मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ जेठ १ आइतबार
  • Thursday, 19 December, 2024
२o७९ जेठ १ आइतबार १३:५९:oo
Read Time : < 1 मिनेट
निर्वाचन डिजिटल संस्करण

उदयपुरका मुख्य निर्वाचन अधिकृतले दिए राजीनामा, त्रियुगा र कटारीको मतगणना कहिले ?

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ जेठ १ आइतबार १३:५९:oo

उदयपुरका मुख्य निर्वाचन अधिकृत दीपक खनालले राजीनामा दिएका छन् । उदयपुरका सहायक निर्वाचन अधिकृत दिलीप मगरका अनुसार स्वास्थ्य कारण देखाउँदै खनालले निर्वाचन आयोगमा राजीनामा पठाएका हुन् ।

उनले भने, ‘मुख्य निर्वाचन अधिकृतज्यूले स्वास्थ्यमा समस्या आएको कारण निर्वाचन आयोगमा राजीनामापत्र पठाउनुभएको छ, आयोगले कहिले अब कसलाई मुख्य निर्वाचन अधिकृत तोक्छ,  त्यो थाहा छैन ।’

जिल्लाका आठवटै स्थानीय तहमध्ये ६ वटामा मतगणना जारी छ । तर, त्रियुगा नगरपालिका र कटारी नगरपालिकामा अझै पनि मतगणना हुन सकेको छैन । त्रियुगा नगरपालिका– १२ को मतदान केन्द्रमा मतदान अधिकृतले मनमौजी गरेको भन्दै उम्मेदवारका प्रतिनिधिहरूले विरोध गरेपछि मतदानकै क्रमा रोकिएको थियो ।

यता कटारी नगरपालिका– १० को कालिका माध्यमिक विद्यालय सोरुङको मतदान केन्द्रबाट मतपेटिका कटारी नगरपालिकाको निर्वाचन कार्यालयसम्म आइपुगेको छैन । मतदान सम्पन्न भएपछि मतपेटिका सिलबन्दी गर्ने क्रममा अराजक समूहले बुथ कब्जा गर्न खोजेको भन्दै प्रहरीले गोली चलाएको थियो । गोलीबाट एकको मृत्यु भएको थियो  भने एक घाइते भएका छन् ।

उक्त गोलीकाण्डपछि आक्रोशित भएका स्थानीयको अवरोधले मतपेटिका मतदान केन्द्रबाट कटारीको मतगणना स्थलसम्म आएको छैन । सहायक निर्वाचन अधिकृत मगरले कटारीको गोली चलेको मतदान केन्द्र सोरुङमा अहिले सर्वदलीय बैठक बसिरहेको र त्यस बैठकको निर्णयपछि मतगणना प्रक्रिया अघि बढ्ने बताए । उनले भने, ‘कटारी नगरपालिकाको मतगणना अब सम्भवतः सुरु हुने जानकारी पाएको छु ।’

यता त्रियुगा नगरपालिका– १२ को विवादमा निर्वाचन आयोगले जिल्लामै जाँचबुझ गरी निर्णय गर्न पत्र पठाएको मगरले बताए । उनले भने, ‘त्रियुगाको विवाद समाधान गर्न निर्वाचन आयोगले जिल्लामै निर्णय गर्न पत्र पठाएको छ । तर, अब मुख्य निर्वाचन अधिकृतको राजीनामाले समस्या भएको छ ।’