मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २०७९ मङ्सिर १२ सोमबार
  • Monday, 28 November, 2022
कृष्ण रिजाल काठमाडौं
२०७९ बैशाख ३१ शनिबार ०८:४४:००
Read Time : > 2 मिनेट
अर्थ प्रिन्ट संस्करण

चुनावको मौसममा पनि घट्यो नगद कारोबार, डिजिटल भुक्तानी बढी

Read Time : > 2 मिनेट
कृष्ण रिजाल, काठमाडौं
२०७९ बैशाख ३१ शनिबार ०८:४४:००

एक महिनामा साढे सात अर्ब रुपैयाँ नगद बजारमा गयो, चलनचल्तीमा रहेको नगदको मात्रा ६ खर्ब ५१ अर्ब ३७ करोड रुपैयाँ पुग्यो

स्थानीय तहको चुनावमा नगदको कारोबार घटेको देखिएको छ । नेपालमा चुनावका वेलामा सामान्य अवस्थामा भन्दा झन्डै दोब्बरले नगद कारोबार हुने प्रवृत्ति थियो । तर, राष्ट्र बैंकबाट भएको नोट निष्कासन (नगद प्रवाह)को तथ्यांकलाई हेर्दा नगदको कारोबार घटेको देखिन्छ ।

पछिल्लो एक महिनामा नोट कोषबाट सात अर्ब ५७ करोड रुपैयाँबराबर नगद बजारमा गएको राष्ट्र बैंकको तथ्यांक छ । वैशाख १ गतेसम्म ६ खर्ब ४३ अर्ब ८० करोड रुपैयाँ चलनचल्तीमा रहेको थियो । वैशाख २८ गतेसम्म चलनचल्तीमा रहेको रकम बढेर ६ खर्ब ५१ अर्ब ३७ करोड रुपैयाँ पुगेको छ । बजारमा गएको नोटको मात्रालाई हेर्दा नगदको कारोबार घटेको अनुमान गर्न सकिने राष्ट्र बैंकका कार्यकारी निर्देशक एवं मुद्रा व्यवस्थापन विभाग प्रमुख रेवतीप्रसाद नेपालले बताए । 

‘नगदको कारोबार मौसमी (सिजनल) हुन्छ, सामान्यतः असार महिना, दसैँ–तिहार र निर्वाचनका वेलामा मासिक २५–३० अर्बभन्दा बढी नगद बजारमा जान्छ,’ उनले भने, ‘तर, अहिले त्यस्तो देखिएन, यो महिनाभरिमा बढीमा १५ अर्ब हाराहारी मात्रै बजारमा जाने देखिन्छ, जुन अपेक्षाभन्दा निकै कम हो ।’ सरकारी भुक्तानीमा ढिलाइ भएको, सर्वसाधारणले डिजिटल कारोबार बढाएको तथा प्रणालीबाहिर रहेको पैसा खर्च गरेका कारण नगद कारोबार घटेको हुन सक्ने उनको अनुमान छ । 

राष्ट्र बैंकले आफ्ना शाखा तथा सरकारी कार्यालयका शाखाहरूमार्फत नोटको आपूर्ति गर्दै आएको छ । ती शाखा कार्यालयमार्फत चलनचल्तीका लागि योग्य नभएका नोटहरू खिच्ने (फिर्ता लिने) पनि गरिन्छ । नेपालभरि नेपाली मुद्राको आपूर्ति व्यवस्था सरल, सहज र प्रभावकारी रूपमा कार्यान्वयन गर्न र नेपाल सरकारको साधारण र पुँजीगत खर्चका लागि आवश्यक पर्ने रकम ७९ वटा नोट कोषबाट उपलब्ध गराइरहेको उनले बताए । 

नोट निष्कासनमा उल्लेखनीय बढोत्तरी नदेखिएको भए पनि चुनावमा मनग्य खर्च हुने अर्थविद् नरबहादुर थापा बताउँछन् । ‘भोजभतेर, नगद बाँड्ने, उपहार बाँड्ने, प्रचार–प्रसार गर्ने, दौडधुप, ढुवानीलगायत थुप्रै काममा राजनीतिक दलका नेता र कार्यकर्ताले खर्च गर्छन्, सर्वसाधारणको नियमित खर्च त छँदै छ,’ उनले भने, ‘निर्वाचनका वेलामा सामान्य अवस्थामा भन्दा कैयौँ गुणा बढी कारोबार हुन्छ, बदलिँदो परिस्थितिमा नोट निष्कासनले मात्रै त्यसको चित्रण गर्न सक्दैन ।’ 

चुनाव प्रभाव बैंकिङ प्रणालीमा किन देखिएन ?
निर्वाचनका वेलामा करिब एक खर्बबराबरको कारोबार हुने अनुमान गरिएको छ । राष्ट्रिय योजना आयोगका सदस्य रामकुमार फुँयालले हालै आयोजित एक कार्यक्रममा बोल्दै आसन्न निर्वाचनमा एक खर्बबराबर कारोबार हुने अनुमान गरिएको बताएका थिए । यति धेरै कारोबार हुने अनुमान गरिए पनि त्यसको प्रभाव बैंकिङ प्रणालीमा भएको देखिँदैन । वाणिज्य बैंकहरूको पछिल्लो एक महिनाको निक्षेपको ट्रेन्डलाई हेर्दा बैंकिङ प्रणालीबाट उल्लेखनीय रूपमा भुक्तानी बढेको देखिँदैन । गत २ वैशाखदेखि २३ वैशाखसम्ममा चार अर्ब रुपैयाँ निक्षेप बाहिरिएको छ भने कर्जा दुई अर्बले घटेको छ । अर्थात्, प्रणालीबाट दुई अर्ब रुपैयाँ मात्रै बाहिरिएको देखिन्छ । यसले बैंकिङ प्रणालीमा चुनावको खास प्रभाव नदेखिएको सरोकारवाला बताउँछन् । 

चुनावका वेलामा निक्षेप फिर्ता लिने तथा कर्जाको किस्ता रोक्ने प्रवृत्ति भए पनि यसपालि त्यस्तो नदेखिएको नेपाल बैंकर्स एसोसिएसनका अध्यक्ष अनिलकुमार उपाध्याय बताउँछन् । कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृतसमेत रहेका उपाध्याय भन्छन्, ‘चुनावका वेलामा अलि बढी विथड्र (निक्षेप फिर्ता) हुन्थ्यो, कर्जाको सीमा पनि बढी नै हुन्थ्यो, तर यसपटक त्यस्तो देखिएको छैन, पछिल्लो एक साताको तथ्यांक हेर्दा त नौ अर्बजति रकम प्रणालीमा आएको देखिन्छ ।’ खासगरी विद्युतीय कारोबार बढेको, घरमा राखेको नगद प्रयोगमा आएको तथा सहकारीमा राखिएको रकमबाट नगद कारोबार भएको हुन सक्ने उनको अनुमान छ । अबको करिब एक सातापछि आउने तथ्यांकले चुनावको समयमा भएको नगद कारोबारको प्रवृत्ति अझ स्पष्ट रूपमा आउने उनले बताए । 

अहिले प्रणालीबाट बाहिरिएको रकम तुरुन्तै प्रणालीमा आउन सक्ने अवस्था भएकाले पनि बैंकिङ प्रणालीमा चुनावको प्रभाव कम देखिएको हुन सक्ने अर्थविद् थापा बताउँछन् । ‘विद्युतीय भुक्तानी बढेको छ, ठूला–ठूला कारोबारहरू विद्युतीय माध्यमबाट हुन्छन्,’ उनले भने, ‘चुनावकेन्द्रित कारोबार पनि विद्युतीय माध्यमबाट भएको हुन सक्छ, जसले गर्दा प्रणालीमा प्रभाव कम देखिन्छ ।’

डिजिटल कारोबार बढी भएको अनुमान
पछिल्लो समय नेपालमा विद्युतीय कारोबार (डिजिटल ट्रान्ज्याक्सन) बढेको छ । गएको चैत महिनामा मात्रै ६ करोड तीन लाख २१ हजारपटक डिजिटल कारोबार भएको छ । यस अवधिमा ५८ खर्ब ५७ अर्ब ४७ करोड रुपैयाँबराबरको कारोबार विद्युतीय माध्यमबाट भएको राष्ट्र बैंकको तथ्यांक छ । चुनावका वेलामा समेत राष्ट्र बैंकका नोट कोषबाट अनुमान गरेभन्दा निकै कम नोट निष्कासन हुनु भनेको डिजिटल कारोबार बढ्नु भनेर बुझ्नुपर्ने अर्थविद् थापा बताउँछन् । ‘चुनावका वेलामा २५–३० अर्ब रुपैयाँबराबरका नोट बजारमा जाने प्रवृत्ति हो, बजारमा त्यति माग हुन्थ्यो नै,’ उनले भने, ‘अहिले १०–१५ अर्ब रुपैयाँ हारहारी मात्रै नगद बजारमा जानु भनेको नगद कारोबार घटेको र डिजिटल कारोबार बढेको भनेर बुझ्नुपर्छ ।’