुरस्कार २०७८’ नेपाली प्रगतिवादी साहित्यिक सांस्कृतिक आन्दोलनमा विगत लामो समयदेखि निरन्तर क्रियाशील हुँदै जनयुद्धको ऐतिहासिक प्रक्रियादेखि संगठनात्मक एवं सिर्जनात्मक रूपबाट निरन्तर क्रियाशील भई नेपाली वर्गसंघर्षको नवीन सौन्दर्य मूल्यहरूको विकास र प्रवर्द्धनका लागि अहोरात्र समर्पित रहिआएका स्रष्टाद्वय चितवननिवासी रविकिरण निर्जीव र दाङनिवासी यज्ञबहादुर डाँगीलाई संयुक्त रूपमा प्रदान गरिने भएको छ,’ वक्तव्यमा भनिएको छ।

प्रतिष्ठानद्वारा प्रदान गरिने यो पुरस्कार मुख्य पुरस्कार हो। यसको राशि रु. एक लाख रहेको छ। उक्त पुरस्कार नगदसहित सम्मानपत्र र दोसल्ला ओढाएर प्रदान गरिनेछ।

त्यसैगरी, प्रतिष्ठानले मूल पुरस्कारका साथै जनही २५–२५ हजार नगदसहित साहित्य तथा कलातर्फ पनि प्रतिभा पुरस्कार वितरण गर्दै आएको छ। यस वर्षको साहित्यतर्फको ‘इच्छुक प्रतिभा पुरस्कार २०७८’ विगत लामो समयदेखि साहित्यलेखन, खासगरी गीत र कवितालेखनमा क्रियाशील रहेर नेपाली वर्गीय आन्दोलनको संवेदनालाई अभिव्यक्त गर्दै आएका पोखरानिवासी काजीबाबु श्रेष्ठ (काजी गाउँले)लाई प्रदान गर्ने जनाएको छ।

प्रतिष्ठानले यस वर्षको कलातर्फको ‘इच्छुक प्रतिभा पुरस्कार २०७८’ जनयुद्ध कालदेखि हालसम्म विशेषतः नृत्यतर्फ क्रियाशील भएर संस्कृतिको विकास गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेकी रोल्पानिवासी कविता पुनमगरलाई प्रदान गरिने भएको छ।

यी सबै पुरस्कार प्रतिष्ठानको आफ्नो वार्षिक कार्यक्रमका अवसरमा प्रदान गर्ने प्रतिष्ठानले जनाएको छ। आगामी जेठ १३ गते इच्छुकको सहादत भएको दिनलाई प्रतिष्ठानले आफ्नो स्थापनाकालदेखि नै सांस्कृतिक बलिदान तथा स्मृति दिवसका रूपमा मनाउँदै आएको छ।

सो अवसरमा आयोजित विशेष कार्यक्रममा प्रतिष्ठानका संरक्षक वरिष्ठ मार्क्सवादी सौन्दर्यचिन्तक चैतन्यबाट उक्त पुरस्कार तथा सम्मानपत्र प्रदान गरिनेछ। प्रतिष्ठानले उक्त दिन वार्षिक कार्यक्रमका साथै पुरस्कार प्रदान गरिने भएकाले सहभागिताका लागि कवि, कलाकार र सम्पूर्ण सांस्कृतिककर्मीहरूलाई विशेष आमन्त्रण गरेको जनाएको छ।